प्रकृतिसँगको निर्भरता शाश्वत सत्य हो । यो सत्यबाट धरामा रहेका कोहीपनि भाग्न सक्दैन । आत्मा, जिवात्मा र परमात्मा सबै प्रकृतिको सानिध्यतामै हुन्छन् भन्ने विश्वास गरिन्छ । धरामै जन्मेर धरामै विसर्जन हुने मानवीय चोला त यसैपनि प्रकृतिभन्दा पृथक रहन सक्दैन । मानव स्वभावैले प्रकृतिपूजक हो । मानवमात्रै किन ? धरामा रहेका सबैजसो प्राणीहरु प्रकृतिसँग एकाकार हुन्छन्÷ कुनै न कुनै रुपले प्रकृतिसँग जीवनको लय अनि ताल मिलाउँछन् र जीवन अघि बढाउँछन् । जो प्रकृतिसँग एकाकार हुन सक्दैनन्, प्रकृतिको गति बुझ्दैनन्, उनीहरु कि कष्ठपूर्ण जीवन जिउँछन् कि त नाश नै हुन्छन् । यही कारण,पूर्वीय दर्शनले पृथ्वीमात्र नभएर अन्तरिक्ष र पातालसम्मको शान्तिको कामना गरेका थिए । प्रकृतिलाई शान्त राख्न सकिएन भने, अन्तरिक्षदेखि पातालसम्मको पर्यावरण बिग्रियो भने त्यसले समग्र मानव जीवन तहसनहस बनाउँछ भन्ने उनीहरुले बुझेका थिए । आधुनिक विज्ञानले पनि यो सत्य अस्वीकार गरेको छैन । पर्यावरण बिग्रनु पृथ्वीको आयू छोटिनुमात्रै हैन, आश्रित जीवहरुको जीवन संकट उत्पन्न हुनुपनि हो भन्ने सत्यलाई स्वीकार गरेको छ । बिज्ञानभध्येमा पनि वातावरण बिज्ञानको महत्व ठूलो हो भन्ने सबैले स्वीकारेको विषय हो । तर, वातावरणीय असन्तुलन र प्रकृतिमाथिको अति दोहन यस्तो डरलाग्दो छ कि, पृथ्वीको अस्तित्व नै संकटापन्न बन्न पुगेको छ ।
आधुनिक विश्वमा अंग्रेजी पात्रोको जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाइन्छ । यो वर्ष पनि जुन ५ मा विविध कार्यक्रमहरु तय गरिए । राष्ट्राध्यक्षदेखि प्रधानमन्त्रीसम्मले शुभकामनामा केही शब्द खर्चिए । पर्यावरणीय सन्तुलनको कुरा उठाए र वातावरण संरक्षणप्रति प्रतिवद्धता जनाए ।तर, दुर्भाग्यका साथ भन्नुपर्छ, हिमाली राज्य नेपाल तीव्र वातावरणीय विनाशको चपेटमा परेको छ । राज्य संरक्षितदेखि अनधिकृत तवरले भएका दोहनले यहाँको वन,जल र जमिन नै संकटमा परेको छ । वातावरणीय मूल्याङ्कन बिना प्रकृतिमाथि गरिएको दोहनले अतिवृष्टि, अनावृष्टि, बाढी–पहिरोबाट ठूलो धनजनको क्षति हुँदै आएको छ । अर्कोतर्फ, पानीका मुहानहरु सुक्दै गएका छन् । बिग्रँदो वातावरणको प्रभाव हिमालसम्म परेको छ । यी र यस्ता गलत क्रियाकलापमा बन्देज लगाउनुको सट्टा राज्य यतिबेला चुरे दोहन गर्दै व्यापार घाटा कम गराउने उद्घोष गरिरहेको छ ।
हो, प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग गर्नुपर्छ । नयाँ सोच र सृजना : प्राकृतिक प्रणालीको पुनःस्थापना’ नारासहित विश्व वातावरण दिवस मनाइरहँदा भएका स्रोतहरुमाथि गिद्धेदृष्टि परेको छ । अर्कोतर्फ, अजैविक बस्तुहरुको दोहनले जैविक चक्र बिग्रन्छ भन्ने ख्याल नै गरिएको छैन । सिमसार क्षेत्रको संरक्षण, कार्वन उत्सर्जनमा कडाइ एवं सरल भाषामा भन्दा हाम्रो कृषि प्रणालीलाई बिग्रँदो वातावरणले पारेको प्रभावको नजरअन्दाज गरिएको छ । आउँदो पुस्तालाई सुरक्षित घर छाड्ने त परको कुरा, यही पुस्ताले दुःख पाउने गरी स्रोतको दोहन गरिएको छ । यी गलत काम नरोकिए आउँदा दिनहरु झन कष्टपूर्ण हुनेमा कुनै द्धिविधा छैन । वातावरण दिवसको दिन झारा टार्ने किसिमले वक्तव्य दिनेहरुले बेलैमा यतातिर ध्यान दिनुपर्ने देखिएको छ । प्रकृतिको आवाज सुने धेरै राम्रो, कम्तिमा आँखाले देखिने दोहन रोक्ने नीति चाहिएको छ ।
