बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनताको आँशुले सराप्छ, होस गर !

जनताको आँशुले सराप्छ, होस गर !


  • २९ वैशाख २०७८
  • बैशाख २९ २०७८, बुधबार

राज्यले दृष्टि र घ्राण शक्ति गुमाएको छ । उपचार नपाएर छट्पटाएका जनताको आर्तनाद, आफन्तहरुको बिलौना उसको कानसम्म पुग्न सकेकै छैन । कोभिड–१९ बाट सिंगो देश नै आक्रान्त हुँदा सत्ताधारीहरु सत्ताकै जोड–घटाउमा व्यस्त छन् । प्रधानमन्त्री सिसाको रक्षाकवचभित्र बसेर परिस्थिति नियन्त्रणमै रहेको गुड्डी हाँकी रहेका छन् । देशवासीलाई मात्र नभएर अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्न गरेको प्रयत्न असफल भएको र आफ्नो धोती खुस्केको उनले चाल पाएकै छैनन् । इतिहासमा राष्ट्र यति निरीह बनेको सायद यो नै पहिलो घटना होला ! राज्यले कोभिडको ‘उपचार गर्न असमर्थ रहेको’ भन्दै हात उठाएको छ । जनस्वास्थ्यसँग सरोकार राख्ने निकायहरु अहिले लास गन्ने काममा मात्रै व्यस्त भएका छन् । कोभिडको दोस्रो लहर आउने थाहा हुँदाहुँदै सरकारले त्यसको कुनै तयारी गरेन । यस अघिजस्तो प्रदेश र स्थानीय तहका नेताहरु खटिँदा स्थितिको गाम्भीर्यताप्रति कसैले ध्यान दिएनन् । बरु उनीहरु प्रधानमन्त्रीको निर्देशनमा देशैभर आमसभा गर्नमै व्यस्त रहे । संघीय सरकार त औषधि खरिदमा पनि कमिसन खोज्ने चक्करमा लाग्यो । भला, प्रधानमन्त्री त्यो कुरा स्वीकार्न तयार छैनन् । उनको मुखमा अझै ‘भ्रष्टाचारीको मुख हेर्दिन’ भन्ने वाक्यांश झुण्डिएको छ । महामारीमा परेका जनता निरीह बन्दै यी र यावत् बेथिति सहन अभिषप्त बनेका छन् ।
भुसको आगोजस्तो फैलिएको कोभिडले कसैलाई छाड्नेवाला छैन । प्रधानमन्त्रीकै भनाई सापट लिने हो भने यसले ओहोदा बस्ने र नबस्ने चिन्दैन । दुःखको कुरा के छ भने, ओहोदा हुनेले अहिले पनि अस्पतालमा बेड पाउँछन् । महंगो अस्पतालमा बसेर उपचार गराउने सुविधा उनीहरुको लागि सुरक्षित छ । तर,जनताहरुले अक्सिजनसमेत पाउन छाडेका छन् । अस्पतालमा बेड छैन, अक्सिजन प्लाण्टहरु सरकारले नियन्त्रणमा राखिसकेको छ । सरकारले अक्सिजन प्लाण्टहरु नियन्त्रण गर्दा झन अभाव सिर्जना भएको छ । मृतकहरुको शव व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । अब स्थितिलाई नियन्त्रणमा कसरी लिने भन्ने तयारी गरिएको छैन । यो नै सबैभन्दा ठूलो दुर्भाग्य बनेको छ । हो, देशको स्वास्थ्य प्रणाली कमजोर छ, हामीसँग सीमित स्रोत र साधन छन् । भएका स्रोत र जनशक्तिको राम्रो परिचालन हुन सकेको छैन । भ्रष्टाचार र कमिसनले देश तहसनहस भइसकेको छ । तर, दृढ इच्छाशक्ति हुने हो भने त्यसका बावजुद पनि गर्न सकिने धेरै कुराहरु छन् । पीसीआर परीक्षण बढाउने,संक्रमितलाई कम्तिमा अक्सिजन र बेडको व्यवस्था गर्ने अनि संक्रमण फैलन नदिनेतर्फ ध्यान दिने हो भने स्थितिमा सुधार आउन सक्छ । यसको लागि ३ वटै तहका सरकारहरुबीच समन्वय हुनु जरुरी छ । राजनीति गर्ने जनताको लागि हो । स्वास्थ्य क्षेत्रको सुदृढीकरणको लागि आवश्यक क्षेत्रमा तत्काल बजेट विनियोजन गर्दै जनताको ज्यान जोगाउने दायित्वबाट विमुख नबन । जनताको आँशुले सराप्ने छ भन्ने नबिर्स !

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->