२०७६ साल चैत १५ गते बागलुङकी किशोरीमा कोरोना संक्रमण देखियो । प्रदेशमा पहिलो तथा देशभर पाचौं संक्रमण भेटिएसँगै सिंगो बागलुङ र गण्डकी त्राहिमाम बन्यो । बन्नु स्वभाविक थियो । संक्रमित किशोरीलाई अस्पतालसम्म ल्याउनै समस्या उत्पन्न भयो । बेल्जियमबाट आएकी ती किशोरीलाई जसोतसो धौलागिरी अस्पताल बागलुङ त ल्याइयो तर अस्पतालमा आइसीयू बेड नै थिएन । भेण्टिलेटरको अवस्था पनि उस्तै थियो । एकातिर स्वास्थ्यकर्मी नै संक्रमितको अगाडि पर्न हिच्किचाउने अवस्था, अर्कोतिर पूर्वाधारको कमी ! अस्पतालको दुरावस्थाले सबैलाई झसङ्ग बनायो । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै बागलुङ पुगे । अस्पतालको निरीक्षण गरे । रातारात आइसीयू बेडको व्यवस्था गरियो । अंशु सापकोटाले त्यही अस्पतालमा बसेर कोभिड जितिन् । प्रदेश सरकारबाट विनियोजित रकमले अस्पतालको पूर्वाधार निर्माणमा ठूलो टेवा पु¥यायो । नाम मात्रको हस्पताल हेर्न र बस्न हुने भयो ।
कोभिड महामारी धौलागिरी अस्पतालको लागि अवसर बनेर आयो । पूर्वाधार र जनशक्ति थपिएको छ । अस्पतालको पूर्वाधार र जनशक्तिमा आएको सुधारसँगै सिंगो धौलागिरी क्षेत्रका जनताहरुको उपचारकै लागि पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म हटेको छ । हालै यो अस्पताल सेकेण्डरी ए लेभलका अस्पतालहरुमध्ये उत्कृष्ट बनेको छ । अस्पताल व्यवस्थापन र मेडिकल सुपरिटेण्डेण्टसहितका स्वास्थ्यकर्मीहरु यो पुरस्कारको हकदार थिए । उनीहरु बधाईका पात्र पनि हुन् । गर्नुपर्ने कामहरु अझ बाँकी छन् । गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई २ सय बेडको अस्पताल बनाउने र ट्रमा सेण्टर संचालन गर्ने घोषणा गरेको छ । घोषणा कार्याव्वनयमा आएसँगै यो अपस्पताल सो क्षेत्रका जनताको लागि बरदान सावित हुने निश्चित छ । तर, ढुक्क हुने अवस्था भने छैन । भौतिक पूर्वाधारले मात्रै अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सक्दैन । जनशक्तिको अभावले भएका मेसिनहरु थन्किने, विशेषज्ञ सेवा लिन ठूला सहर र निजी अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म अस्पताल भएर मात्रै केही हुँदैन । विशेषज्ञ डाक्टरहरु दूरदराजका गाउँ र सहरमा जान नखोज्ने प्रवृत्तिको कारण पत्ता लगाउँदै त्यसको निराकरणतिर सरकारले ध्यान दिनुपर्छ । सकारात्मक पक्ष के छ भने, कोभिड महामारी कायमै रहेको बेला संघदेखि स्थानीय तहसम्मले ल्याएका बजेटहरुमा स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । यसले स्वास्थ्य क्षेत्रमा देखिएको अस्तव्यवस्ता अन्त्य हुने आशा पलाएको छ । पूर्वाधार र जनशक्तिमा लगानी गर्ने हो भने, दूरदराजका अस्पतालहरु पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन दिन सक्षम छन् भन्ने सन्देश प्रवाह गरेर धौलागिरीले अस्पतालले ‘कालो बादलमा चाँदीको घेरा’ प्रदर्शन गरेको छ ।
