पोखरा, ३१ जेठ – पोखरामा भएको १३ औं सागको रकम हिनामिना भएको छ । पाउनुपर्ने बिलमा पनि फर्जी बनाएर चलखेल भइरहेको पाइएको हो । परिषद्ले सोझै अख्तियारीसहित रकम पठाउँदा अनियमितता हुने देखिएको हो । एउटै शीर्षकमा पटकपटक बजेट माग गरिएकोसमेत खुलेको छ ।
परिषद्ले साग अन्तर्गतका केही संघलाई मात्र रकम दिनुपर्ने भए पनि करिब २ करोड रुपैयाँ पाउन बाँकी रहेको कुरा बारम्बार बाहिर आए । तर, आउनुपर्ने रकम भने फर्जी बिल बनाएर खाने चलखेल भएको देखिएको छ । चलखेलमा परिषद्कै बोर्ड सदस्य राजेश गुरुङको संलग्नता देखिएको छ ।
१३ औं सागका कारण पोखरा रंगशालाको पूर्वाधारले गति लिएको छ । तर, त्यहाँ बनिसकेका पूर्वाधारका नाममा पनि पटकपटक रकम माग गरिएको छ । यसको एउटा उदाहरण हो, पोखरा लेकसाइडमा बनेको बिच भलिबल कोर्ट ।
सागअन्तर्गतको बिच भलिबलका लागि लेकसाइडमा मैदान बनाएर खेल खेलाइएको थियो । उक्त खेलको सबै रकम निकासा भई खाता पनि बन्द भइसकेको छ । तर, बोर्ड सदस्य गुरुङकै अनुरोधमा पुनः रकम हालिएको साग अन्तर्गतको बिच भलिबल सम्पन्न गर्न गठित समितिका एक पदाधिकारी बताउँछन् । ‘सबै हिसाबकिताब पहिले नै क्लियर भइसकेको हो । तर, अहिले फेरि पुरानै शीर्षकमा रकम आएको छ,’ ती पदाधिकारीले भने ।
रंगशालाभित्र आन्तरिक द्वन्द्व बढेपछि यस्तो कुरा बाहिर आएको हो । परिषद्का बोर्ड सदस्य गुरुङले गण्डकी प्रदेशमा परिषद् मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण गर्ने जिम्मा पाएपश्चात आन्तरिक विवाद सुरु भएको हो । उनलाई परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालले जिम्मेवारी सुम्पिएका थिए ।
गुरुङले राष्ट्रिय खेलकुद परिषद्को पत्रको आडमा क्षेत्रीय खेलकुददेखि जिल्ला खेलकुदसम्मका पदाधिकारी बस्ने कोठासमेत कब्जा गरेका थिए । उनका कारण करिब एक हप्तासम्म पदाधिकारी बाहिरै बस्न बाध्य भएका थिए । उनले मनोमानी गर्न थालेपछि उनी निकट कर्मचारी र पदाधिकारीसमेत रुष्ट बन्न थालेका छन् ।
एक खेल पदाधिकारीले नाम नबताउने सर्तमा हालै परिषद्बाट आएको रकममध्ये पोखरा रंगशाला परिसर मर्मत विषयमा विनियोजन भएको रकम अर्थहीन भएको बताए । ‘आएको रकम मिलाएर खाने हो केके बिल बनाऔं,’ गुरुङको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ‘यो ८ लाख चोखो रकम हो, यो मिलाएर खाऊँ एक जनाको भागमा डेढ÷दुई लाख रुपैयाँ पर्छ ।’ खेलकुदको रकम हिनामिना गर्न नहुने बताउँदै नकारेको उनले दाबी गरे ।
यस्तै अर्का खेलकर्मीले जेठ ९ गते पठाएको रकम १३ औं सागको समयमा खर्च भएको भन्दै विभिन्न बाहानामा राष्ट्रिय खेलकुद परिषद्बाट रकम निकासा गर्दै खाने पक्षमा परिषद् बोर्ड सदस्य गुरुङ देखिएको आरोप लगाए । ‘हुँदै नभएको बिल बनाउँदै रकम खाने चलखेल देखिएको छ,’ उनले भने, ‘राखेपले पनि त्यसरी नै पठाएको छ । यहाँ मिलेर सबै कोल्याप्स हुँदैछ ।’
राष्ट्रिय खेलकुद परिषदले जेठ ९ गते ६ वटा शीर्षकमा गरी ८२ लाख रुपैयाँ क्षेत्रीय खेलकुद विकास समितिको खातामा पठाएको छ । परिषद्ले सम्पूर्ण अख्तियारीसहित रकम पठाइएको पत्राचार गरेको छ । ‘पत्रानुसार पोखरामै विल मिलाएर भुक्तानी गर भन्ने देखिन्छ । अहिले पनि वैकल्पिक फुटबल मैदान निमार्णको लागि भनेर आयो । पहिलेकै मैदानलाई सम्याएर माटो समेत क्रिकेट मैदानकै हालेर त्यत्रो खर्च कसरी भयो ?’ स्रोतको प्रश्न छ । बिच भलिबलको समेत ७ लाख फर्जी बिलको भरमा खल्तीमा जाने उनले बताए । यतिमात्र होइन गुरुङले सिसिटिभि राख्नेलाई समेत ५ लाख रुपैयाँ मागेका थिए । पार्केटिङ ठेकेदारसँगसमेत रकम मागेका आरोप लगाए ।
बिच भलिबलको सबै रकम आएको हो : संयोजक पराजुली
१३ औ सागमा पोखरामा आयोजना भएको विच भलिबलको सम्पूर्ण रकम भुक्तानी भइसके पनि पुनः रकम आएको छ । कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं विच भलिबलका संयोजक रहेका भीम पराजुलीले ५७ लाख पेश गरेकोमा कर कट्टा हुँदै ५१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरको उनले जानकारी दिए ।
पोखरा ६ लेकसाइडमा भएको बिच भलिबलको सम्पूर्ण खर्चसमेत परिषद्मा पठाइ रकम समेत आइसकेपछि पनि फेरि सोही शीर्षमा रकम निकासा हुनु अनियमितता देखिन्छ । ‘हामीले ५७ लाख रुपैयाँको विवरण भठाएका हा । सोहीअनुसार करकट्टी हुँदै पाउनुपर्ने रकम आइसकेको छ,’ संयोजक पराजुलीले भने, ‘तर संयोजकलाई नै थाहै नदिई हाल थप ७ लाख रुपैयाँ आएको छ । सो रकम यसै आएको देखिएको छ ।’ उनले परिषद्ले बिच भलिबल भेन्यु निमार्ण शीर्षकमा वजेट विनियोजन गरेको खुलाए ।
पूरा भएको मैदानमा पनि फेरि बजेट ?
पोखरा रंगशाला परिसर भित्र बनाइएको वैकल्पिक मैदानको लागि ९० लाख छुट्टिएको थियो । १३ औं सागको समयमा उक्त वैकल्पिक मैदान निमार्ण गर्दा चारैतर्फ पर्खाल लगाउनेदेखि माटो होल्नेसम्मका काम भयो । पछि ९० लाखबाट कटौती गर्दै ३५ लाखको काम गरियो । मैदान सम्याउनेदेखि घाँस लगाउनेसम्मका काम सकिए ।
मैदानको लागि माटो भने नजिकै रहेको क्रिकेट रंगशालाबाट ल्याएर हालियो । क्रिकेटसंघले ९० हजार रुपैयाँ खर्च गरेर मैदान सम्याएको थियो । सोही मैदानको माटो वैकल्पिक मैदानमा हालिएको थियो ।
वैकल्पिक मैदानको लागि माटो भने निशुल्क हालिएको हो । माटो हाल्नका लागि पोखरा महानगरले टिपरको समेत व्यवस्था गरेको थियो । तर, फेरि मैदानकै नाममा बजेट आउँदा फुटबलकर्मीहरु भने अच्चम्ममा परेका छन् । परिषद्ले वैकल्पिक मैदानको लागि भन्दै ५ लाख दिएको छ ।
३५ लाख छुट्टिएको मैदानको काम २० लाखमा सम्पन्न भइसकेको अवस्थामा समेत थप ५ लाख आएको हो । उक्त वैकल्पिक मैदान निमार्णको क्रममा तिर्नुपर्ने भन्दै रकम माग गरिएको खुल्न आएको हो । तर, गम्भीर विषय के हो भने गुरुङ नेतृत्वको टिमले उपभोक्ता समितिलाई नै थाहा नदिई सम्पूर्ण बिलसमेत भरपाई गरेको पाइएको हो । ‘बिल भरपाइमा समितिका पदाधिकारीको हस्ताक्षर समेत छैन । याबारे हामीलाई जानकारी पनि छैन,’ उपभोक्ता समितिका एक पदाधिकारीले भने ।





