नेपाल प्रहरी अनुसन्धानको लागि दक्षिण एसियाकै उत्कृष्ट मानिन्छ । तर, पछिल्ला केही घटनाहरुका कारण नेपाल प्रहरीको व्यावसायिक दक्षतामाथि प्रश्नचिन्ह खडा भएको छ । निर्मला भट्टको बलात्कारपछि भएको हत्या प्रकरणका दोषी अझैसम्म पत्ता लागेको छैन। बलात्कारी २–४ दिनमै पत्ता लाग्छ भन्दै गरिएको दावी मिथ्या सावित भएको छ । परिवारजनहरुको न्यायको प्रतीक्षामा छन् तर अनुनसन्धान गर्ने प्रहरी ‘कुहिराको काग’ बनिरहेको छ । बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई सामान्य परिघटनाको रुपमा लिएर गृहमन्त्री रामबहादुर थापा जति आलोचित भए, अनुसन्धान निष्कर्षमा पु¥याउन असफल हुँदा प्रहरी पनि उत्तिकै आलोचित बनेको छ । प्रहरीप्रतिको भरोसामा प्रश्नचिन्ह खडा भएको छ । कास्कीकै हकमा पनि २ वटा घटनालाई प्रहरीले सामान्यरुपमा लिएको पाइएको छ । गएको माघमा महतगौंडामा भएको गोलीकाण्ड र वैशाख पहिलो साता लेकसाइडमा भएको हत्या प्रकरणलाई प्रहरीले घटना नै मानेनन ।कतिसम्म भने पहिलो घटनामा आफूलाई गोली लागेको वयान दिँदा पनि प्रहरीले पत्याएन भने दोस्रो घटनामा नुभिभ उप्रेतीको हत्या भएको जाहेरी लिन पनि आनाकानी गरिदियो । यी दुुबै घटनामा प्रहरीले देखाएको व्यवहार आफैमा उदेकलाग्दो देखिएको छ ।यी घटनाले प्रहरीको व्यावसायिक दक्षता,कर्तव्यपरायणता एवं निष्पक्षतामाथि शंका उत्पन्न भएको छ ।
शान्ति सुरक्षाको जिम्मा प्रहरीकै हो । प्रहरी जनताको नजिकको साथी पनि हो । समाजमा अमन चयन कायम गराउन प्रहरी हरदम चनाखो हुनुपर्छ । घटनालाई विभिन्न कोणबाट हेर्ने, अपराधीलाई कठघरामा उभ्याउने काममा प्रहरीकै हो । सदा चनाखो हुनु,दूधको दूध र पानीको पानी छुट्टयाउने धर्मबाट प्रहरी च्यूत हुँदा समाजमा अमनचयन कायम हुन सक्दैन । पछिल्ला घटनाहरुमा प्रहरीले जेजस्ता व्यवहार देखाएको छ, ती सुहाउँदा र स्वभाविक छैनन् । प्रहरीले आफ्नो निष्ठा र कर्तव्य बिर्सिएको घटनाको रुपमा यी दर्ज भएका छन् । यसले सिंगो प्रहरी संगठनको शाख गिराएको छ । पछिल्लो समय नेपाल प्रहरीले व्यवसायिक धर्म बिर्सिदै गएको भान भएको छ । प्रहरी संगठनभित्र राजनीति हावी हुँदा यो स्थिति आएकोमा कुनै शंका छैन तर त्यही निहुँमा आफ्नो कर्र्तव्यबाट च्यूत हुने अधिकार प्रहरीसँग छैन । प्रहरीले व्यावसायिक धर्म निर्वाह गर्नैपर्छ । संगठनलाई चुस्त–दुरुस्त बनाउनैपर्छ अनि गिर्दो शाखलाई माथि उकास्ने प्रयत्न गरिनुपर्छ । भ्रष्टाचार, लोभ लालच र पक्षधरताका कारण बदनाम भएको प्रहरी अनुसन्धानमा पनि चुक्दा समाज असुरक्षित बन्छ । प्रहरीप्रतिको विश्वास तिरोहित हुन्छ भन्ने कुरा स्वयं प्रहरीले नै मनन गर्नुपर्छ । पारदर्शी सूचना प्रणाली,जनमैत्री व्यवहार र दक्षता अभिवृद्धितर्फ प्रहरीले ध्यान दिनैपर्छ । मुखले मुस्कानसहितको सेवा भन्ने तर व्यवहार विपरित गर्ने, अनुसन्धानमा लापरबाही देखाउने एवं अमुक शक्तिकेन्द्रको पूजा गर्ने परिपार्टीले सिंगो संगठन नै धरासायी हुनसक्नेतर्फ बेलैमा ध्यान दिनुपर्छ ।
