बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संस्थापक मुख्यमन्त्रीको रुपमा स्मरणीय रहनेछन् : पृथ्वीसुब्बा !

संस्थापक मुख्यमन्त्रीको रुपमा स्मरणीय रहनेछन् : पृथ्वीसुब्बा !


  • Dhorpatan News
  • बैशाख २७ २०७८, सोमबार

संघीयताका ‘खरो’ पक्षधर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइतबारबाट ‘कामचलाउ’ भएका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना नगरि उनले विपक्षीहरुलाई सरकार बनाउने बाटो खोलिदिएका हुन् । यो निर्णयसँगै उनले यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएसँगै चालु सदन अन्त्य गरेको दोषको प्रायश्चित पनि गरेका छन् ।
मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति एकाएक चालु अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । त्यो सिफारिस आफूविरुद्ध तयार गरिएको अविश्वासको प्रस्ताव छल्नकै निम्ति थियो । वार्ता र संवादको लागि त्यो निर्णय गरेको जिकिर नै किन नगरेका हुन् !सदन हठात् अन्त्य गरेर संघीयताका पक्षपाती मानिने पृथ्वीसुब्बाले आफ्नौ नैतिकता दाउमा राखेका थिए । त्यसपछिका घटनाक्रममा पनि उनी आलोचना मुक्त हुन सकेनन् । राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही वैशाख १५ गते एकाएक सदनबाट हराएको दोष पनि पृथ्वीसुब्बाकै टाउकोमा आइपुग्यो । खिमपिक्रम कोभिड संक्रमित भएर नै अविश्वासको प्रस्तावको दिन अस्पताल गएको धेरैले पत्याएनन् । उनको गतिविधिलाई २०५३ सालतिर सदनमा भएको सांसद किनबेचकै नयाँ स्वरुपको रुपमा लिनेहरु धेरै भए । नश्वर शरीर बिरामी पर्छ, बिरामी परेपछि अस्पताल जानु स्वभाविक हो तर परिबन्दले त्यसो भनिदिएन ।मुख्यमन्त्रीकै पार्टीले त्यही दिन मतदान नगराएको भन्दै सभामुखको आलोचना गरेपछि शंकामा बल पुग्यो । परिबन्दको जालमा परेका खिमविक्रमका दैनन्दिनी तत्कालीन मुख्यमन्त्रीसँग जोडिन पुग्नु दुःखद थियो । नहुनु पर्ने घटना र त्यसपछिका प्रतिक्रियाहरुले मुख्यमन्त्री गुरुङको निष्कलंकतामा प्रश्न उठाउने ठाउँ दियो । राजनीतिज्ञको रुपमा पृथ्वीसुब्बाको लागि त्यो दुःखद घटना थियो । किनकि, सदनमा गएपछि हरेक सभासदले स्वतन्त्र विचार राख्न पाउँछन् । संसदीय राजनीतिमा ‘फ्लोर क्रस’लाई जायज मानिँदैन तर यो प्रवृत्ति नजिर बनेकै थियो । यसमानेमा खिमविक्रमले जे निर्णय गरेपनि संसदीय राजनीतिमा अस्वभाविक मानिँदैनथ्यो । त्यसो भएन । रात रह्यो तर अग्राख पलाएन । अन्ततःमुख्यमन्त्रीले आफू अल्पमतमा भएको महशुस गरे । उनले बाटो छाडिदिए । बाटो छाडेर राजनीतिज्ञको रुपमा पृथ्वीसुब्बाले असल संस्कारको जग बसालिदिएका छन् । यो संस्कार अब बाध्य भएर अरु दल र नेताहरुले पनि अनुशरण गर्नुपर्ने भएको छ ।
राजनीतिमा जित र हार, सत्ता र बाहिर हुुनुलाई स्वभाविक मानिन्छ । जनताको मन जित्न सके आवधिक निर्वाचनबाट पुनः सत्तारोहण गर्न सकिन्छ । संघीयताको कट्टर हिमायती तथा संस्थापक मुख्यमन्त्री भएको नाताले पृथ्वीसुब्बाले केही देखिने काम गरेका छन्, केही सुरुवात दूरगामी महत्वका छन् । उनी अहिले पनि सदनमा ठूलो दलका नेता हुन् । केन्द्रीय राजनीतिकाने बाछिटा प्रदेशसम्म आइपुग्दा उनी अंकगणितमा कमजोर बने। संघीयताप्रतिको उनको निष्ठालाई कसैले सम्झेनन् र अल्पमतमा पर्न अभिषप्त बनाइयो । केन्द्रको राजनीति दाउपेचका कारण प्रादेशिक संरचनाअन्तर्गत पहिलोपटक राजीनामा दिनुपर्ने बाध्यतामा पनि उनलाई नै पारियो । तर, बिग्रेको केही छैन । सदनको जिम्मेवार प्रतिपक्ष भएर पनि पृज्वीसुब्बाको काँधमा आफैले सुरु गरेका ती कामहरु पूरा गर्नै दायित्व बाँकी नै छन् । खासमा, ती कामकै कारण पनि उनी सधैँ संस्थापक मुख्यमन्त्रीको रुपमा स्मरणीय रहनेछन् । राजीनामा दिँदा दिएको अभिव्यक्तिजस्तै आफूलाई ‘राजनीतिक दाउपेच’ भन्दा माथि राखे भने उनी अझ ‘महान’ बन्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->