पछिल्लो समय कोरोनाको संक्रमण तीब्र रुपमा बढेको छ । संक्रमणले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधारण कोही छुटेका छैनन् । स्वास्थ्यकर्मीमा संक्रमण भएकोले अन्य समस्या भएकाहरुको उपचारमा पनि असर परेको छ ।
अधिकांस संक्रमित घरघरमा बसेका छ् । तर जटिल समस्या भएका, लक्षण देखिएकाहरु अस्पताल जाँदापनि बस्ने स्थान छैन । २५ बेड भएको धौलागिरि अस्पताल बाहेक अन्य स्थानमा तत्काल आइसोलेसन बनाएर उपचार गराउने अबस्था र तयारी छैन । पीसीआरको दायरा पनि बढाइएको छैन । जसले गर्दा संक्रमण पहिल्याउन पनि ढीला भएको छ । अघिल्लो बर्ष लक्षण नभएका संक्रमित धेरै भएकोले सामान्य स्वासथ्यकर्मीले हेर्ने स्थानमा पनि आइसोलेसन संचालन भएका थिए । त्यो संभव पनि भएको थियो । यसपटक संक्रमणको दर जस्तै संक्रमितको अबस्था पनि जटिल छ । तत्काल अक्सिजन अभाव भैरहेको अबस्था छ । आइसियुमा राखेर उपचार गराउनुपर्ने अबस्थाका बिरामी धेरै छन् ।
समयमा लकडाउन नगरेको, संक्रमणको जोखिम बढेपछि तत्काल सुरक्षाका मापदण्ड पालना नगरेको जस्ता कारणले यो अबस्था आएको स्पष्ट छ । यस्तो अबस्थामा आम नागरिकले सचेतना अपनाउने बाहेकको अर्को उपाया छैन । लामो यात्रा नगर्ने कुरा धेरै ढीला भैसकेको छ भने अनावस्यक काममा अझैपनि बजारमा डुल्ने, भेला हुने काम बढी जोखिमको छ । बिबाहको सिजन भएकोले सबैभन्दा धेरै मानिस भोजभतेरमा जोडिएका छन् । उनीहरु यसरी जोडिदा संक्रमणको दर बढेको हो ।
पछिल्लो समय स्वास्थ्यकर्मीहरु जसरी उद्दार र उपचारमा खटिएका छन्, त्यसरी जनप्रतिनिधि र राजनीतिक दलको सक्रियता देखिएको छैन । केन्द्र र प्रदेश तहमा सरकार बनाउने र ढाल्ने खेल चलिरहेको छ भने जिल्ला तहमा जनप्रतिनिधिहरु कुना पसेका छन् । अर्थात दल र जनप्रतिनिधिले आफ्नो सुरक्षा खोजेर मात्रै बसेका छन् । जनताकालागि केही गरेको देखिएको छैन । अघिल्लो बर्ष टोलटोलमा बनेका क्वारेन्टाइन अहिले छदैछैनन् । आइसोलेसन समेत तयार भएका छैनन् । पालिका तहमा निर्माण भएका कोभिड अस्पतालपनि संचालनमा आइसकेका छैनन् । दवावका कारण केही पालिकाले संचालन तयारी गरेपनि कतिपयले अस्पताल भएनभएको थाहा नपाएझै गरिरहेका छन् । सदरमुकाम स्थित बागलुङ नगरपालिकाले त आफ्नै कर्मचारी ट्रेसिङमा परेको बाहनामा कार्यालय बन्द गरेर बसेको छ । स्थानीय सरकारको रुपमा नगरपालिका बन्द गरेर बस्नु कतिको जायज हो ? स्थानीय सरकारले जनताको समस्या बुझ्नु पर्छकी पर्दैन ? समस्या बाट भागेर बस्दा आम नागरिकको नकारात्मक धारणा बनिरहेको छ ।
नगरपालिकाकै अगुवाईमा गर्न सकिने धेरै काममा उदासिनता भएको छ । प्रशासनले पनि निशेधाज्ञा लगाएर उम्कने प्रयास गरेको देखिन्छ । बाहिरबाट आएका मानिसको खोजी तथा पहिचान गर्ने काम भएको छैन । बरु औपचारिक रुपमा डिसिसिएमसीको बैठक बस्ने काम मात्रै भएको छ । यस्ता धेरै क्रियाकलापले अघिल्लो बर्षको तुलनामा फितलो व्यस्थापन, आइसोलेसन बनाउन ढीलाइ र संक्रमणप्रति वेवास्ता भएको देखिन्छ । यसले जोखिमलाई स्वतह निम्तो दिएजस्तो देखिन्छ । अझैपनि समयमा सोचेर सचेता पैmलाउने काम गरिएन भने जोखिमको दर बढ्नेछ । बिबाह र भोजभतेर जस्ता बिषयमा चटक्कै रोक्न सकिएन भने भयावह स्थिति आउन सक्छ । त्यसमा पहिलो सर्तकर्ता र प्रतिवन्ध लगाउनु जरुरी छ ।
