कोरोनाले सिंगो देश आक्रान्त छ । घरघरमा कोरोनाका संक्रमितहरु बढीरहेका छन् । धौलागिरि अस्पतालमा कोरोनाका बिरामी उपचार गराइरहेको बेला एकाएक अक्सिजनको समस्या भएको समाचारहरु बाहिर आएका छन् ।
एक मीनेट अक्सिजन नभएमा बिरामीले मृत्युवरण गर्नुपर्छ । त्यसैले अक्सिजन सकिंनै लागेको कुरा समाचारको मात्र बिषय होइन । बरु यो कठिन समयमा कसले के सहयोग गर्दा बिरामीको उपचार सहज हुन्छ भन्ने हुनुपर्ने हो । अस्पतालमा अक्सिजन अभाव भएको कुरा साँचो हो । तर त्यसकालागि अस्पताल प्रशासन, व्यवस्थापन समिति, सामाजिक बिकास मन्त्रालय र स्थानीय पालिका समेत किन जानकार छैनन् ?
सर्भिसिङ अभावमा अक्सिजन सकिंदैछ भन्ने खवर अउनुपूर्व व्यवस्थापन समितिले डेढबर्षदेखि के गरिहरेको छ ? जडान गरिएको प्लान्टको मर्मत खर्च जोहो गर्नुपर्छ भन्ने हेक्का किन राखिएन ? त्यसको लागि पहिलेदेखिनै तयारी गर्नु पर्नेमा अन्तिम अबस्थामा कोकोहोला बढेको छ । यो समस्याले एकपटक बिरामीको उपचारमा सचेत बन्ने बेला त आएकै छ । नियमित सर्भिसिङको समय आएको छ भन्ने कुरा अस्पतालले आन्तरिक कोष बनाएर पनि पुरा गर्नु पथ्र्यो ।
अब कसले के ग¥यो, के गरेन भनेर समीक्षा गर्ने भन्दापनि कसले के सहयोग गरेमा काम सम्पन्न गर्न सकिन्छ भन्ने तर्फ सोच्ने बेला आएको छ । अर्थात अस्पतालमा अक्सिजन भएन भने कसरी जुटाउने भन्ने सबैको ध्यान जाने बेला भएको छ । अहिले गुनासो गर्ने भन्दा तत्काल श्रोतको जोहो गर्ने बेला हो । अस्पताल व्यवस्थापन समिति बजेट नपाएको गुनासो गर्छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसीसीएमसीले बजेट नभएको भन्दै गाउँपालिका र नगरपालिकासँग ऋण माग्दैछ । हरेक पालिकाबाट एकएकलाख जुटाएमा अक्सिजन प्लान्ट सर्भिसिङ गर्ने, होल्डिङ सेन्टर बनाउने लगायतका काममा खर्च गर्न सकिने आबाज बाहिर आएका छन् । तर पालिकाले दिन्छुपनि भनेका छैनन्, दिन्न पनि भनेका छैनन् । पालिका प्रमुखले चाहेको खण्डमा अक्सिजनकालागि एकएकलाख रुपैयाँ दिने कुरा ठूलो पनि होइन ।
सामाजिक बिकास मन्त्रालयले बैसाख मसान्तमा आएरपनि बिनियोजन गरेको बजेट दिन नसक्ने किन हो ? कि मन्त्रालयको योजनामा सहयोगको कुरा छैन ? कि एकपटक जोडेपछि अक्सिजन प्लान्ट जीवनभर चल्छ भन्ने विश्वास छ ? स्वास्थ्य क्षेत्रका बिज्ञहरु बस्ने मन्त्रालयले यो बिषय बाहिर नआउँदै पुरा गर्नु पर्ने होइन र ? यस्ता धेरै बिषयमा सरकारी संयन्त्र आफ्नो नियमित कामकालागि गम्भिर नभएको देखिन्छ । अस्पताललेपनि डेढ बर्षमा मर्मत गर्नुपर्छ भन्ने हेक्का नराखेको देखिएको छ । कोभिड नियन्त्रणपछि यस्ता कमजोरीको समीक्षा गरौंला । पहिलो चरणमा सबैले खर्चको जोहो गरौं । गैरसरकारी संस्थाले दिन खोज्दापनि उपकरण सहयोग लिन नखोज्ने, बरु नगदै खोज्ने प्रवृत्ति बाहिर आएको छ । त्यो कुराले कतै आँफै खर्च गर्ने र फाइदा उठाउने नियत पो छ की भन्ने समेत चर्चा चलेको छ । यदी उपकरणहरु सहयोग गर्न कोही आएको भए त्यो सहयोगबाटै आवस्यकता पुरा गरौं । सरकारी बजेट आउने हो भनेपनि समयमा ल्याउन पहल गरौं । बेलाबेला समस्या देखाइरहने प्रवृत्ति अन्त्य गरेर प्रभावकारी उपचार पद्दतीको बिकास गरौं ।
