मनसुनको शुरुवातमै बाढी र पहिरोले जनजीवन त्रसित बनेका छन् । कयौं मानिस बाढीको जोखिममा रात काट्न बाध्य छन् भने पहिरोले बगाउने चिन्ता पनि उत्तिकै छ । हरेक बर्ष बाढी र पहिरोले पु¥याउने क्षती बढेको छ ।
हिमालपारी मनाङ र मुस्ताङ सामान्य पानी पर्दा पनि सडक अवरुद्ध हुन पुग्छ । सडक सञ्जालबाट यी जिल्लाहरु टुट्न जान्छन् । यस्तै, बाग्लुङ, पर्वत, म्याग्दी, कास्की, लमजुङ, तनहुँ जस्ता जिल्लाहरुमा पनि पछिल्लो समय बाढी पहिरोले पु¥याउने जनधनको क्षती बढेको छ । बर्षेनी क्षती बढ्दै गएपनि राज्यका अंगहरु बाढी पहिरोको महामारी देख्न रुचाउँदैनन् ।
हिमालपारी मनाङमा मंगलबार मात्रै सदरमुकाम चामे बाढीले अस्तव्यस्त बनेको छ । चामेमा ६ घर भत्किएको छ भने झण्डै ३ सय जना विस्थापित भएर कारागार भवनको शरणमा पुगेका छन् । रातभरीको बाढीले थप कति क्षेती पु¥याउने हो एकिन छैन ।
मनाङकै ताल गाउँलाई अहिले मस्र्याङ्दी नदीले चुर्लुम्म डुबाएको छ । मस्र्याङ्दी नदी उर्लिदा डुबेको ताल गाउँ अहिले सम्पर्कविहिन छ । बाटो अवरुद्ध भएर मात्रै होइन, टेलिफोन समेत अवरुद्ध हुन पुग्दा त्यहाका मानिसले कसरी ज्यान जोगाइराखेका छन्, कसैलाई पत्तो छैन ।
सरकारी निकाय यस्तो आपतमा पुग्न सक्दैन । भोली सामान्य अवस्था आएपछि मात्र उनीहरु जाने र ठुला भाषण दिएर फर्कन्छन् । यतिसम्म कि पुरा नै गर्न नसक्ने आश्वासन दिएर फर्केको उदाहरण विगतका बर्षहरुलाई हेरे पुग्छ ।
गत बर्ष तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल, गण्डकीका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान बाढी पीडितलाई भेट्न हेलिकप्टरमा गए । आपत परेको बेला उनीहरु पुग्न सकेनन्, अवस्था सामान्य भएपछि पुगेर घर बनाइदिने घोषणा गरे । जुन अहिलेसम्म बन्न सकेन ।
यो त एउटा उदाहरण मात्रै हो । यस्ता घटनौ बर्षैदेखि नेपालीले सहदै भोग्दै आएका छन् । आगामी कति बर्ष आश्वासनको भरमा बाच्नुपर्ने हो, थाहा छैन । बाढी र पहिरोले मानिसको ज्यान मात्र होइन, राज्यका अर्बौंका सम्पत्ती पनि बगाइरहेको छ । यसतर्फ नीति निर्माताले ध्यान दिन जरुरी छ ।
नेपालका प्रत्येक गाउँ ठाउँमा अहिले मोटरबाटो लैजानुपरेको छ । मोटर गुडोस या नगुडोस डोजर पुग्नुपर्ने छ । जथाभावी डोजर चलाउँदा अहिलेको बाढी र पहिरो महामारी आएको हो भन्नेमा दुइमत छैन । गाउँ गाउँमा बाटो लगायत विकासका योजना अघि बढाउँदा पहिरो जान नसक्ने गरी वातावरणमैत्री प्रविधि अपनाउन सकिन्थ्यो । तर सरकारी निकायको ध्यान यता फिटिक्कै छैन ।
जनधनको क्षती पुग्ने गरी पछिल्ला बर्षहरुमा बढेका बाढी र पहिरो प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले बढेका छन् । मानिसले भौतिक विकास गर्दा होस् या अरु कुनै संरचना बनाउँदा यसतर्फ ध्यान दिन जरुरी छ । सुख सुविधाका लागि आफैले ज्यान गुमाउनुपर्ने र जनधनको क्षती हुने गरी योजना अघि बढाउनुहुँदैन । यसरी खोजिएको सुविधाले अन्त्यहिन दुख पनि दिन सक्छ भनेर अहिलेका बाढी पहिरोका घटनाबाट पाठ सिक्नुपर्छ । वाढीपहिरो पिडितको उद्धार र राहतमा तुरुन्ट जुट्नु पर्दछ । राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन् ।
