बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चुनौतिको चाङमाथि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

चुनौतिको चाङमाथि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली


  • ३१ जेठ २०७८
  • जेष्ठ ३१ २०७८, सोमबार

२०७४ साल माघ २२ गते सम्झने हो भने, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीमाथि स्वयंको अपेक्षा विपरीत गण्डकीको मुख्यमन्त्रीको जिम्मेवारी आइपुगेको छ । जनताले बलियो प्रतिपक्षी बनाएर पठाएका उनी संसदीय राजनीतिले दिशा परिवर्तन गर्दा मुख्यमन्त्री बन्न पुगेका छन् । संसदको सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर उनी नेतृत्वमा ५ वटा समूहको मोर्चाले उनलाई सत्तामा पु¥याएको हो । आलोचना गर्ने र खोट देखाउने ठाउँबाट एकाएक कार्यकारी भूमिका सम्हाल्दाको असजिलो बुझ्न उनलाई समय लाग्ला तर जिम्मेवारीबाट पन्छने छुट उनीसँग छैन ।
। मुख्यमन्त्रीको रुपमा उनी मोर्चाका नेता हुन् । सरकारका कार्यकारी हुन् र प्रदेशका जनताका अभिभावक पनि हुन् । सदनमा विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्थाकै बीच असार १ गते बजेट अनि नीति तथा कार्यक्रम तयार गर्नुपर्ने दायित्व उनीमाथि नै आएको छ । गठबन्धनका मोर्चाहरुलाई हैसियत र माग अनुसारको पद बाँडफाँड गर्दै सरकारको गति बढाउने विषयलाई राजनीतिक विषय मान्ने हो भनेपनि कोभिडको महामारीबाट पीडित जनताको त्राण भर्नुपर्ने उनीसामु पहिलो आवश्यकता छ । समग्रमा कृष्णचन्द्र नेतृत्वको सरकार असारे माचोमै छ । समय छोटो छ । छोटो समयमा आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यता छ तर अनुभवको कमी छ ।
बोल्नु र कार्यान्वयन गर्नु फरक कुरा हुन् । बोलेजस्तो सजिलो हैन, कार्यसम्पादन । कार्यसम्पादनमा खरो उत्रन दूरदर्शीता,समन्वयकारी भूमिका, विषयबस्तुमाथि दरिलो पकड र दृढ इच्छाशक्ति चाहिन्छ । अक्सर मान्छेहरु अर्काको कामको आलोचना गर्छन् तर आफू नै सो भूमिकामा हुँदा चाहिँ कार्यान्वयनमा चुक्ने गर्छन् । राजनीतिमा यो रोग अझ बढी पाइन्छ । कार्यान्वयनमा आउनै नसक्ने नारा फलाक्ने, सपनाको खेती गर्ने तर व्यवहारमा विपरित व्यवहार गर्नु राजनीतिज्ञको धर्मजस्तै बनेको छ । धेरै कम राजनीतिज्ञहरुमात्र यो प्रवृत्तिभन्दा माथि उठेका छन् ।
समयक्रमले कृष्णचन्द्र र गठबन्धन यही कठोर परीक्षा दिने अवस्थामा आएको छ । आफैले रोजेको यो बाटो कठिन भएको मुख्यमन्त्रीले बुझेकै हुनुपर्छ । चुनौतिको चाङमाथि उभिइरहँदा कृष्णचन्द्रको सरकारले सर्वप्रथम हिजो आफूले बोलेका कुराहरु सम्झनुपर्ने भएको छ । प्रतिपक्षी हुँदा जे दोष देखाइएको थियो, त्यहीँबाट सुधारको थालनी गर्ने अवसर आफ्नो हातमा आएको मनन गर्नुपर्ने भएको छ । कोभिड महामारीसँग जुध्नको लागि गतिलो योजना, सुशासन र पारदर्शीताका साथै गठबन्धनलाई एकढिक्का बनाउन सकेमात्र आफू सफल हुन्छु भन्ने उनले बुझ्नैपर्छ । समयले दिएको अवसरलाई जिम्मेवारी ठान्दै खरो उत्रनको लागि उनले आलोचना सुन्ने, बलियो विपक्षको चित्त बुझाउने तथा जनतासँग एकाकार हुनैपर्छ । चुनौतिसँग डराएर हैन, सामना गरेर अगडि बढ्नुबाहेक उनीसँग विकल्प छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->