नयाँ सरकार निर्माणको क्रममा गण्डकीको तत्कालीन विपक्षी मोर्चाबाट आएको अभिव्यक्ति सम्झने हो भने, गठबन्धन निर्माण संविधानको रक्षा र लोकतन्त्रको लागि थियो । बोलीजस्तै व्यवहार भएको भए यहाँ लाभको पद गौण र लोकतन्त्रको रक्षा प्रमुख विषय बन्थ्यो । तर, त्यसो भएन । गठबन्धनभित्र अहिले लाभको पदको खिचातानी चलेको छ । विश्वासको मत लिएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्रीले विनाविभागीय मन्त्रीलाई मन्त्रालय जिम्मा लगाउन सकेका छैनन् । ११ वटा मन्त्रालयले कहिले मन्त्री पाउने हुन् निश्चित छैन । सत्ता गठबन्धनका जनता समाजवादी पार्टीबाट मन्त्री बनेका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले भनेजस्तो मन्त्रालय नपाएको भन्दै दिइएको जिम्मेवारी अस्वीकार गरेपछि मुख्यमन्त्री थप अप्ठेरोमा परेका छन् । र, समयक्रममा यो अप्ठेरो मुख्यमन्त्री स्वयंले सिर्जना गरेकोजस्तो देखिँदै गएको छ । किनकि, विश्वासको मत लिनुअघि उनले जसपासँग गरेको लिखित र स्वतन्त्र सभासदसँग भएको मौखिक सहमति सार्वजनिक भइसकेको छ ।
जनतालाई ठूलो आशा देखाएर बनेको नयाँ सरकार पद बाँडफाँडमै रुमल्लिँदा सरकारका कामहरु प्रभावित बनेका छन् । आर्थिक वर्ष २०७८÷०८९ को बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । जनताका मुलभूत आवश्यकताको संवोधन गर्नुपर्ने सरकार ‘कुहिरोको काग’ बनिरहँदा यो गठबन्धन किन भन्ने प्रश्नको वजन गहकिलो बन्दै गएको छ । गठबन्धनको औचित्य प्रुष्टि गर्न शनैःशनैःचुकिरहँदा मुख्यमन्त्रीको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ । अब बहानबाजीको कुनै अर्थ छैन । समस्याको गाँठो फुकाउने दायित्व स्वयं मुख्यमन्त्री र उनको दलमाथि आएको छ भने उठेका प्रश्नहरुको उत्तर दिनु गठबन्धनका सबै दलको कर्तव्य बनेको छ । राजनीति दाउपेचले मात्रै चल्दैन । राजनीतिमा निष्ठा र इमान्दारिता हुनुपर्छ,बोली र कर्ममा तादाम्यता राखिनुपर्छ । सहमति भएको हो भने त्यही अनुसार अगाडि बढ्नुपर्छ । किचलो नै सही तर यी कारणले हामी रुमल्लिएका छौं भन्ने हिम्मत राख्नुपर्छ । काइते तर्क गर्ने छुट अब गठबन्धनलाई छैन । विश्वासको मत लिइसकियो,बजेट पारित गरौँ र बाँकी कुरा मिलाउँछौँ भन्ने भनाईले गठबन्धन एवं सरकारको औचित्य प्रुष्टि गर्दैन । यो साँच्चिकै लोकतान्त्रिक गठबन्धन हो कि स्वास्र्थले निर्माण भएको जमात ? जनताले चित्तबुझ्दो जवाफ खोजेका छन् । बिग्रिसकेको छैन तर ढिला हुँदै गएको छ । मुख्यमन्त्री र गठबन्धनले सहमतिको बिन्दु पत्ता लगाउँदै सरकारलाई गति दिनेतर्फ ध्यान केन्द्रीत गर्नै पर्दछ ।
