विभेदविरुद्ध रुपा सुनारको ‘विद्रोह’ले नेपाली समाजको कुरुप यथार्थबारेको बहस पुनः सहतहमा आएको छ । कानूनमा बर्जित तर व्यवहारमा कायमै अमानवीय छुवााछुत र जातीय विभेदविरुद्धको यो अभियानले कथित सामाजिक अभियन्ताहरुको मुकुण्डो उघारिएको छ । नीति निर्माता र परिवर्तनका संवाहक हौँ भन्नेहरुको अनुहारमा कालो पोतिएको छ । सबैभन्दा डरलाग्दो त के छ भने, जातीय उत्पीडनको पक्षधरहरुबाट न्यायोचित मुद्दालाई विषयान्तर गर्ने प्रयत्न गरिएको छ । रुपाले थालेको सामाजिक सुधारको सकारात्मक प्रयासलाई यो वा त्यो बहानाले निस्तेज पार्ने प्रपञ्च रचिएको छ । अभियानलाई अभिजात वर्गीय अह्म पालेका कथित अभियन्ता र स्वयं मन्त्रीसम्मले साथ दिएका छन् । कोठा माग्ने प्रकरणबाट सुरु भएको विषयलाई कोटा प्रणालीसँग जोड्न भ्याएका छन् । समग्रमा समाजको एउटा ठूलो वर्ग यो प्रकरणमा रुपा नै दोषी हो भन्ने भाष्यलाई प्रुष्टि गर्न मरेर लागेका छन् ।
नेपाल विविधता नेपालको पहिचान हो । संविधान र कानूनले स्वीकारेको यो तथ्यले विभेदमा पारिएकाहरुलाई न्याय दिनुपर्ने प्रष्ट पारेको छ । छुवाछुतलाई अपराध मानेको छ । जातीय विभेद समाजको कलंक हो भन्ने किटान गरेको छ । हेपिएका,पछि पारिएका र कानूनले दिएको अधिकारबाट बञ्चित भएकाहरु सीमान्तकृत हुन् । उनीहरुको लागि राज्यले आरक्षणको व्यवस्था गरेको छ । आरक्षणको व्यवस्थाबाट कसले कसरी र कति लाभ लिए भन्ने फरक कुरा हो । तर, दलित भएर सामाजिक सुरक्षा पनि लिने यता जात व्यवस्थाको विरोध पनि गर्ने भन्ने जुन कुतर्क गरिएको छ, त्यसमा कुनै दम छैन । यो कुत्सित मनोभावाट अभिप्रेरित छ । पीडकको पक्षमा जनमत बनाउने र न्यायोचित अधिकार प्राप्तिको लडाइँमा लागेकाहरुको तेजोवध गरिँदै छ । दलितले पाएको भनिएको आरक्षणलाई हतियार बनाउनेहरुले क्षेत्रीय र भौगोलिक अवस्थितिले पनि नेपालमा विभेद जन्माएको तथ्यलाई बिर्सेका छन् । र, उनीहरु तिनै हुन्, जसले अवसरको चाङमा आफूलाई विराजमान गराएका छन् र आफ्नै जातमाथि पनि विभेद गर्दै आएका छन् । अमूक जातको एउटा व्यक्ति त्यही जातको भएकाले नै आफूभन्दा आर्थिक हैसियत माथि भएकालाई पनि विभेद गर्ने सामथ्र्य राख्छ । आर्थिक हैसियत फरक कुरा हो, मान्छेभित्र भएको विभेदको सोच सबैभन्दा डरलाग्दो हो । कलंकको रुपमा रहेको यो सोचलाई हटाउन रुपाहरुबाट गरिएका विद्रोहहरु त्यस मानेमा नै जायज हुन् । यी र यस्ता जायज अभियानहरुको विरुद्धमा लाग्नेहरु परिवर्तनका विरोधी मात्रै हैनन्, कानूनी रुपले हेर्दा अपराधी नै हुन् । रुपाले सुरु गरेको आन्दोलन न्यायोचित भएकोमा विवाद छैन तर यसका विरुद्ध उभिएका सोचहरु भने डरलाग्दा छन् । विभेद भोग्नेहरुले साँधेको मौनतामा रमाएकाहरु तिल्मिलाउनु अभियानको सफलता हो ।
