बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खै जनशक्ति ? व्यवस्थापन गर ।

खै जनशक्ति ? व्यवस्थापन गर ।


  • ४ जेठ २०७८
  • जेष्ठ ४ २०७८, मंगलबार

कोभिड-१९ को दोस्रो लहर आँधीसरी समुदायममा मडारिरहेको छ । सहरदेखि गाउँसम्म यसले वितण्डा मच्चाउँदा त्रास उत्तिकै फैलिएको छ । दिनहुँ भकाभक मानिसको ज्यान लिइरहेको छ । संक्रमणको दर यति तीव्र छ कि, यसलाई रोक्न हाम्रा स्वास्थ्य पूर्वाधारहरु असमर्थ सावित भएका छन् । संसारका विकसित देशहरुले आफ्ना नागरिकलाई बचाउन हरसम्भव प्रयत्न गरिरहँदा हाम्रो सरकार भने गल्ती छोप्नमात्रै उद्यत भएको आभास भएको छ । अर्काले अनुदानमा दिएको खोपलाई राज्यको उपलब्धि भनेर डंगा पिटिरहँदा देशमा दोस्रो लहरको कोभिड आइसकेको थियो । थप खोप ल्याउने सरकारी योजनामा कमिसनखोरहरुको गिद्धेनजर परिसकेको थियो । कमिसनखोरको जालोमा सरकार बेरिइसकेपछि कसको के लाग्छ ? खोप किन आएन भन्ने प्रश्नको उत्तर दिनतिर सरकारले जाँगर चलाएको छैन बरु अहिले पनि कमजोरी ढाकछोपमै उद्यत रहेको छ । सबैभन्दा दुर्भाग्य यहीँनेर छ ।
अर्कोतिर कोरोना रोकथामको लागि चाल्नुपर्ने कदम पनि साह्रै धीमा देखिएको छ । उपकरणदेखि स्वास्थ्यकर्मीको अभावका कारण संक्रमणको पहिचान र थप उपचारमै समस्या उत्पन्न भएको छ । यसको पछिल्लो उदाहरण धौलागिरी अस्पताल बनेको छ । धौलागिरी अस्पतालमा पीसीआर परीक्षण गर्ने ल्याब छ तर त्यहाँ जनशक्ति छैनन् । जनशक्ति नभएकै कारण परीक्षणको लागि आएका स्वाबहरु ल्याबमा थन्किएर बसेका छन् । प्रयोगशालाको क्षमता दिनमा २ सय नमुना परीक्षण गर्ने हो । एक पटकमा ७० वटा नमुनाको परीक्षण गर्न सकिन्छ । तर, जनशक्ति अभावले संकलित स्वाबहरुको परीक्षण हुन सकेको छैन । जसले गर्दा त्यहाँ ४ सयभन्दा बढी स्वाबहरु लाइनमा रहेको अवस्था छ । धौलागिरी त्यही अस्पताल हो, जहाँ गण्डकीकै पहिलो र दोस्रो संक्रमितको उपचार भएको थियो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा नै त्यहाँ पुगेर बिरामीलाई ढाडस मात्रै दिएका थिएनन्, अस्पतालको स्तरोन्नतिको लागि निर्देशन पनि दिएका थिए । उनको निर्देशन कार्यान्वयनमा पनि आयो । तर, जनशक्तिको अभावप्रति भने सरोकारवाला निकायहरु संवेदनशील बन्न सकेनन् । दुर्भाग्य यहीँनेर भयो ।
नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव छ । जति छन्, सहर केन्द्रीत छन् । दुर्गम गाउँमा जान नमान्ने र कथंकदाचि गएपनि केही समय बसेर फर्कने प्रवृत्तिले जरो गाडेको छ । यसो हुनुमा राज्यको नीति नै जिम्मेवार छ । नेपालमा स्वास्थ्य क्षेत्रको पढाइ नै महंगो छ । निजी कलेजहरु छोइसक्नुका छैनन् । लाखौं खर्च गरेर पढेकाहरु सुख्खा तलबमा दूरदराजका गाउँ जान नखोज्नुको कारण यही हो । यो कुरा सबैले बुझेका छन् तर बुझेर पनि बुझ पचाएको अवस्था छ । ससरकारले यतिबेला देशैभर स्वास्थ्यका पूर्वाधारहरु बनाउने घोषणा गरेको छ । पूर्वाधार मात्रै भएर केही हुँदैन त्यहाँ जनशक्ति पनि चाहिन्छ भन्ने कुरा जबसम्म बुझिँदैन, तबसम्म समस्या ज्यूँकात्यूँ रहन्छ । सुगम मानिएको बागलुङको अवस्था त यस्तो छ भने अन्य जिल्लाको अवस्था कस्तो होला ? सहजै कल्पना गर्न सकिन्छ । संकटको बेला लथालिङ्ग स्वास्थ्य प्रणालीको समस्या उजागर भएको छ । सरकारले यही बेला यहाँ भएका कमी कमजोरी सच्याउनुपर्छ । कम्तिमा पूर्वाधार भएको ठाउँमा दक्ष जनशक्ति पठाउने व्यवस्था गर्नुपर्छ । जनशक्ति उत्पादनको दायित्व सरकारले नै लिने र उनीहरुलाई तोकिएको ठाउँमा काममा लगाउने गर्नसके यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने बेलैमा बुझ्नुपर्छ । कम्तिमा संकटको यो घडीमा पीसीआर परीक्षण र सामान्य सिटामल खुवाउने जनशक्ति हरेक ठाउँमा पठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->