विषाक्त मदिरा सेवनका कारण बागलुङमा ४ जना युवाहरुको ज्यान गएको छ भने २ जना सिकिस्त छन् । रोल्पाबाट रोजगारीको लागि बागलुङ आएका उनीहरुको निधनले परिवारमा पुगेको क्षति वर्णन गर्न सकिँदैन । विषाक्त मदिराकै कारण नेपालका वर्षेनी सयौंले ज्यान गुमाउँछन् । लाउँलाउँ–खाउँखाउँ उमेरका उनीहरुको मृत्युले एकपटक पुनः नेपालमा हुने निर्वाध मदिरा बिक्री र यसले निम्त्याएका व्यक्तिगत, सामाजिक क्षति, हिंसाको चर्चा चुलिएको छ ।
तथ्याङ्कलाई नै आधार मान्ने हो भने, विश्वमा मदिराकै कारण प्रत्येक १० सेकेण्डमा एकजना र हरेक वर्ष ३३ लाख मान्छेले ज्यान गुमाउँछन् । असाध्य रोग बोक्नेहरुको तथ्याङ्क त झन डरलाग्दो छ । मदिराकै कारण घट्ने अपराध, हिंसा एवं सामाजिक विसंगति रोक्न प्रहरी–प्रशासनलाई नै हम्मे परेको अवस्था छ । मदिरा कुनैपनि कोणबाट सही पेय पदार्थ हैन । मान्छेलाई अहंकारी बनाउने, एकैछिन मनोरञ्जन दिएजस्तो गर्ने मदिराको लतमा परेपछि छुटाउन गाह्रो हुन्छ । अन्ततः मान्छे मदिराको दाश बन्छ र मृत्युको प्यारो हुन्छ । तर, नेपालमा मदिराविरुद्धको अभियान प्रभावकारी छैन । नेपालमा धार्मिक र सांस्कृतिक परम्परामा मदिरा प्रयोग गरिन्छ । धर्म र संस्कृतिसँग जोेडिएकाले घरेलु मदिरालाई निषेध गर्न अप्ठेरो छ तर भएका प्रयासहरु पनि प्रभावहीन देखिएका छन् । यहाँ अस्पतालको ढोकामै, औषधि पसलको बगलमै निर्वाध मदिरा किन्न सकिन्छ । मदिरा किनबेचको लागि लगाएको उमेर हद कागजमा मात्रै सीमित छ । यसले गर्दा जो कोहीले पनि मदिरा किन्न र सेवन गर्न सक्छन् । मदिराका खास कुनै गुण नै छैनन् । मान्छेलाई बेहोस बनाउने मदिराकै कारण हिंसा, हत्या, बलात्कारका घटनाका अनगिन्तीश्रृंखला,मान्छेको स्वास्थ्यमा पार्ने प्रभाव नेपालमा साह्रै डरलाग्दो छ । मदिराबाट मुक्तिको लागि व्यक्ति आफै सचेत हुनु जरुरी छ । यसका लागि सरकारले सचेतनामूलक कार्यक्रमहरुमा विशेष जोड दिनुपर्छ । मदिराविरुद्ध निर्माण भएका कानूनहरुलाई व्यवहारमा लागु गरिनुपर्छ । हो, संसारभर निश्चित ठाउँमा मदिरा सेवन र बिक्री गर्न पाइन्छ । मदिराले राजश्वमा योगदान पनि गर्छ । लुकेर खानेभन्दा देखाएरै गुणस्तरीय मदिरा सेवन गर्दा कम क्षति पनि होला । तर, ती मापदण्डहरु कार्यान्वयनमा आउनैपर्छ । पैसा आउँछ भन्दैमा सबै कुरालाई छुट दिने भुल राज्यबाट गरिनु हुँदैन । मदिराविरुद्ध राज्य कठोर हुनुपर्छ । मदिरामाथि कडाइ गरिरहँदा गुणस्तरहीन मदिराको उत्पादन र बिक्रीमा चाहिँ राज्य अझ कठोर बन्नुपर्छ । त्यस्ता उत्पादक र बितरकलाई कारबाही गर्ने मामिलामा कुनै कञ्जुस्याइँ गर्नु हुँदैन । यसो भनिरहँदा, व्यक्ति स्वयंले पनि मदिरामा मन फुकाउनु हुँदैन ।
