बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लोकतन्त्रमाथि अस्थिरताको फणा

लोकतन्त्रमाथि अस्थिरताको फणा


  • २८ वैशाख २०७८
  • बैशाख २८ २०७८, मंगलबार

संसदीय व्यवस्थामा राजनीतिक दलहरु बलियो हुनुहुर्छ भन्ने विश्वव्यापी मान्यता हो । राजनीति दल बलियो भए लोकतन्त्र मजबुत हुन्छ । अझ भनौं, संसदीय व्यवस्थाको जरा राजनीतिक दलको सक्रियता र जनतासँगको सम्बन्धसँग जोडिएको हुन्छ । राजनीतिक दलहरुले नै जनताको भावनाको प्रतिनिधित्व गर्छन्,मन जित्छन् र सत्तामा पुग्छन् । घोषणा पत्रमार्फत् जनताका जाँदा उनीहरुले निश्चित प्रतिवद्धताहरु जनाएका हुन्छन् । बलियो नभए जनतासामु गरिएका प्रतिवद्दताहरु पूरा गर्न दलहरु असमर्थ हुन्छन् । वाचा पूरा गर्न नसक्नु भनेको जनताको नजरबाट गिर्नु हो । जनताको नजरमा गिरेपछि पार्टीको अस्तित्व धरापमा पर्छन नै, सत्ता पनि अस्थिर बन्ने सम्भावना रहन्छ । कारण, जनमत विभाजित हुनपुग्छ । यही दल वा समूह राम्रो हो भन्ने निक्र्यौल गर्न कठीन हुँदा सानाले मत पाउँछन् । मत विकेन्द्रीत हुँदा सदन पनि बहुरुपी बन्न पुग्छ । बहुरुपी र एउटै दलको स्पष्ट बहुमत नहुँदा आफ्ना नीति र कार्यक्रम कार्यान्वन गराउन गाह्रो हुन्छ । त्यसको असर समग्र पद्दतिमै पर्छ र व्यवस्था असफल हुने सम्भावना हुन्छ ।संसदमा कुनै निश्चित दलको बहुमत नआउँदा अस्थिरता हावी हुँदै आएको दृष्टान्त हेर्न टाढा जानु पर्दैन, नेपालकै उदाहरण हेर्दा पनि हुन्छ । अस्थिरताको कारक कुनै एक दलको स्पष्ट बहुमत नहुनुलाई नै एजेण्डा बनाएर अघिल्लो पटक चुनाव लड्दा वाम गठबन्धनले बहुमत पाउनुमा पनि त्यही भावले काम गरेको थियो ।
तर, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको आयू लामो रहेन । दुई दल पुस २३ गतेपछि पुरानै अवस्थामा फर्किए । त्यसो त नेपालमा दल विभाजनको लामो इतिहास रहेको छ । सबैजसो दलहरु फुटेका र जुटेका छन् । कहिले व्यक्तिको दम्भ त कहिले सत्ताको जोडघटाउ फुटको कारक बन्ने गरेको छ । अझ कतिपय अवस्थामा त फुटको मनस्थितिलाई सिद्धान्तको जलप लगाउने पनि गरिएको छ । यो उपक्रमको पछिल्लो उदाहरण एमाले र जनता समाजवादी पार्टी भएको छ । सोमबार सदनमा प्रधानमन्त्रीविरुद्धको प्रस्तावको पक्ष र विपक्षमा विभक्त भएर उनीहरुले पार्टी मिलेपनि मन नमिलेको स्पष्ट सन्देश प्रवाहित गरेका छन् । दलहरुबीच देखिएको यो विग्रह व्यक्तिको दम्भलाई शिखरमा पु¥याउन सहायक होला तर अन्ततः यसले देशको भलो गर्दैन । अहिले देशमा दलहरुले कमजोर बन्ने बाटो अंगिकार गरेका छन् । दलहरुभित्र देखिएको जुँगाको लडाइँसँगै प्रधानमन्त्री केपी ओली कामचलाउ बनेका छन् । ठूलो पार्टीलाई सानो बनाउने मुख्य भूमिका ओलीले नै निर्वाह गरेका हुन् । त्यसको नाफाघाटाको भागिदार सर्वप्रथम उनै हुन्छन् तर सदनमा देखिएको गणितको खेलले पार्ने असरबाट देश अछुतो रहने छैन । सदनमा देखिएको परिदृष्यले आउँदा दिनहरुमा पनि दलहरु बलियो नहुने संकेत गरेको छ । यो नै देशको लागि दुर्भाग्य बनेर अगाडि आएको छ । अस्थिरताले पुनः आफ्नो फणा फैलाएको छ । देशको राजनीतिले अनिश्चितताको दिशा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->