– बागलुङ १४,नारायणस्थानमा आहाराको खोजीमा गाउँ पसेको चितुवा मान्छेको नियन्त्रणमा प¥यो । स्थानीय भक्तबहादुर सुनारले चितुवालाई पाँसोमा पारे ।
–अघिल्लो वर्ष तनहूँमा चितुवाले आतंक नै मच्चायो । चितुवाले ६ जना बालबालिकालाई शिकार बनायो भने ४८ वटा घटनामा ५९ वटा पशुधनको क्षति पुग्यो । कास्कीमा पनि चितुवा आक्रमणकै कारण एक बालिकाको ज्यान गयो ।
–तनहूँमा मात्रै गतवर्ष ६ वटा चितुवा मरेको वन कार्यालयले जनाएको छ ।उपलब्ध देशैभरको तथ्याङ्क हेर्ने हो भने, केही वर्षयता बस्ती पसेका सयौं चितुवाहरु मारिएका छन् ।
यी प्र्रतिनिधि घटना मात्रै हुन् । केही वर्षयता देशका सबैजसो ठाउँमा बाघ र चितुवाको आतंक फैलिएको छ । मान्छे र चितुवाबीचको द्वन्द्व बढ्दै गएको छ । मान्छेमाथि हतपती आक्रमण नगर्ने यी सुन्दर जनावरहरु बढी हिंश्रक बन्दै गएको पाइएको छ । भोकाएपछि बाघ र चितुवाहरु मात्रै हैनन्, बाँदरहरु पनि हिंश्रक हुन्छन् । हुनु स्वभाविक हो । भोकाएको बाघलाई जिस्क्याउन हुँदैन भन्ने उक्ति यही आधारमा तय भएको हो । बाघले दैनिक ५–७ र चितुवाले १–२ किलोग्राम मासु खान्छ । अध्ययनहरु भन्छन्– बाघ रातको समयमा र चितुवा दिउसो २ बजेपछि सक्रिय हुने गर्छन् । बाघले तुलनात्मक रुपमा ठूला र चितुवाले साना जनावरलाई आहार बनाउँछन् । मासु खाने यी जनावरले घाँस खाँदैनन् । आहारा पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । तर,अहिले चितुवा र बाघहरु नैसर्गिक अधिकारबाट बञ्चित भएका छन् । वनमा आहाराको कमी छ । वन अतिक्रमणमा परेको छ । वनमा पानीका मुलहरु सुक्न थालेका छन् । सामुदायिक वनहरु घना बनेका छन् तर त्यहाँ मौलाएको झ्याङले वन्यजन्तुको आवागमनमा बाधा पु¥याएको छ । घाँस खाएर बाँच्ने मृगलगायतका वन्यजन्तुले नखाने वनमाराजस्ता झार बढ्दा स्वभाविक रुपले ती जीवजन्तु घटेका छन् । एकातिर घाँसको कमी हुँदा वन अतिक्रमणमा पर्दा मृगलगायतका जीवहरु घटेका छन् । घाँस खाने ती जनावर घट्दाको प्रभाव चितुवामा परेको छ । समग्रमा प्रकृति–चक्रमा आएको परिवर्तनले मृग र चितुवा दुबै चेपुवामा परेका छन् ।
एकातिर बाघ र चितुवा हिँड्ने क्षेत्रमा डोजर चलाएर बाटो बनाइँदा जंगल अशान्त बन्न पुगेको छ भने अर्कोतिर गाउँबस्ती वरपर झाडी बढेको छ । शान्त ठाउँमा बस्न रुचाउने चितुवा र बाघ शान्तिको खोजीमा बस्ती वरपर आउन थालेका छन् । बाँदरको हकमा पनि यही सत्य लागु भएको छ । प्रकृतिको अति दोहनले निम्त्याएको यो समस्याको गहन अध्ययन भने हुन सकेको छैन । मान्छे र वन्यजन्तुबीच द्वन्द्व बढ्नुमा मान्छेको दोष कति छ भन्ने अध्ययन नहुँदाको परिणतिप्रति हामीले ध्यान दिएकै छैनौँ । हो, चितुवाका कारण मानिसको दैनन्दिन प्रभावित भएको छ तर, जीव र वातावरणीय चक्रको लागि यी प्राणीहरु पनि आवश्यक छन् भन्ने हामीले बुझ्नैपर्छ । मानव– चितुवा द्वन्द्व घटाउन जंगलमा रहने चितुवालाई त्यहीँ बस्ने वातावरण सिर्जना गरिनुपर्छ । सुन्दर जनावरहरु मारेर मात्रै समस्याको समाधान हुँदैन । कम्तिमा वन जोगाउनै पनि यी प्राणीहरु बाँच्नुपर्छ । सुन्दर जंगली जनावर संरक्षणको लागि राज्यले ठोस नीति अंगिकार गर्नुपर्छ ।
