गत बर्षको कोरोना संक्रमणमा संक्रमित भए लगत्तै अस्पताल वा सस्थागत आइसोलेसनमा लगेर उपचार गरिन्थ्यो । संक्रमणको दर थोरै थियो । बाहिरबाट आएका मानिस क्वारेन्टाइनमा राखिन्थ्यो । त्यहीं उनीहरुको पीसीआर गरेर पोजेटिभ आएमा आइसोलेसन र नेगेटिभ आएमा घर जान पाउने व्यवस्था भएको थियो । त्यसैले गत बर्षको कोरोना संक्रमण कन्ट्रोलमा थियो ।
कोरोनाको दोश्रो लहरमा भने समयमा लकडाउन भएन । देश बाहिर र सहरी क्षेत्रबाट गाउँगाउँमा धेरै मानिस भित्रिए । उनीहरको लेखाजोखा राखिएन । क्वारेन्टाइन, होल्डिङ सेन्टर र संस्थागत रुपमा कुनैपनि अन्य खोजीका संयन्त्र बनेनन् । जसका कारण एकैदिन हजारौं मानिसमा संक्रमण पुष्टी देखिन थालेको छ । गत बर्ष संक्रमण मात्रै थियो । अहिले लक्षण सहितका छन् । धेरै बिरामी छन् । कैयौंलाई श्वासप्रश्वासको समस्या छ ।
हजारौं मानिसलाई संस्थागत आइसोलेसनमा लैजान सक्ने क्षमता नेपालको कुनैपनि स्थानमा थिएन । त्यसैले घरघरमा सुरक्षित बस्न लगाइयो । घरमा बस्दा केही फाइदा छन् । अस्पतालमा बस्दा बिरामीलाई एक्लो महसुस हुन्छ । आइसोलेसनमा कोही जान नमिल्ने भएपछि खाने, शौचालय जाने लगायतका समस्या बढी हुन्छन् । उनीहरुमा आउने जटिल समस्या बारे तत्काल सूचना पुग्दैन । आफन्त सधैभरी अस्पतालमा कुरेर बस्न नपाउने हुँदा अस्पतालमा बसेका संक्रमित बढी समस्यामा पर्ने, बिस्तारै निरास र कमजोर भएर मृत्यु सम्म पुग्ने गरेको छ ।
घरमा बस्नेले भने परिवारकै साथमा बस्न पाउने । परिवारका सदस्यले पकाएर खुवाउँदा आत्म सन्तुष्टी हुने र उनीहरुको बढी हेरचाह पुग्ने गरेको भेटिएको छ । घरमा बसेकै कारण धेरैले सजिलै कोरोना जितेका छन् । त्यसैले होम आइसोलेसन प्रभावकारी बन्दै गएको छ । होम आइसोलेसनमा बस्दा संक्रमितले आँफू बिरामी भएको चिन्ता समेत लिन नपर्ने अबस्था छ । सामान्य अबस्थाबाटै संक्रमण मुक्त हुन पाउँदा संक्रमितमा हौसला थपिएको देखिन्छ ।
तर घरमा बस्दापनि अक्सिजनको अबस्था थाहा पाउने, अन्य समस्या आएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिने काम भने गर्नुपर्नेछ । कतिपयले चासो नराखेको, संक्रमित भएको भन्ने जानकारी नै दिन नखोजेको कारणले कतिपय सिकिस्त बनेका छन् । सिकिस्त बिरामी हुने बेला सम्म घरमै बस्नकालागि भने होम आइसोलेसन बनेको होइन् ।
ग्रामीण क्षेत्रमा होम आइसोलेसन भनेको कोठा भित्रै बस्न पाउने अबस्था हुँदैन । गाउँमा शौचालय फरक फरक छैन । एकाघरको एक शौचालयलाई सबैले प्रयोग गर्दा कतै गाउँमा संक्रमण फैलिएको त छैन ? घरमै बसेको भन्ने, गाउँमा प्रहरी पुग्दैन भनेर लखरलखर हिड्ने प्रवृत्तिले भने घरघरमा संक्रमण पुगेको हो । बिबाह लगायतका भोजभतेर एकातिर संक्रमण फैलाउने माध्यम थियो भने अहिले संक्रमित भएर जथाभावी डुल्ने र मापदण्ड पालना नगर्ने प्रवृत्तिले थप फैलिने माध्यम बनेको छ । ग्रामीण क्षेत्रमा शौचालय फरक नहुनुले पनि समस्या निम्त्याएको देखिन्छ । त्यसैले अबका दिनमा सुरक्षित घरमा बस्ने, समस्या आएमा तत्काल सूचना दिने र संक्रमित भएकाहरुले रोग लुकाउने भन्दा समयमा उपचारमा जाने वातावरण बनोस् । स्वास्थ्य संस्थाहरुले पनि होम आइसोलेसनलाई उचित अनुगमन गरुन् । त्यसैबाटै छिटो कोरोना जित्ने आधार बन्नेछ ।
