पर्वत, १९ असार– बालबालिकाको हित तथा संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका– १० पिपलटारीका ४० जना विपन्न परिवारका १ सय ४६ सदस्यलाई खाद्यान्न सहयोग गरेको छ ।
पुर्णेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाका परिवारलाई चामल, दाल, नुन लगायतका खाद्यान्न साथै मास्क, सेनिटाइजर, थर्मोमिटर अत्यावश्यक औषधि लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं। १० का अध्यक्ष सुजन बिकले चिल्ड्रेन नेपालले बिपन्न परिवारलाई गरेको सहयोगले तत्कालको समस्या समाधान गर्न सहयोग पुगेको बताए ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र शर्मा पौडेलले ४ सय बालबालिकाकालाई चिल्ड्रेन नेपालले अभिवाकत्व ग्रहण गरेको र ती बालबालिकालाई अहिलेको कठिन अवस्थामा सहयोग समेत गरेको बताए ।
यस्तै चिल्ड्रेन नेपालकै सहयोगमा पिपलटारीमा रहेको स्वस्थ्य चौकीका लागि आवश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । कोरोनालाई मध्यनजर गर्दै संस्थाले विभिन्न १५ प्रकारका औषधिहरु, थर्मल गन, डिजिटल थर्मोमिटर, नेबुलाइजर, साथै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, सिटामोल,जिंङ्क चक्की लगायतका औषधि हस्तान्तरण गरिएको हो । चिल्ड्रेन नेपालका कोषाध्यक्ष शान्त पौडेल र संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सयुक्त रूपमा चौकी इन्चार्ज रामबाबु खड्कालाई हस्तान्तरण गरेका थिए ।





