बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माथिल्लो तामाकोशी निर्माणको सन्देश

माथिल्लो तामाकोशी निर्माणको सन्देश


  • Dhorpatan News
  • असार २२ २०७८, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारी निवास बालुवाटारबाट उपल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरे । ४५६ मेघावाट विद्युत क्षमताको तामाकोशी नेपालको लागि धेरै कोणबाट महत्वपूर्ण आयोजना हो । यो तामाकोशीले नेपाललाई विद्युतमा आत्मनिर्भरतातर्फ उन्मुख गराउने छ भने उर्जाको आपूर्तिसँगै औद्योगिकीकरण बढाउने छ । अहिले नेपाल विद्युत प्राधिकरणले नेपालका खपतमध्ये २१ प्रतिशत बिजुली भारतबाट ल्याउने गरेको छ । बदलतामा ठूलो रकम विदेशिने गरेको छ । समयमै सम्पन्न भएको भए यति महत्वपूर्ण परियोजना उद्घाटनको अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त हुने थिएन । २०६७ सालमा सुरु भएको यो परियोजना कार्यतालिका अनुसार सम्पन्न हुन्थ्यो भने २०७२ सालमा बनिसक्थ्यो । तर, करिब ६ वर्षपछि निर्माण सम्पन्न हुँदा उद्घाटन र शिलान्यासप्रति बढी मोह देखाउने प्रधानमन्त्री ओलीले तामं्रपत्रमा नाम लेखाउन पाए । यद्यपि, अहिलेसम्म यहाँबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामध्येको तामाकोशीको निर्माण भइसक्दा यसको लागत झण्डै दोब्बर भएको छ । सुरुमा गरिएको ४८अर्ब ५१ करोडको अनुमान बढेर ८४ अर्ब पुगेको छ । तर, खुसीको कुरा भूकम्प,नाकाबन्दी, कोभिड १९ को कहर पार गर्दै परियोजना सम्पन्न भएको छ । राष्ट्रिय गौरवका २४ वटा आयोजनामध्ये पूरा हुने यो दोस्रो आयोजना बनेको छ । अर्कोतर्फ पूर्ण स्वदेशी लगानीमा यति ठूलो योजना निर्माण भएपछि हामी आफै केही गर्न सक्छौँ भन्ने सन्देश उपल्लो तामाकोशीले प्रवाह गरेको छ ।
शिलान्यास भएपनि समयमै योजनाहरु सम्पन्न नहुनु नेपालको डरलाग्दो रोग हो । गण्डकी प्रदेशमा रहेको मध्यमस्र्याङ्दी होस् वा कालीगण्डकी, मध्यपहाडी लोकमार्ग होस् कि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सबै आयोजनाहरु यही रोगबाट गुज्रेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यही असारमा सक्ने लक्ष्य थियो । द्रूतगतिले काम भइरहेको अवस्थामा कोभिडसँगैको लकडाउन वाधक बन्यो । निर्माण कार्य समाप्तितिर पुगेपनि आयोजना उद्घाटन गर्ने समयसीमा ६ महिना धकेलिएको छ । ६ महिना यताउता हुनु ठूलो कुरा हैन तोकिएकोभन्दा दोब्बर समयमा पनि आयोजना नसकिँदा त्यसले विविध क्षेत्रमा प्रभाव पार्छ । राष्ट्रिय अर्थतन्त्रको गति धीमा भइदिन्छ । सरोकारवाला निकायहरुले रोगको निदान खोज्नुपर्छ । जति ढिला हुन्छ, त्यति ठूलो क्षति व्यहोर्नुपर्छ । तामाकोशी बनेको छ । तामाकोशीमा भएको लगानी राष्ट्रिय लगानी हो । ठूला परियोजनाको लागि विदेशी दाता गुहार्नुपर्ने, उनीहरुका अनावश्यक सर्तहरु मान्नुपर्ने बाध्यताका बीच बनेको आयोजनाले स्वेदशी लगानीकर्ताबाटै ठूलो काम लिन सकिन्छ भन्ने प्रष्ट भएको छ । त्यसमानेमा पनि माथिल्लो तामाकोशीको उद्घाटनले राजनीतिक निराशाबीच पनि आशाको संचार गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->