गत असार ११ गते पर्वतका विभिन्न ठाउँमा पहिरो जाँदा साविकको धौलागिरीका चार जिल्ला चार दिनसम्म विद्युत र सञ्चारबिहिन भए । पहिरोका कारण ठाउँ ठाउँमा विद्युतका पोलहरु भाँचिए, इन्टरनेटका तारहरु चुँडिए । यसको सबैभन्दा धेरै मारमा कोरोना महामारीका कारण विद्यालय जान नपाएका बालबालिका परे । एक त गाउँघरमा इन्टरनेटको पहुँच नभएका कारण शहर बजारको जस्तो गाउँका बालबालिका भर्चुअल माध्यमबाट सहज रुपमा अध्ययनमा सहभागि हुन पाएका छैनन् भने अर्कोतर्फ मोबाईल डाटाको प्रयोग गरेर क्षणिक अध्ययनमा सहभागि भएका बालबालिकासमेत यसको मारमा परे । यो समस्या नौलो र पहिलो होईन । हावाहुरी चलेका बेला होस वा ठुलो बर्षा भएर बाढी पहिरो चलेका बेला किन नहोस् यो समस्या दोहोरिने गरेको छ ।
विद्यार्थीले राम्रोसँग कक्षा कोठामा पुगरेर अध्ययन गर्न नपाएको दुई बर्ष समायावधी पुग्यो । सजको प्रमुख कारण कोरोना महामारी हो भनेर नत अभिभावकलाई भनिरहनुपर्छ नत बालबालिकालाई । यो सबैमा विधितै कुरा हो । महामारीको समयमा भौतिक उपस्थितीमा पठनपाठन हुनसक्ने कुरै भएन् । पहिलो लहर चल्दा होस् वा अहिले चलिरहेको दोस्रो लहरका कारण भएको निशेधााज्ञा किन नहोस् पहिले बन्द हुने र लामो समय बन्द रहने भनेको विद्यालयनै हो । महामारीको पहिलो लहरकै समयमा बिद्यालय बन्द हुँदा भौतिक उपस्थितीको विकल्प खोजियो । त्यसको उत्तम बिकल्प भर्चुअल माध्याम हो भन्ने कुरामा कसैको दुइमत रहेन । बिद्यालयका लागि मात्रै होईन अन्य बैठक, भेला, सेमिनार र तालिमहरु समेत भर्चुअल माध्यामबाट सञ्चालन भैरहेका छन् । प्रभावकारी पनि देखिएका छन् । बिद्यालय र बिद्यार्थीको सन्दर्भमा भने भर्चुअल माध्याम सरोकारवालाको व्यवस्थापनको कारण अहिले समस्याकै बिषयका रुपमा रहेको छ ।
सधैं बिद्युतको पहुँच, पर्याप्त इन्टरनेटको सुविधा, बैकल्पिक उर्जाको समेत व्यवस्था भएका शहर तथा साना बजार क्षेत्रमा अहिले पनि भर्चुअल माध्यामको पठनपाठन सहज नै हुन्छ । नयाँ प्रबिधि भएकाले केही समय सिक्न र सिकाउनका लागि लागेको हुनसक्छ । तर दुर्भाग्य गाउँले भरिएको हाम्रो मुलुकका लागि गाउँमा भने भर्चुअल कक्षा समस्याको बिषय बन्दै गएको छ । कक्षा सञ्चालन आँफैमा समस्याभन्दा पनि कक्षा सञ्चालनका लागि आवश्यक हुने बिद्युत, इन्टरनेट त्यो भन्दा ठुलो समस्याको रुपमा रहेका छन् ।
तीन तहका सरकार, त्यो बाहेकका शिक्षासँग जोडिएका अधिकारवादी, सेवाप्रदायक र सरोकारवालको ठुलो जमात छ । दुइ बर्ष समय बितिसक्दा समेत बैकल्पिक शिक्षा र त्यसको व्यवस्थापनको बिषयमा नत सरोकारवाला चिन्तित देखिन्छन् नत सरकारहरु नै । शिक्षा उन्नत समाजको पहिलो सर्त हो । भोलिको पुस्ता सबल र सक्षम हुनका लागि अहिलेको शिक्षा क्षेत्र मजबुद र उपयोगी तथा निरन्तर हुनु हो । बेला शिक्षकले सुबिधाका लागि बार्गेनिङ गर्ने, सरकारले हेरेको हेरै गर्ने र बिद्यार्थी तथा अभिभावक अलमलमा बस्ने होईन । कठिन परिस्थितीको सामना सबै मिलेर गर्न जरुरी छ । तर कठिन समय छ भन्दैमा एक अर्कामा दोषारोपण गरेर नबसौं । सहज हिसाबले भौतिक उपस्थिती बिनाको नियमित कक्षाका लागि सबैले ध्यान दिउँ ।
