निश्पक्ष समाचार, स्वतन्त विचार’ मुत्र मन्त्रसहित आजभन्दा २३ वर्षअघिदेखि प्रकाशन शुभारम्भ गरेको ‘धौलागिरी स्टार साप्ताहिक’ आजदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, सहकर्मी लगायत शुभेच्छुक सबैमा हार्दिक आभार व्यक्त गर्दछौ । पत्रिका प्रकाशनको यात्रामा हामीले पार गरेका विभिन्न किसिमका आरोह अवरोह, प्राप्त गरेका उपलब्धी र आर्जन गरेका अनुभवप्रति हामी गौरवान्वित छौ । देशको आर्थिक, समाजिक र राजनीतिक परिर्वतनको साछी बन्ने अवसर हामीले पायौं । लोकतन्त्र, नागरिक सचेतना, वाक स्वतन्त्रता र सामाजिक विकृति बिसंगती विरुद्धको हाम्रो आवाज बुलन्द बन्दै गईरहेको छ । सूचना पाउने नागरिकको अधिकारको प्रत्याभूत गर्न हामी तल्लिन छौं र निरन्तर रहने प्रतिवद्वता समेत जाहेर गर्दछौ । यस्ता विषयहरुमा हामी सच्चा पहरेदार बन्ने प्रयत्नमा छौं । यसका लागि नागरिकलाई साथसाथै लैजाने हाम्रो कोसिश जारी छ ।
पाठकको रुचीमा विविधता हुन्छ भन्ने कुरालाई बुझेर नै हाम्रा सञ्चार सामग्रीलाई सोही रुपमा परिमार्जन गर्दै प्रकाशन गर्ने कोसिशमा छौ । हाम्रा सामग्री र हामीले पस्केका सामग्रीका कारण भएका परिवर्तनलाई मुल्यांकन गर्ने हो भने आम पाठकका बिचमा हाम्रो उपस्थिती गर्भिलो छ । सामाजिक रुपान्तरणका लागि धौलागिरी स्टार साप्ताहिकले खेलेको भुमिका प्रशंसनिय छ । हाम्रो प्राथमिकतामा सदा भुईमान्छेका कथाहरु समेटिए । सत्ता र शक्तिको भक्तिभन्दा धेरै सर्वसाधारणको आवाजमा हामीले विश्वास गर्छाै । सर्वसाधारण जनता, गरिबीको रेखामुनी पिल्सिएका नागरिकको दैनिकीसँग जोडिएर हामीले पस्केका सामग्रीनै हामी तपाईंसँग २४ बर्ष लामो यात्रा गर्न सफल भएका हौं । संघीय गणतन्त्र पछिको स्थानीय सरकारप्रति आमनागरिकको अपेक्षा बढिरहेको छ । गाउँघरमा आएका सिंहदरबारलाई जनताप्रति उत्तरदायि र जनमुखी बनाउन हामीले निरन्तर समाचार सामग्रीमार्फत सचेत गराईरहेका छौ ।
सूचना प्रविधिले अहिले सिंगो विश्व अहिले गाउँमा परिणत भएको छ । समयसंगै विकसित सूचना प्रविधिको भरपुर प्रयोग गरेर हामीले जनतालाई छिटोभन्दा छिटो तत्यपरक समाचार सामग्रीहरु पस्किने कोशिश गरिरहेका छौ । हाम्रो यात्रा सूचना र जानकारी मात्रै नभएर विकृति र विसंगति विरुद्धको जागरण अभियान पनि हो । लोकतन्त्रको संस्थागत विकासका लागि सबै नागरिक सक्षम बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो । देश संघियता प्रवेश गरेसँगै नयाँ खालको राजनितीक परिस्थितीको सिर्जना भएको छ । सत्ता स्वार्थका लागि संघ र प्रदेशमा राजनीतिक दलहरु विभाजित भएका छन् । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु अहिले सत्ता र शक्तिको लागि विभाजित भएका छन् । देशमा स्थायित्व चाहेका जनताले फेरि पनि राजनीतिक दलका पछिल्ला क्रियाकलाप देखेर निराश बन्दै गएका छन् । जनताको अपेक्षाविपरित ट्रयाकआउट भएका राजनीतिक दललाई सहि दिशामा ल्याउन पनि हामीले निरन्तर दबाब दिईरहेका छौ । हिजो परिवर्तनका खाँतिर हामीले गरेको संघर्ष र हाम्रा कलमले सघाउँदा प्राप्त सफलतालाई इतिहासले मुल्यांकन गर्ला । अबको हाम्रो बाटो भनेको आर्थिक समृद्धि र सुशासनका लागि सञ्चार सामग्रीको उत्पादन गर्नु हो । देशलाई विकसित बनाउनका लागि सञ्चार क्षेत्रबाट पनि भूमिका निभाउन तत्पर छौं । सुशासन बिना आर्थिक समृद्धिको कल्पना पनि गर्न सकिदैन । सुशासनका लागि सूचना प्रवाह गर्ने हाम्रो यात्रामा सबैको साथ प्राप्त हुनेमा हामी विश्वस्त छौ ।
