
धनगढी, १२ जेठ – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।
नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बुधबारको बैठकले स्थायी कमिटीलाई चुनौती दिंदै माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

तस्वीरः सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय, धनगढी ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा नेता माधव नेपाल पक्षका १७ जना र अध्यक्ष केपि ओली पक्षका ४ जना सांसदको सहभागिता थियो । नेपाल पक्षका १ जना र ओली पक्षका ३ वाहिर भएकाले वैठकमा सहभागी भएका थिएनन् ।
सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । तीनै जना माधवकुमार नेपाल पक्षका हुन् ।





