बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पुनर्निर्माण र मौलिकता

पुनर्निर्माण र मौलिकता


  • Dhorpatan News
  • बैशाख १३ २०७८, सोमबार

काठमाडौंमा धरहरा ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘धरहरा’को तामझामका साथ उद्घाटन गरे । स्वास्थ्य मापदण्ड मिचेर धहरा पुगेका उनले धरहरालाई समृद्धिको प्रतिकको रुपमा व्याख्या मात्रै गरेनन्, पुनः निर्माणमा सफलता पाएको जिकिर पनि गरे । २०७२ साल वैशाख १२ गतेको भुइँचालोले भत्काएका संरचना र निजी आवासहरु निर्माण हुनु सुखद पक्ष हो । भुइँचालोले भत्काएक ९२० वटा सम्पदामध्ये आधाजतिको पुनः निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । धरहरा त्यसैको प्रतिरुप हो । भुइँचालोले करिब १० लाख निजी आवास,७५५३ विद्यालय,११९७ वटा स्वास्थ्य संस्था,४१५ सरकारी भवन,३२१२ खानेपानीका संरचनामा क्षति पुगेको थियो । निजी आवासको हकमा हालसम्म ७ लाख ५३ हजार १०४ वटा घरको पुनः निर्माण थालिएको पुनः निर्माण प्राधिकरणले जनाएको छ । यसैगरी ६ हजार २४६ वटा विद्यालय बनेका छन् भने लाप्राकको गुम्सी पाखामा ५७३ घरको एकीकृत बस्ती निर्माण भएको छ । ३ खर्ब ५७ अर्ब रुपैयाँको लागतमा यी संरचनाहरु बनेका हुन् । विदेशी दातृ निकाय, सरकार र गैरआवासीय संघको सहयोगमा भुइँचालाले भत्काएका संरचनाहरु बनेको प्राधिकरणले जनाएको छ । भुइँचालो गएको ६ वर्ष भएको छ । ६ वर्षसम्म पनि घर ढलेकाहरुले अझै घर पाएका छैनन् । उनीहरुको जीवन अहिले पनि कष्टपूर्ण नै छ । अर्कोतर्फ, पुनः निर्माणको लागि आवश्यक पर्ने रकमको जोहो गर्नुू सजिलो छैन । दाता सम्मेलनमा बोलिएको रकम अझै आएको छैन भने पुनर्निर्माणको लागि थप रकमको आवश्यकता परेको छ । भत्केका सबै संरचनाहरु चुस्त दुरुस्त नहुँदासम्म पुनर्निर्माण सम्पन्न भयो भन्ने अवस्था छैन । पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा उल्लेख्य प्रगति भएको दावी गरेको छ । केही संरचना ठडिँदा उसको दावीमा सत्यता देखिन्छ तर गर्नुपर्ने काम अझै बाँकी रहेको तथ्य छिपेको पनि छैन ।
भुइँचालोपछि पुरानै शैलीमा सम्पदाहरु पुनर्निर्माण गरिनु सुखद पक्ष हो । पुर्खाले छाडेको विरासतलाई जोगाउनु र मौकिलता कायम गर्नु आवश्यक थियो । रानीपोखरीलगायतका केही सम्पदा पुनर्निर्माणको क्रममा गलत हुन लाग्दा नागरिकस्तरबाट खबरदारी गरिएको थियो । त्यही कारणले रानीपोखरीले मौलिकता गुमाउन पाएन । निजी आवासको हकमा भने पुनः निर्मित घरहरु गाउँ र हावापानी सुहाउँदो नभएको गुनासा सुुनिएका छन् । घर भनेको आङ घुसार्ने दुईवटा कोठमा मात्रै हैन । घरसँगै करेसा हुन्छ, आँगन हुन्छ, खुर्सानी लगाउने सानो बारी हुन्छ अनि घरसँग सो ठाउँको हावापानी र परिवेश पनि जोडिएको हुन्छ । हिमालमा बन्ने घर र तराईमा बन्ने घरमा फरकपन आउनुमा त्यहाँको हावापानीले प्रभाव पारेको हुन्छ । पुनर्निर्माणको क्रममा निजी आवास बनाउँदा गाउँको मौलिकतालाई बिर्सिएको छ, स्थानीय बस्तुहरुको उपयोगलाई निरुत्साहित गरिएको छ । यो सुखद हैन । सम्पदा पुनर्निर्माणमा जस्तै निजी घर निर्माणमा पनि गाउँको मौलिकतालाई ध्यान दिएको भए सुनमा सुगन्ध हुने थियो । तर, नेपालका इञ्जिनियर र नीति निर्माताहरुले त्यो कुरामा ध्यान पु¥याउन सकेनन् । बिग्रने जति बिग्रिसकेको छ । सपार्न सकिने ठाउँमा सपार्नेतिर पुनर्निर्माण प्राधिकरणको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->