प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा रोगसँग लड्ने क्षमता उच्च रहेकै कारण कोरोना भाइरसबाटअरु देशको तुलनामा मानवीय क्षति कम जिकिर गर्दै आए । उनले बेसारपानी, अदुवादेखि अम्बाको पातसम्मले कोभिड निको पार्ने उद्घोष गर्दै सारा विश्वलाई चकित बनाए । प्रधानमन्त्रीका अभिव्यक्तिहरुलाई चिकित्सकहरुले गलत बताए तर प्रधानमन्त्रीले टेरपुच्छर लगाएनन्, उनी आफ्नो अभिव्यक्ति अडिग रहिरहे । बरु एकपछि अर्का मिथ्या अभिव्यक्ति दिँदै गए । कोभिडको दोस्रो लहरले देशलाई गाँज्दा पनि उनले चेतेनन् बरु आफ्नै अगुवाइमा देशभर भेला र जुलस गरिरहे । उनका अभिव्यक्ति पच्छ्याएर कतिले दुःख पाए ? त्यसको लेखाजोखा भएको छैन । तर, प्रधानमन्त्रीले यसअघि दिएका अभिव्यक्तिहरु भ्रामक र कपोलकल्पित थिए भन्ने प्रमाणित भएको छ ।
प्रधानमन्त्री स्वयंले सोमबार राष्ट्रको नाममा संवोधन गर्दै आफ्ना पुराना अभिव्यक्तिहरु काटेका छन् । बेसारपानी खाऊ, कोरोना भगाऊ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आफूले केही गर्न नसक्दा उब्जेको हीनता थियो । कोभिडको पहिलो चरण भगवान भरोसामै मत्थर भयो तर समयक्रमले प्रधानमन्त्री हीनभावबाट ग्रसित भएको प्रमाणित गरिछाड्यो ।केही दिनअघि जनस्वास्थ्य मन्त्रालयले कोभिडको दोस्रो लहर थाम्न नसक्ने भन्दै हात उठायो । जनतालाई घरमै बस्न आग्रह ग¥यो, उपचार गर्न नसक्ने उद्घोष ग¥यो ।आफू मातहतको स्वास्थ्य मन्त्रालयले हात उठाउँदा प्रधानमन्त्री भने सत्ताको जोडघटाउमै व्यस्त थिए÷छन् ।नैतिकतालाई तिलाञ्जली दिँदै आएका प्रधानमन्त्रीले ढिलोगरी सत्य बोलेका छन् ।
आधा अंग्रेजीसमेत मिसिएको संवोधनको क्रममा उनले भनेका छन्,‘ हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं ।’ हिजो प्रधानमन्त्रीले गल्ती गरेका थिए । त्यो गल्तीको महंगो मूल्य तिर्न अभिषप्त भएका नेपालीहरुलाई प्रधानमन्त्रीले यो पटक भने केही नयाँ कुरा दिएका छन् । धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा परिणत गर्ने र नेपाली सेनालाई १ हजार बेडको अस्पताल बनाउन निर्देशन दिने काम पनि उनले गरेका छन् । अग्रमोर्चामा काम गर्नेहरुको जोखिम भत्ता ५० प्रतिशत मात्रै कायम गरेपनि प्रधानमन्त्रीले चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्न र हल्लाको पछि नलाग्न आग्रह गर्दैै धेरैपछि तथ्यलाई स्वीकारेका छन् ।समय विषम छ । महामारीले विकराल रुप लिएको कसैबाट छिपेको छैन । प्रधानमन्त्रीको यो पटकको संवोधनमा विज्ञहरुको सहारा लिइएको प्रष्ट भएको छ । विज्ञहरुको सुझाव पालना गर्न उनीबाट जो आग्रह भएको छ, त्यसले प्रधानमन्त्री भ्रमबाट मुक्त भएको प्रष्ट भएको छ ।समयमै प्रधानमन्त्रीमा यो चेत आएको भए,समस्या यति डरलाग्दो नहुन सक्थ्यो भन्ने एउटा आंकलन हो तर हामीसँग विज्ञहरुको सुझाव पालना गर्नुको विकल्प छैन । यसको विरुद्धमा जानु पनि हुँदैन ।
