असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा पहिला अमेरिकाको बधाई पाए । लगतै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेरै बधाई मात्र दिइनन्, थप १६ लाख डोज भेरोसेल उपहार टक्र्याइन् । सात समुन्द्र पारीको अमेरिका र उत्तरी छिमेकीको बधाई पाइसक्दा पनि नेपाली राजनीतिमा सोझै चासो राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाटै प्रधानमन्त्री देउवालाई बधाई आएन ।
प्रधानमन्त्री देउवा साउन ३ गते विश्वासको मत लिन सदनमा उपस्थित भए । विश्वासको मत माग्दै गर्दा उनले लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्दा राष्ट्रिय एकता कायम भएको प्रसंग मात्रै निकालेनन्,राष्ट्रियताको सवालमा अभूतपूर्व एकता कायम गर्ने परम्परा रहेको उद्घोष पनि गरे । दुबै छिमेकीसँग सुमुधुर सम्बन्ध राख्नु आफ्नो चाहना भएको लुकाएनन् । पाँचौंपटक कार्यकारी प्रधानमन्त्रीको कार्यभार सम्हालेका देउवाको अभिव्यक्तिमा कुटनीतिक चातुर्यता मिसिएको थियो । भारतबाट बधाई नपाएको विषय सायद मनमा कतै गढेको थियो । यद्यपि, अन्तिम समयमा भारतीय संस्थापनसँग जोडिएको मानिने जनता समाजवादी पार्टीको एउटा खेमाले पनि देउवालाई सघाएको थियो । देउवाले सजिलै विश्वासको मत प्राप्द गर्दै संसदको बाँकी कार्यकाल प्रधानमन्त्रीको रुपमा आफूलाई सुरक्षित पनि गरे । यसअघि प्रधानमन्त्री नियुक्त हुनासाथ बधाई दिन हतारिने भारतीय संस्थापनले देउवाले सदनबाट विश्वासको मत लिएपछि मात्रै बधाई दियो । साउन ३ गते सामाजिक सञ्जालमार्फत् बधाई दिएका भारतीय प्रधानमन्त्री मोदीले साउन ४ गते भने टेलिफोन नै गरे । कोभिडविरुद्धको खोप दिने प्रतिवद्धता जनाए । भारतले बधाईमा गरेको ढिलाइ संयोग मात्रै हुनसक्छ तर यसले कुटनीतिमा पार्ने प्रभावलाई नजरअन्दाज गर्न भने मिल्दैन ।
नेपालको राजनीतिमा भारतीय चासो ‘ओपन सेक्रेट’ नै हो । भू–राजनीतिक अवस्थिति र परम्परागत सम्बन्धका कारण सिर्जित यो परिस्थिति कहिलेकाहिँ कतिसम्म डरलाग्दो भइदिन्छ भने,छिमेकीकै कारण अप्ठेरो अवस्था सिर्जना हुनपुग्छ । २०७२ सालमा संविधान जारी गर्दा नेपालले भोगेको नाकाबन्दी नै उदाहरणको लागि काफी छ । अत: भारतसँगको कुटनीतिक सम्बन्ध सुमुधुर राख्नु स्थायित्वको लागि त्यत्तिकै जरुरी छ । त्यसो त,सामरिक रुपले नेपाल दक्षिण एसियाकै संवेदनशील क्षेत्र हो । नेपालमा उत्पन्न हुने अस्थिरताले भारत र चीन दुबैलाई उत्तिकै असर गर्छ । चीनले पछिल्लो समय बढाएको कुटनीतिक सक्रियताबाट पनि नेपाल जोगिनै पर्छ । दुबैसँग समदूरीमा बसेर काम गर्न सक्नुपर्छ ।तर, विभिन्न कालखण्डमा नेपाली नेताहरुले यी दुई छिमेकीहरुलाई आफू अनुकूल प्रयोग गर्न खोज्दा जटिलता सिर्जना हुँदै आएको प्रसंग पनि बिर्सनु हुँदैन । एउटा मित्रसँग नजिकिएर अर्कोलाई वेवास्ता गर्ने कुटनीति नेपालको लागि प्रत्युत्पादक सावित भइसकेको छ । नेपालले आफ्नो सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्नुपर्छ । प्रधानमन्त्रीको रुपमा देउवाले परराष्ट्र नीति र कुटनीतिलाई त्यही अनुरुप अगाडि बढाउनुपर्छ । आन्तरिक मामिलामा विदेशीलाई खेल्ने अवसर दिने र गुहार्ने प्रवृत्तिमा पूर्णविराम लगाउनुपर्छ ।
