बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

घरमा भएका संक्रमितलाई सम्हालौं

घरमा भएका संक्रमितलाई सम्हालौं


  • २३ वैशाख २०७८
  • बैशाख २३ २०७८, बिहिबार

सरकार सत्ता टिकाउन व्यस्त छ । सांसदहरुको तानातान,अशोभनीय अभिव्यक्ति र षड्यन्त्रहरुमा अल्झिएको सरकारको ध्यान र महामारी नियन्त्रणतर्फ रत्तिभर पनि छैन । प्रधानमन्त्री राष्ट्रको नाममा ‘कर्मकाण्डी’ संवोधनसँगै आफ्नो दात्यित्व पूरा भएको ठान्दै होलान् ! तर,दिनहुँ कोभिड–१९ ले नागरिकले अस्पतालमा बेड र अक्सिजन नपाएर ज्यान गुमाएकोबारे उनले सहानुभूतिसमेत जताएका छैनन् । आधुनिक जमानाका ‘निरो’ जस्तै देखिएका प्रधानमन्त्रीकै सहमतिमा कोभिडविरुद्धको भ्याक्सिनमा कमिसन खाने समूह सक्रिय बनेको र सोही समूहकै कारण खोप आउन नसकेको सार्वजनिक भइरहँदा पनि प्रधानमन्त्री मौन छन् । बरु, उनको आधिकारिक ट्विटर ह्याण्डलबाट आवाज उठाउनेहरुविरुद्ध विषवमन गरिने काम भएको छ । सत्ता यहाँभन्दा तल गिरेको र यतिसम्म निर्लज्जता प्रस्तुत गरेको सायद कहीँ होला !
सरकार गैरजिम्मेवार बनिरहँदा हाम्रो स्वास्थ्य सुरक्षा हाम्रैै हातमा नरहने हो कि भन्ने चिन्ता एकातिर छ भने आफै सजग बन्नुपर्ने दायित्व पनि आफैमाथि थपिएको छ । गण्डकीको मात्रै तथ्याङ्क हेर्ने हो भने अहिलेसम्म ३०३१ सक्रिय संक्रमित रहेका छन् ।संक्रमितमध्ये २८७४ जना घरमै छन् । उनीहरु घरकै एकान्तबासमा रहेको भनिएको छ । उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे भने कसैले चासो लिएको छैन । अस्पतालका बेडहरु भरिएका छन् । अस्पताल गएर उपचार नपाउने अवस्था सृजना भएपछि घरमै बसेका उनीहरुबाट परिवारमा संक्रमण फैलिने डर पनि उत्तिकै रहेको छ ।
मायाले मृत्युलाई जित्छ । आफन्त र परिवारजनहरु बिरामीको नजिक जाने सम्भावना र बाध्यता दुबै हुन्छ । अशक्तको हकमा यो कुरा अझ बढी लागु हुन्छ । संक्रमितले ओखति र हेरचाह पाउनैपर्छ । यसको लागि अस्पतालभन्दा उत्तम ठाउँ अर्को हुँदैनथ्यो । सरकारले नै हात उठाएर उपचार गर्न सक्दिन भन्दै घरमा बस्ने उर्दी दिएपछि अभिषप्त बनेकालाई बचाउन कुनै कसर बाँकी राखिनु हुँदैन । तर, यसो भनिरहँदा आफू सुरक्षित रहनुुपर्ने तथ्यलाई पनि बिर्सनु हुँदैन । आफू सुरक्षित रहेमात्र आफन्तको हेरचाह गर्न सकिन्छ । अतः संकटको यो घडीमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै आफन्तहरुको हेरचाह गरौं,बालबालिकालाई संक्रमित आफन्त नजिक जानबाट रोकौं । संक्रमित आफन्तमा आत्मबल भरौं । कोभिड संक्रमितहरुलाई अक्सिजनको जतिबेला पनि कमी हुनसक्नेतर्फ ध्यान दिऊँ । आवश्यक औषधि र अक्सिजनको जोहो गरौं । राज्यले केही गर्न नसकेको अवस्थामा कम्तिमा संक्रमणलाई निस्तेज पार्ने र आफन्तलाई बचाउने दायित्वबाट कोही पनि विमुख नहोऔं । बिरामीलाई अवहेलना गर्ने काम गर्दै नगरौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->