बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भोजभतेरले निम्तिएको संकट

भोजभतेरले निम्तिएको संकट


  • Dhorpatan News
  • जेष्ठ ६ २०७८, बिहिबार

देशभरका समाचार पढ्दा बैसाख महिनाभर कोरोनाको ग्राफ माथि उक्लनुमा भोजभतेर भएको प्रष्ट भैसकेको छ । त्यतिमात्र हैन भोज खाएकाहरुमै मृत्युदर पनि बढी छ । पहिला सामान्य जस्तो लाग्ने, पछि क्रमश गम्भिर भएर अस्पताल पुग्दा नपुग्दै, पुगिहालेपनि संभव नहुने अबस्थाले मृत्यु हुने गरेको देखिएको छ ।
गत चैतबाटै भारतमा अत्याधिक कोरोनाका संक्रमित बढेपछि त्यो नेपालमा पनि आउँछ भन्ने थाहा थियो । समयमा नाकाहरु बन्द भएनन् । त्यतिमात्र हैन, धमाधम गाउँ भित्रिएका प्रवासी दाजुभाइलाई हामीले सहजै स्वागत ग¥यौं । उनीहरुलाई कम्तिमा १०दिन क्वारेन्टाइन राख्ने योजना त बनेन, घरभित्रै बसिदेउ पनि भन्न सकेनौ । बरु उनीहरुसँगै चिया पसलमा गफ गर्न तर्फ लाग्यौं । राजधानी लगायतका सहरी क्षेत्रबाट दशैतिहार जस्तै गरेर फर्केका युवा, बिद्यार्थीलाईपनि हामीले रोक्न सकेनौं ।
राजधानीको बसपार्क मेलामहोत्सव जस्तो देखियो । बैसाख लाग्दा दर्जनौं बिवाहका उत्सवहरु भए । बिवाह उत्सवमा सयौं मानिस जन्ती हिडेको, गाडि रिर्जभ गरेको, नाचगान, भोजभतेरका तस्विर र भिडियो सामाजिक संजालमा छापिए । निशेधाज्ञा उलंघन गरेर पनि विवाह, चौरासी पूजा गर्न छाडिएन । बरु तस्बिर सार्वजनिक गर्न गर्व गर्नेहरु धेरै थिए । प्रशासन र जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले पनि वास्ता गरेन । सुरक्षाका रणनीति तय गर्ने बैठक बसेनन् । स्वास्थ्य मापदण्ड पालना पनि भएनन् ।
कोरोना संक्रमण गाउँ सम्म फैलियो । त्यसको पहिलो सिकार विवाह उत्सव मनाउनेहरु नै भैरहेका छन् । काठमाण्डौबाट आएको छोराले स्वास्थ्य मापदण्ड पालना नगर्दा घरमा बसेको बाबुले मृत्यु वरण गरेको छ । बिरामी भएको थाहा पाउँदापाउँदै विवाह गर्ने बेहुलाले दुइसातामै ज्यान गुमाएका छन् । प्रहरीले रोक्दा आँखा छलेर जन्ती हिडेकाहरु अहिले धमाधम संक्रमित भैरहेका छन् । श्वासप्रश्वासको समस्या भोगेर अस्पतालमा वेड नपाउने अबस्था भैरहेको छ । एकाघरका चारजनाले ज्यान गुमाउने अबस्था आएपछि बिवाह भोज अभिषाप भएको प्रष्टै बुझीन्छ । तरपनि छिटफुट रुपमा भेलाहुने, भोजभतेरमा रमाउने क्रम अझै रोकिएको छैन । राज्यले बनाएका स्वास्थ्य मापदण्डहरु पालना गर्न लापरबाही गर्दा दिनदिनै ज्यान गुमाउनेको संख्या बढीरहेको छ ।
राज्यले केही गरेन भनेर कराउने हाम्रो चलन बढी छ । तर राज्यले गरेन भन्दैमा आम जनताले लापरवाही गर्दा कसलाई घाटा हुन्छ ? भन्ने बुझ्न जरुरी छ । किनकी राज्यका लागि एकजना संक्रमित वा मृत्युको संख्या मात्रै थपिन्छ । मृत्यु हुने नागरिककालागि त्यो शतप्रतिशत हुन्छ । परिवार विक्षिप्त हुन्छ । कमाइको श्रोत टुट्छ र सिंगो परिवारले जीवनभर अभाव, गरिवी र पीडामा डुब्नुपर्ने अबस्था समेत आउँछ । त्यसैले अझैपनि हामीले सावधानी अपनाउनुपर्ने धेरै कुराहरुछन् । भोली लकडाउन खुला भएकै समयमा पनि जथाभावी भीड गर्ने, मापदण्ड पालना नगर्ने हाम्रा वानी अहिले देखिनै सुधार गर्न जरुरी छ । युरोप र चीनमा लकडाउन खुल्दापनि अत्यावस्यक नपरी मानिस भीडमा पुगेका छैनन् । ती स्थानमा अहिले संक्रमण नियन्त्रणमा छ । चीनले शुन्यजस्तै बनाइसकेको छ । अहिलेको सर्तकता भोलीकोलागि व्यक्तिगत र राष्ट्रको हितमा पनि हुन्छ भने अहिले केही दुःख र संयम अपनाउन किन ढीला गर्ने ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->