पोखरा, १५ बैशाख- गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेसनमा छलफल चलिरहेको छ । अविश्वासको प्रस्ताव ल्याउने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु सोमबारदेखि नै लेकसाइडको रिसोर्टमा बसेका छन् ।
कांग्रेस र माओवादीका सांसदहरु लेकसाइडको कुटी रिसोर्टमा बसेको एक सांसदले जानकारी दिए । जनता समाजवादी पार्टीका २ जना सांसद भने लेकसाइडकै अर्को रिसोर्टमा बसेका छन् । अविश्वास प्रस्ताव माथिको छलफल र मतदानसम्म अरु गतिविधि हुन नदिन एकै ठाउँमा बस्ने व्यवस्था मिलाएको नेताहरुले बताएका छन् ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बैठक बसेर छलफल गर्न एकै ठाउँमा बस्नुपरेको बताए । ‘विभिन्न सवाल आउँछ, सरसल्लाह गर्नुप¥यो नि,’ नेपालीले भने, ‘साथीहरु बाहिरबाट आउनुपर्ने भएकाले पनि एकै ठाउँमा बस्नुपरेको हो ।’ आफू भने उक्त रिसोर्टमा बास नबसेको नेपालीले दाबी गरे ।
कांग्रेस सांसद सँगसँगै बसेको माओवादी केन्द्रले पनि छलफलकै लागि एकै ठाउँमा बस्नुपरेको बताएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले घर टाढा रहेका सांसदलाई बस्ने व्यवस्था मिलाएको बताए । ‘अविश्वासको प्रस्ताव राख्ने पक्षहरु एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पटक पटक भेटघाट गरिराख्नुप¥यो, घर टाढा भएका साथीहरु बास बस्नुप¥यो ।’ अविश्वास प्रस्तावमा मतदान गरेपछि यसरी बस्न नपर्ने उनको भनाइ छ ।
यता, छुट्टै होटलमा बसेका जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले कांग्रेस र माओवादी सँगै बसेपनि आफुहरु छुट्टै बसेको बताए । ‘प्राविधिक कारणले हामी उहाँहरुसँगै बस्न सकेनौं,’ आचार्यले भने, ‘संसदमा अरु गतिविधि रोक्न र राजनीतिक वैचारिक छलफल गर्न नजिकै बसेका छौं ।’
गण्डकी प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमा यी ३ दलका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन् । यता, सत्तारुढ नेकपा एमालेका २७ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङे १ जना छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चा भने रिसोर्टमा बास बस्न पुगेका छैनन् । जनमोर्चा नै अहिलेको सत्ता टिकाउने वा अविश्वास प्रस्ताव पास गराउने निर्णायक शक्ति हो । प्रदेश सभामा जनमोर्चाको ३ जना सांसद छन् ।
जसपा नेता आचार्यले जनमोर्चाका सांसदलाई पनि रिसोर्टमा बोलाएको तर नआएको जानकारी दिए । ‘उहाँहरुलाई पनि बोलाएका हौं, सँगै बसेर एक ढिक्क भएर जाऔं भनेको हो तर उहाँहरु हामी आँफै बस्छौं भन्नुभयो,’ आचार्यले भने ।
यता, जनमोर्चाका संसदीय दलका नेता एवं केन्द्रिय सदस्य कृष्ण थापाले आफुहरुलाई रिसोर्टमा बस्न नबोलाएको दाबी गरे । ‘हामीलाई बोलाएको पनि छैनौं’, थापाले भने, ‘बोलाएपनि जानोवाला छैनौं ।’
उनले यसरी रिसोर्टमा गएर एकै ठाउँमा बसेको विपक्षी दलका सांसदहरुलाई भेंडा, बाख्रा र भैंसीको संज्ञा दिए । उनले भने, हामी भेंडा, बाख्रा र भैंसी होइनौं । जो जो भेडा, बाख्रा र भैसी जस्ता छन् त्यसरी बस्छन् ।’





