मृत्यु कति भयावह हुन्छ ? डरबाटै अन्दाज लगाउन सकिन्छ ।आफन्त गुमाउँदाको पीडा कस्तो हुन्छ ? आर्यघाटमा भक्कानिएकाहरुलाई हेरे पुग्छ । देश विषमतामा छ । अझ भनौं महासंकटमा फसेको छ । कोभिडको दोस्रो लहरले कयौंका आफन्त छिनेको छ । आफन्त गुमाउँदा पनि अंगालो हालेर बिदाई गर्नबाट बञ्चित हुन अभिषप्त भएको छ ,मान्छे । घरको अँगेनो नै निभ्ने गरी कोभिडले मान्छे निलेको छ । गाउँका गाउँ संक्रमितले भरिएका छन् । समुदायस्तरमा फैलिएको संक्रमणले अझ भयावह अवस्था सृजना गर्ने खतरा बढेको छ ।
कोभिड फैलनुमा सबैभन्दा पहिला सरकार जिम्मेवार छ । कोभिडको पहिलो लहर मत्थर नहुँदै सरकार स्वयंले भेला र आमसभाहरुलाई प्रोत्साहित ग¥यो । प्रधानमन्त्री र मन्त्रीहरुले स्वास्थ्य मापदण्डको ख्याल गरेन्न र अहिले पनि गरेका छैनन् । नागरिकहरु उनीहरुकै पछि लागे । भारतको कुम्भ मेलामा गएकाहरु,भारतमा संक्रमण फैलिएपछि स्वदेश फर्केकाहरुलाई निगरानी गर्नबाट सरकार चुक्यो । स्थानीय तहले पनि चासो देखाएनन् । कोभिडलाई जितेकोजस्तो भावभंगिमामा रहेको सरकारले ध्यान नपु¥याउँदा गाउँगाउँमा संक्रमितहरु पुगे । विहेवारी र धार्मिक कार्यहरुमा हुने जमघटले पनि संक्रमण फैलाउन मद्दत पु¥यायो । कोभिडको संक्रमण नियन्त्रण बाहिर पुगेको छ । अक्सिजनको हाहाकार भएको छ । गाउँका गाउँ रोगले थलिएका छन् । गल्ती जहाँबाट भएपनि अब नियन्त्रणको लागि सबै जुट्नुपर्ने बेला आएको छ । नागरिक स्तरबाट कोभिड उपचारको लागि भेण्टिलेटर, अक्सिजनलगायतका सहयोग जुटाउनको लागि अभियान सुरु भएको छ । पूर्वाधारमा लगानी गर्न पनि नागरिक समाज तयार भएको छ । स्थानीय तहहरुले पनि ढिलै सही, आफ्नो जिम्मेवारी महशुस गरेका छन् । उनीहरुले गाउँमा आइसोलेसन, क्वारेण्टिन बनाउने र संक्रमण घटाउने उपायको खोजी गरेका छन् । यो सह्रानीय कदम नै हो । तर,यी कामहरु हल्लामुखीभन्दा परिणाममुखी हुनु जरुरी छ ।
पहिलो सर्त भनेको अस्पताल वा आइसोलेसनमा नभएर घरमै रहेको संक्रमितहरुको ठूलो संख्यालाई अन्य व्यक्तिबाट पर राख्नुपर्ने देखिएको छ । यसको लागि स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नसक्छ । पोखराको हकमा कोभिड भुसको आगो बनेको छ । यो अवस्थामा संक्रमित स्वयं पनि सजग र जिम्मेवार बन्नुपर्ने देखिएको छ । आफू संक्रमित छु भन्ने जानकारी भएसँगै समाजलाई बचाउनुपर्छ भन्ने भाव उनीहरुमा आउनुपर्छ । आफू परिवार र समाजका अन्य सदस्यसँग घुलमिल नहुँदा सबैको भलो हुन्छ भन्ने उनीहरुले मनन गर्नुपर्छ । अर्कोतिर, परिवारका सदस्यहरुले पनि समयको गाम्भीर्यता बुझ्नुपर्छ । आफू परेजमा बस्दै समाजलाई बचाउनेतर्फ ध्यान दिनुपर्छ । अस्पतालमा बेड र अक्सिजन नपाउने अवस्था छ । यो अवस्थाको अन्त्य सामूहिक प्रयासले मात्र सम्भव छ । मुख्य कुरा सरकार जिम्मेवार बन्नुपर्छ । भएका पूर्वाधार र जनशक्तिको उचित प्रयोग गर्दै नयाँ व्यवस्थातिर ध्यान दिनुपर्छ । नागरिक स्तरबाट भएका प्रयासहरुलाई प्रोत्साहित गर्दै आफ्नो कमजोरी स्वीकार्नुपर्छ । कम्तिमा अब सामूहिक प्रयासले मात्रे कोभिडलाई परास्त गर्न सकिन्छ भन्दै सबैले हातेमालो गर्ने वातावरण तयार गर्नुपर्छ ।
