नेपाली कांग्रेस आफूलाई सबैभन्दा लोकतान्त्रिक दावी गर्छ । लोकतन्त्र र कांग्रेस एक–अर्काको पर्यायवाची भएको चर्चा चलाउँछ । नेपालमा जहानीयाँ राणा शासनको अन्त्यदेखि हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व र दिएको योगदानका कारण कांग्रेसले यो दावी गर्न पाएको हो । अंगिकार गरेको बहुदलीय पद्दति र लोकतन्त्रप्रतिको प्रतिवद्धताको कारणले पनि कांग्रेस लोकतान्त्रिक शक्तिमा गनिएको हो । हो, यही कांग्रेस यतिबेला आफ्नो १४औं महाधिवेशनको संघारमा छ । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भनिएको महाधिवेशन हुने कि नहुने भन्ने द्धिविधा एकातिर छ भने संवैधानिक व्यवस्था अनुसार भदौभित्र महाधिवेशन नगरिए पार्टीको वैधता समाप्त हुने अर्को अवस्था छ । लोकतान्त्रिक दावी गर्ने पार्टीले यसअघि नै महाधिवेशन सम्पन्न गरिसक्नुपथ्र्यो तर कांग्रेस नेतृत्वले त्यो बाटो रोजेन । पार्टी सभापतिले विधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो कार्यकाल एक वर्ष लम्ब्याए । कोभिड १९ लाई देखाएर महाधिवेशन टार्दै गए । बाध्यात्मक अवस्थामा घोषित महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा,१६ मा गाउँ/नगर र साउन २० गते क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्छ । यसैगरी एक निर्वाचन क्षेत्र भएको ठाउँमा साउन २३ र दुई वा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते अधिवेशन मिति तय गरिएको छ । प्रदेश अधिवेशन भदौ १ र २ लाई तोकिएको छ । महाधिवेशनको यो कार्यतालिका परिवर्तन हुँदैछ । कांग्रेसले केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहका निर्वाचनका कार्यक्रम फेरबदल गर्ने बताएको छ । अधिवेशन ढोकैमा आउँदासम्म पनि क्रियाशिल सदस्यको विवाद ज्यूँकात्यूँ रहेको छ भने पार्टी कार्यालयमा अनशनरत कार्यकर्ताको माग संवोधन भएको छैन । यसले गर्दा कांग्रेसको यो महाधिवेशन कर्मकाण्डी मात्रै हुन्छ कि भन्ने आशंकामा बल पुगेको छ ।
महाधिवेशनले नेतृत्व चयन गर्छ । पार्टीलाई गतिशिल बनाउने यो महान पर्वलाई साँच्चिकै पर्व बनाउने, नीति र सिद्धान्त तय गर्नेतर्फ कांग्रेसको ध्यान गएको छैन । कांग्रेस बाहिर जति चर्को स्वरमा लोकतन्त्रको कुरा गर्छ,आन्तरिक जीवनमा त्यति नै अलोकतान्त्रिक देखिन्छ । विधि र सिद्धान्तलाई टोकरीमा फालेर तदर्थवादमा रमाउँछ । यसको ज्वलन्त उदाहरण सदस्यता विवाद नै हो । हो, कोभिडका कारण भीडभाडपूर्ण उपस्थिति घातक हो तर वैकल्पिक व्यवस्थाप्रति कांग्रेसले कहिल्यै ध्यान दिएन । यो लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक काम हो । कांग्रेसले आफूलाई साँच्चिकै लोकतान्त्रिक पार्टीको रुपमा प्रमाणित गर्ने हो भने यो अधिवेशनसँग जोडिएका विवादहरु निरुपणतिर लाग्नुपर्छ । आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । महाधिवेशनलाई नयाँ नेतृत्व चयनको औपचारिकतामा सीमित नगरेर नयाँ कार्यदिशा तय गर्ने उत्सव बनाउनेतिर ध्यान दिनुपर्छ ।
