हरेक बर्षझै यो बर्षपनि नेपालको बजेट आएको छ । आगामी आर्थिक बर्षदेखि लागू हुने गरी आएको बजेट अघिल्ला बर्ष भन्दा राम्रो भएको प्रतिक्रियाहरु आएका छन् । त्यसैले आम नागरिक तहमा पनि यो बर्षको बजेटले सकारात्मक सन्देश छाड्न सकेको छ ।
सामाजिक सुरक्षा भत्ता बढ्नु, स्वास्थ्य र शिक्षाको क्षेत्रमा बजेटको राम्रो बढोत्तरीले संविधानले लिएका मौलीक हक कार्यान्वयनमा सहज बन्दै गएको छ । निशुल्क स्वास्थ्यको अधिकार प्राप्ती तथा कोरोना नियन्त्रण व्यवस्थापनमा बजेटले राम्रो सम्बोधन गरेको छ । रकममा बढेझै राज्यका सबै संयन्त्रहरु पनि सक्रिय बन्नुपर्छ तव मात्र कोरोना नियन्त्रण प्रभावकारी हुनेछ ।
त्यतिमात्र हैन कोरोना नियन्त्रणकालागि बजेट बिनियोजन मात्र भएर पनि पुग्दैन । नेपालका गाउँगाउँका स्वास्थ्य संस्थामा अहिलेपनि दक्ष जनशक्ती अभाव छ । बिज्ञ अस्पताल भनेर घोषणा गरेपनि दरबन्दी नभएपछि जनताले सेवा पाउन सक्दैनन् । बागलुङको बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने दशक अघिको तयारी अहिले सम्म पुरा भएको छैन । अहिलेको बजेटले पनि संस्थागत रुपमा जिल्ला अस्पताल घोषणा र कार्यान्वयनमा कुनै कार्यक्रम राखेको देखिएको छैन । जसका कारण निशुल्क पाउने औषधी सेवा देखि अनिवार्य डाक्टर र नर्स रहने व्यवस्थापनमा चुनौती देखिएको छ । संस्थागत रुपमा स्थापित नभएपछि मौका परेको बेला जुट्ने एकादुइ डाक्टरनर्सले उपचार सेवा प्रभावकारी बनाउन सक्दैनन् ।
त्यतिमात्र हैन धौलागिरि अस्पताल जस्तो उपप्रादेशिक बन्दै गरेको अस्पतालमा समेत अझै दुइसय बेड बनाउने योजना अगाडि बढीसकेको छैन । भवन एउटा पाटो हो । तर बेड राख्दैमा उपचार हुनेपनि होइन । किनकी दक्ष जनशक्ती नियमित बस्ने वातावरण बन्नुपर्छ । जनशक्ती अभावमा बेडमा बिरामी भर्ना गरेर मात्र उपचार हुन सक्दैन । बढेको बजेटले कुन बिषयमा काम गर्ने हो त्यो यकिन छैन । तर दक्ष जनशक्तीको दरबन्दी कायम गर्ने, आएका जनशक्ती कम्तिमा दुइ बर्ष बस्ने वातावरण बनाउने हुनुपर्छ । व्यस्थापनले पनि सरुवा हुनैलागेका जनशक्तीको स्थानमा तत्काल पदपुर्ति हुन्छ हुँदैन भन्ने चासो राख्नुपर्छ । गइसकेपछि खोज्ने भन्दा दुइचार दिन अघिनै आउनेले जान लागेको जनशक्तीबाट व्यवस्थापन र कामबारे सिक्ने अबसर पाओस् ।
नेपालको स्वास्थ्य क्षेत्र कति कमजोर रहेछ भन्ने कुरा कोरोनाले मात्रै सम्झाइदिएको छ । अहिले पनि कयौं अस्पतालहरु बन्द गरेर बसेका छन् । सामान्य अबस्थामा बिरामी भर्ना गरेर लाखौं असुल गर्ने काम मात्रै गरेकालाई महामारीको बेला खटिएर जनताको स्वास्थ्यमा योगदान गर्ने अबसर उनीहरुले गुमाएका छन् । अर्थात सजिलो समयमा मात्रै अस्पतालको रुपमा चिनिने क्रम बढीछ । सरकारी अस्पतालहरुले यो बेला दिएको डेलिभरीलाई सबैले सम्मान गर्नुपर्छ । तर भोलीका दिनमा फेरी बिर्सेर अलपत्र छाड्ने काम गर्नुृहुँदैन ।
बजेटले समग्रमा दिएको सन्देशलाई अब कार्यक्रम दिएर सक्षम बनाउनुपर्छ । साथै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको बजेटलाई बढाउँदै लगेर जनताको स्वास्थ्य राज्यको दायित्वमा राख्दा जनता धनी बन्ने क्रम सुरु हुन्छ । किनकी जनताले जीवनभर कमाएको पैसा कुनै महामारी र जटिल रोग लाग्नासाथ सकिएर फेरी सुकुम्बासी बन्ने अबस्था रहेसम्म देशको बिकास र जनताको उन्नतीकोलागि भाषण गर्नुको औचित्य रहनेछैन ।
