बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्यानमारा राजमार्ग सुधार्ने कहिले ?

ज्यानमारा राजमार्ग सुधार्ने कहिले ?


  • Dhorpatan News
  • असार २४ २०७८, बिहिबार

बाढीपहिरोका कारण नेपालका अधिकांश राजमार्गहरु अवरुद्ध भएका छन् । मध्यपपहाडी लोकमार्गअन्तर्गतको बागलुङ– बुर्तिवाङ खण्डदेखि नारायणगढ–मुग्लिङ खण्ड,पृथ्वी राजमार्गका विभिन्न क्षेत्र,सिद्धार्थ, कर्णाली, कालीगण्डकी करिडर, डुम्रे–मनाङलगायतका १७ वटा राजमार्गहरुमा पहिरो खसेको छ । राजमार्गहरुले मान्छेको ज्यान लिएका छन् । सहायक मार्गहरु र गाम्रीण सडकहरुको हालतबारे त चर्चा गर्नुपर्ने आवश्यकता नै छैन । पोखरालगायत महानगरपालिका भनिएका सहरहरुका वडाहरुमा बर्खा लागेसँगै गाडी चल्न बन्द भएको छ । सडक विभागका अनुसार अहिले पनि केही सडक एकतर्फी खुलेका छन् भने धेरैजसो सडकहरु जुनसुकै बेला अवरुद्ध हुने खतरामा छन् । राजमार्गमा पहिरो झरिरहँदा असुरक्षा बढेको छ । सडक पुल बगाएका ठाउँमा खोलिएको वैकल्पिक मार्ग त भत्कने, बनाउने क्रम चलिरहेको छ । यो उपक्रम बर्खा नरोकिँदासम्म जारी रहने सडक विभागको अनुमान छ । राजमार्गमध्ये केही ठाउँमा खसेको पहिरो त हिँउदमा पनि फाल्न नसकिने अवस्थाको छ । पहिरोको दीर्घकालीन समाधान नखोजेसम्म माथिबाट लेदो र ढुंगा खसिरहने सडक डिभिजनको आँकलन छ ।
राजमार्गहरु ‘लाइभ लाइन’ हुन् । एकैछिन अवरुद्ध हुँदा पनि पार्ने क्षति साह्रै ठूलो हुन्छ । यहाँ त, दिनहुँ राजमार्गहरु अवरुद्ध भएका छन् । बिरामी, जन्ती, मलामीलगायतका यात्रुदखि सामान बोकेका गाडीहरु अलपत्र परेका छन् । समयमा नपुग्दा बिरामीको हालत के हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । तरकारी, फलफूललगायतका कुहिने सामानहरु बोकेका गाडीहरु बाटोमै रोकिँदा ती सामान नष्ट भएका छन्, तोकिएको समयमा गन्तव्यमा नपुग्दा लागत बढेको छ । त्यसको घुमाउरो मार सर्वसाधारणले नै भोग्नु परेको छ । राष्ट्रले भोग्नु परेको छ ।
राजमार्गहरुको डिजाइन र निर्माण बैज्ञानिक एवं वातारण–मैत्री नभएको लुकाउनुपर्ने विषय हैन । नेपालको भूवनौटमा विविधता छ । त्यो विविधताको अध्ययनविना खनिएका बाटाहरु सुरक्षित हुने कुरै भएनन्। अर्कोतर्फ, बाटो खन्नुलाई मात्रै प्राथमिकतामा राख्ने अनि मर्मत, पहिरो रोक्न बैज्ञानिक प्रविधिको प्रयोगमा चुक्दै जाँदा नेपालको अर्को दुर्भाग्य हो । पहिलो कुरा त, बनेका बाटाहरुको संरक्षणमै जुट्नु परेको छ । जापानजस्ता देशहरुले पहिरो रोक्न बायोइञ्ज्निियििरङ प्रविधि प्रयोग गरेका छन् । यो प्रविधिकै कारण पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो रोकिएको छ । बढी जोखिम भएका अन्य ठाउँहरुमा पर्खाल लगाएर पहिरो रोक्न सकिन्छ । राजमार्गहरु सधैँ खुल्ला र सुरक्षित हुनुपर्छ । बाटो बनाउने बेला नेपालले ठूलो भूल गरिसकेको छ । राजमार्गहरुको दीर्घकालीन सुरक्षा, वातावरणीय मूल्याङ्कनलाई नजरअन्दाज गर्दाको परिणाम अहिले भोगिरहेका छौँ । अहिले बनेका बाटाहरु पनि उस्तै छन् । मध्यपहाडीको बागलुङ–बुर्तीवाङ नै उदाहरण छ । अब, गल्ती गर्ने छुट कसैसँग छैन । अब हिउँदमा निदाउने अनि बर्खामा तात्ने प्रवृत्तिको अन्त्य गर्दै राजमार्ग सुधार र सुरक्षामा दीर्घकालीन रणनीति तय गर्नैपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->