देशका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दृढ इच्छाशक्ति भएकोमा कुनै द्धिविधा छैन । लामो जेलजीवनपछि मृत्युलाई पटकपटक जित्नु दृढ इच्छाशक्तिकै परिणाम हो । उनी दृढ छन्,आफ्नो विचारमा अडिग छन् र दूरदृष्टि पनि छ भन्ने ठानेर नै उनलाई जनताले पत्याएका थिए । उनकै नेतृत्वमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई जनताले सोचेभन्दा बढी विश्वास गरिदिएका थिए । जनविश्वासबाटै उनको दोस्रो पटकको सिंहदबार यात्रा सम्भव भयो । तर, सिंहदबार प्रवेशसँगै प्रधानमन्त्री ओलीले आफूसँग भएको त्यो उर्जालाई सकारात्मक काममा लगाउन सकेनन् । उनी आसेपासेबाट घेरिए÷घेरिन चाहे । आदिमकालीन ‘भष्मासुर’बन्ने बाटो रोज्न पुगे । जनताको त्याग र बलिदानीबाट निर्मित संविधानभन्दा आफूलाई सर्वोपरी ठान्ने धृष्टताबाट निर्देशित बने । पार्टीभित्रको अन्तरकलहलाई देखाएर संसद विघटनको सिफारिस गरे । संसद पुनःस्थापित हुँदा पनि उनले सत्ता छाड्ने नैतिकता देखाएनन् । बरु, उनीबाट पुनःस्थापित सदन र अहिलेको व्यवस्थालाई नै असफल सिद्ध गर्ने अभ्यासहरु निरन्तर भइरह्यो । विश्वासपात्रहरुले प्रधानमन्त्री ओलीलाई रोक्ने हिम्मत गरेनन् बरु उनका कदमहरुलाई आँखा चिम्लेर सही मान्दै आए । यतिबेला प्रधानमन्त्री ओली नैतिकताको बलमा हैन कि गणितीय जोड–घटाउको कारण मात्रै सत्तामा छन् । उनी आफू सत्तामा नरहँदा देश नै बर्बाद हुन्छ भन्ने भ्रमपूर्ण सन्देश फैलाइरहेका छन् । भला, उनलाई विस्थापन गर्न तम्सेकाहरु पनि सही छैनन् तर ओलीले समातेको बाटोले व्यवस्था नै असफलताको डिलमा पुगेको छ । उनका कदमहरु प्राप्त उपलब्धीहरु गुमाउने र देशलाई पुनःद्वन्द्वमा पु¥याउने दिशामा अघिबढेको छ ।
आश्चर्य त कहाँ छ भने, चौथो वर्षमा दौडिरहेको प्रदेश सरकारका मुखियाहरुले पनि ओलीकै बाटो समातेर व्यवस्थालाई बदनाम बनाइदिएका छन् ।गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीहरुले आफ्नो सत्ता जोगाउन जुन प्रपञ्च रचिरहेका छन्, ती प्रपञ्चहरु कसैको सत्ता जोगाउन र फाल्नभन्दा पनि संघीयता असफल बनाउन सहायक छन् । हिजो संसदीय व्यवस्थामा देखिएको विकृतिभन्दा अगाडि बढेर प्रदेशहरुमा जे–जस्ता गतिविधिहरु भएका छन्, त्यसले जनप्रतिनिधिहरुको मर्यादा घटाएको छ । व्यवस्थाप्रति अविश्वास बढाएको छ ।
व्यवस्था आफैमा खराब हुँदैन बरु एउटा देशको भाग्य र भाष्य निर्माणमा राजनीतिक नेतृत्वको विशेष भूमिका हुन्छ । उनीहरु संविधानले नै बाँधेको थितिलाई पनि बेथितिमा परिणत गर्ने सामथ्र्य राख्छन् । तर, उनीहरुले सत्ता र शक्ति स्थायी हैनन् भन्ने बुझेका छैनन् । इतिहासको कलंकित कि यजश्वी पात्र बन्ने भन्ने निक्र्यौल नगर्दा उनीहरुले उल्टो बाटो तय गरेका छन् । तय गरेको बाटोले उनीहरु भड्खालोमा पर्ने निश्चित त छ नै व्यवस्थामाथि पनि ठूलो धावा बोलिएको छ । देशको लागि यो नै सबैभन्दा ठूलो दुर्भाग्य बनेको छ । कुपात्रको हातमा सत्ता परेपछिको नियति भोग्न र देख्न जनता विवश बनेका छन् ।
