बाढी र पहिरोले एक सातामा देशभर ठूलो धनजनको क्षति भयो । ठूला खोला र नदीले बस्तीनै सखाप बनाए । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु, काभ्रेको दोलालघाट, मनाङको चामे र ताल जस्ता धेरै स्थान बाढीको चपेटामा परेका छन् । ती स्थानहरु पुरानै अबस्थामा आउन बर्षौ लाग्ने भएको छ ।
बर्षातमा बाढी पहिरो आउने स्वभाविक हो । पहिलेदेखिनै बाढी पहिरोका घटना भैरहेको सुनिन्थे । तर पछिल्लो केही बर्षदेखिका बिपतहरु अली फरक छन् । सबै घटना प्राकृतिक रुपमा मात्रै भएका हुन् त ? यो प्रश्न धेरैको मनमा उठ्न थालेको छ । मनाङमा पानी नै पर्दैन भन्ने मान्यता थियो । अहिले अत्याधिक बर्षात र बाढीपहिरोको चपेटामा परेको छ । किन यस्तो भयो ? एकपटक सोच्ने बेला भएको छ । अर्थात जलवायु परिवर्तनको असरले हिमाल तिर मनसुन बढीरहेको छ । जसले गर्दा बाढीपहिरो बढेको देखिन्छ । चाहे त्यो मेलम्ची खोलाको मुहान, इन्द्रवती नदीको मुहान, म¥र्याङदी नदी र तामाकोशीको मुहानमा भएका सबै घटनाहरुले जलवायु परिवर्तनको असर हो भन्ने देखाउँछ ।
देशभरीनै बाढी र पहिरोको प्रकोप परेको छ । बागलुङ सहितका जिल्लामा खसेका दर्जनौं पहिरोले सडक अबरुद्ध हुने क्रमको कारक भने जथाभावी खनिएका ग्रामीण सडक हुन् । एउटै गाउँ पुग्न चारथरी सडक खनिएका छन् । पक्की सडकको छेवैमा फेरी डोजर लगाइएको छ । बस्तीको तल र माथी बाटो खनेर घरघरमा मोटर लैजाने प्रयास भएका छन् । यी प्रयासले २ मीनेट हिडेर घरमा पुगिने ठाउँलाई करोडको बाटो खनिन्छ । त्यसपछि जग्गाजमिन पहिरोले सखाप पार्छ । कतिपय स्थानमा सिंचाइ कुलोहरु अबरुद्ध भएका छन्, कतिपय स्थानमा खोलाले बहाव परिवर्तन गरेको छ । जसले गर्दा ठूला दुर्घटना निम्तेका छन् ।
घरबास नभएर कतिपयले थातथलो छाडेका छन् । जीवनभर बसेको गाउँ छाडेर मर्नेबेलामा मधेस हानिनुपर्ने व्यथा भोगेकालाई मात्रै थाहा छ । तरपनि अझै हामीले बिकासे होडमा डोजर संस्कृतिलाई निरन्तरता दिइरहेका छौं । त्योपनि जेठ असार लागेपछि मात्रै । हिउँदका दिन हेराहेरमै बित्ने, बर्षात लागेपछि हतारिने कारणले सबै दुःख निम्तेका छन् । तर ती समस्यामा जनप्रतिनिधि र सामाजिक अगुवा भन्नेलेनै आँखा चिम्लेका छन् । जथाभावी डोजर प्रयोग गरेकै कारण भकुण्डेमा सिंगो बस्ती जोखिममा छ । घरघर र खेतखेतमा भ्वाङ परेका छन् । जैमिनीको टुनीबोट रित्तिने खतरामा पुगेको छ । ढोरपाटनमा गएको पहिरोले बिस्थापितहरु अहिले सम्म स्थापित हुन सकेका छैनन् । यी सबैखाले बिपतलाई हामीले आफ्नै अर्कमण्यताले निम्त्याएका छौं ।
भोलीका दिनमा मुस्ताङमा पनि बाढी पहिरो आउने निश्चित भैसकेको छ । जलवायु परिवर्तनले पानी पर्न थालेको छ, जथाभावी डोजरले धेरै भाग चिरिन थालेका छन् । बेलाबेला आउने भूकम्पको असर थप समस्याको चुरो बनेका छन् । सुबिधाको नाउँमा नेपालीहरुले अति माथी अत्याचार गरिरहेका छौं की भन्ने अब सोच्ने बेला भएको छ । बीस बर्ष अघिदेखि बिकासलाई व्यवस्थित बनाउने योजना सहित काम गरेको भए अहिलेका बिपत्ति नआउन सक्थेकी ? अझै भोलीका दिनमा थप बिपत्ती आउने खतरा टार्न अहिलेदेखिनै पहल गर्ने की ? बाढीपहिरो लगायतका प्रकोपबाट हुनसक्ने क्षतिका वारेमा सवैले समयमा नै ध्यान दिनुपर्दछ ।
