पोखरामा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा व्यापक अनियमितता भएको पाइएको छ । साग सकिएपछि पनि पूर्वाधार निर्माणमा खर्च भएको रकम निकासा हुन सकेको छैन । पूर्वाधार निर्माणमा संलग्न कम्पनीहरुले अहिले पनि भुक्तानी पाएका छैनन् । अर्कोतिर, सागको लागि आएको रकम हिनामिना भएको पाइएको छ । अनियमिततामा राष्ट्रिय खेलकुद परिषद्कै पदाधिकारीहरुको संलग्नताका खबरहरु झन डरलाग्दो देखिएका छन् । बजेट निकासा हुने तर, फर्जी बिल बनाएर बाँडीचुँडी खाने प्रवृत्तिले खेलकुदजस्तो क्षेत्रलाई बदनाम बनाएको छ । केही समय खेलकुदमन्त्रीको जिम्मेवारी पाएका राजीव गुरुङले खेलकुदकै पदाधिकारीहरु संलग्न भएको घोषणा नै गरिदिएका छन् । उनको घोषणाले भ्रष्टाचार भएको पुष्टि गरेको छ । उनले आरोपित गरेका व्यक्तिहरुले पूर्वमन्त्रीको भनाइको खण्डन त गरेका छन् तर त्यतिले मात्रै पुग्ने देखिएको छैन । खेलकुदमा भएको मिलेमेतोबारे खेल पदाधिकारीहरुले नै मुख खोलेको बेला, उपभोक्ता समितिहरुले आफूले भुक्तानी नलिएको जानकारी दिइरहँदाको अवस्था आफैमा गम्भीर छ ।
खेलकुद क्षेत्र कार्यकर्ता भर्तिकेन्द्र बनेको अवस्था छ । सत्ताधारी पार्टीले खेलकुदलाई कमाइखाने भाँडो बनाउँदै आएको छ । खेलकुद नै नबुझेका व्यक्तिहरुलाई जागिर खुवाउन र भ्रष्टाचार गर्न त्यहाँ पठाइने गरिएको छ । यसले गर्दा खेलकुद क्षेत्र बदनाम भएको छ । यो बदनामीबाट खेलकुदलाई मुक्त गराउनुपर्छ ।
१३ औँ सागले पोखराको खेलकुद क्षेत्रले पूर्वाधार पायो । केही गतिला र देखिने पूर्वाधारहरु निर्माण भए । खेलप्रेमीहरु खुसी भए तर खेलकुद क्षेत्रभित्र मौलाएको विकृतिको खबरले ती उपलब्धीहरु नै छायाँमा पारेको छ । एउटै कामको लागि २–३ पटकसम्म रकम निकासा गर्ने, काम नै नभएको ठाउँको रकम माग गरिनुजस्ता क्रियाकलापहरु खेलकुदको लागि सुहाउने विषय हैनन् । खेलकुदमा लाग्नेहरु स्वच्छ चरित्रका हुन्छन् भन्ने मान्यताविपरीत गरिएका यस्ता कामको जति भत्र्सना गरेपनि कम हुन्छ । सुन्दर संरचनाहरुले गल्तीलाई ढाक्न सकिँदैन । शक्तिकेन्द्रको आडमा राज्यको सम्पत्ति हडप्नु जघन्य अपराध हो । यो अपराधको स्वतन्त्र छानबिन गरिनुपर्छ । गल्ती गर्नेहरुले उन्मुक्ति पाउने गरी कुनै क्रियाकलाप हुनु हुँदैन । राज्यकोषको दोहन गर्ने छुट कसैलाई छैन ।
