पोखरा, १६ वैशाख- कास्कीमा आजदेखि एकहप्ताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक कामबाहेक सम्पूर्ण भिडभाडजन्य गतिविधिहरु बन्द गर्न आदेश दिएपनि यातायतामा भने जोरबिजोर प्रणाली लागू गरिएको छ ।
निषेधाज्ञापछि बिहानैदेखि कास्कीको मुख्य शहरी क्षेत्र पोखरा सुनसानप्रायः छ । बजारका अत्यावश्यकबाहेकका कुनैपनि पसलहरु खुलेका छैनन् । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।
पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् । मास्क नलगाएकालाई सम्झाउने र ‘जोर’ अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिहेको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबा ६ सय ३५ जना प्रहरी खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले मंगलबार बिहानमात्रै २ सय ८१ वटा २ पांग्रे, ८४ वटा चार पांग्रे र निषेधाज्ञा अटेर गरेर पसल चलाउने २ सयभन्दा पसल बढी बन्द गराएको जानकारी दिए । ‘अहिलेसम्म मान्छेलाई चाहिँ नियन्त्रणमा ल्याएका छैनौं,’ उनले भने ।
यातायातमा जोरबिजोर प्रणाली लागू भएपछि बाटोमा फाटफुट मोटरसाइकल, ट्याक्सी, सार्वजनिक बसलगायत सवारी साधन देख्न सकिन्छ । तर, बाटोमा भिडभाड गर्नगरी मान्छेहरु हिँड्डुल गरेको देखिएन ।





