निषेधाज्ञा खुकुलो बनाइँदै गर्दा गण्डकीमा कोभिड १९ को नयाँ प्रजाति फेला परेको छ । चिकित्सा बिज्ञानको भाषामा नयाँ भेरियन्ट भनिएको विकसित कोभिड भाइरस अघिल्लोभन्दा बढी खतरनाक भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार डेल्टा बि १ ६७२ (२) नाम दिइएको यो भाइरस स्याङ्जाको कालीगण्डकी गाउँपालिका र गोरखाको बारपाकमा भेटिएको हो ।
कोभिड १९ को संक्रमणको गति धीमा भएको छ तर संकट हटिसकेको छैन । लामो समयको निषेधाज्ञाले उकुसमुकुस भएका नागरिकहरु केही खुल्ला हुनासाथ बाध्यताले बाहिर निस्केका छन् । एकातिर खेतीपातीको समय, अर्कोतिर हातमुख जोड्नुपर्ने बाध्यता । नागरिकहरु जोखिम मोल्न विवश छन् । यही विवशताले थप संकट निम्त्याउने र महामारी पूर्ववत् अवस्था वा त्योभन्दा पनि बढ्ने हो कि भन्ने त्रास उत्पन्न गराएको छ । कोभिड तत्काल निस्तेज हुने छाँट छैन । विश्वभर कोभिडका एकपछि अर्को भेरियण्ट देखिएका छन् । विकसित देशहरुले खोपको सुनिश्चिततासँगै प्रकोप नियन्त्रणमा सफलता हात पारे पनि नेपालमा तत्काल त्यो अवस्था आउने छाँट छैन । भला,पछिल्लो समय मित्रराष्ट्र चीन, अमेरिकालगायतका देशहरुबाट खोप आयात भएको छ । तर,ती खोप पर्याप्त छैनन् । सबै नागरिकले खोप नपाउँदासम्म स्थिति नियन्त्रणमा आउन सक्दैन । प्रधानमन्त्रीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने उद्घोष गरेका छन् । प्रधानमन्त्रीको मुखबाट यसअघि पनि यस्ता घोषणा आएकै थिए तर खोपको सुनिश्चितता हुन सकेन । यो पटक केही पत्याउने आधारहरु तय भएका छन् तर ढुक्क भइहाल्ने अवस्था छैन । गण्डकी प्रदेश सरकारदेखि स्थानीय तहसम्मले स्वीकृति दिए खोप ल्याउने नारा दिएका छन् । ती नाराहरुमा पत्याउने आधार देखिएको छैन । जबसम्म संघीय सरकारले खोप ल्याउने विश्वासिलो आधार तय गर्दैन, प्रदेश र स्थानीय तहले गरेका घोषणाहरु कार्यान्वयनमा आउन सक्दैनन् । सार्वजनिक खपतका लागि दिइने यस्ता सस्ता अभिव्यक्तिमा रमाउनुको कुनै तुक र अर्थ रहँदैन भन्ने मनन गर्नैपर्छ ।
बरु, महामारीको जोखिम कायमै रहेकाले गच्छेअनुसारको सुरक्षा प्रबन्ध, सचेतना अभियानतर्फ प्रदेश सरकार र पालिकाहरुले जोड दिनुपर्छ । नजिकको सरकार भएको नाताले नागरिकसँग प्रत्यक्ष ठोक्किँदा आश्वासन दिनु बाध्यता होला तर सपना देखाउन बन्द गर्नुपर्छ । जोखिम कायमै रहेकाले नागरिक स्वयंले पनि आफ्नो हिफाजत आफैले गर्नुपर्छ भन्ने सत्यलाई बिर्सनु हुँदैन ।
