बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सीमा समस्या सल्टाऊ

सीमा समस्या सल्टाऊ

आफ्ना नागरिकमाथि ज्यादती हुँदा राज्य बोल्नु पर्छ । कुटनीतिक तहबाट समस्या समाधान गर्ने तत्परता देखाउनुपर्छ । आफ्ना नागरिकमाथि पटक–पटक भएको ज्यादतीप्रति राज्यले चासो देखाउनैपर्छ ।


  • Dhorpatan News
  • साउन १७ २०७८, आइतबार

भारतीय सीमा सुरक्षा बल( एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका २,मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।सदरमुकाम खलङ्गा जानको लागि तुइन चढेका उनी एसएसबीको ज्यादतिको शिकार बने ।
सीमा सुरक्षा बलका जवानले उनको आग्रह सुनेनन् । नदी तर्दै गरेको बेला तुइन नै काटिदिए । रोजगारीको लागि विदेश जाने तयारीमा रहेका जयसिंह महाकालीमा बगेपछि सिंगो गाउँ शोकमा परेको छ । आश्रित परिवारको विचल्ली भएको छ ।
जयसिंहमाथि भएको अमानवीय व्यवहारको जति निन्दा गरेपनि कम हुन्छ । तुइनको भरमा नदी तर्न लागेको व्यक्तिलाई खोलामा खसाल्नु मानवीयतामाथिको प्रहार हो, अपराध हो ।
भारतीय सीमा सुरक्षा बलबाट नेपालीहरु पटक–पटक प्रताडित हुँदै आएका छन् । अनावश्यक रुपले धरपकड गर्ने,दुःख दिने काम हुँदै आएको छ । नेपाल र भारतबीच खुल्ला नाका छ । दुबै देशका नागरिकहरु यताउता गर्न कुनै कागजपत्र चाहिँदैन ।
यो कुरा सीमा सुरक्षा बललाई जानकारी नहुने कुरै भएन । तर, सीमा सुरक्षा बलले यो तथ्यलाई सदैव नजरअन्दाज गर्दै आइरहेको छ । नेपालीमाथि पटक–पटक ज्यादती हुँदै आएपनि राज्य तहबाट यो समस्या समाधान गर्न खासै पहल भने हुन सकेको छैन ।
आफ्ना नागरिकमाथि ज्यादती हुँदा राज्य बोल्नु पर्छ । कुटनीतिक तहबाट समस्या समाधान गर्ने तत्परता देखाउनुपर्छ । आफ्ना नागरिकमाथि पटक–पटक भएको ज्यादतीप्रति राज्यले चासो देखाउनैपर्छ ।
नेपाल र भारतबीच समाधान हुन नसकेका धेरै विषयहरु छन् । ती विषयहरु वार्ताको टेबुलमै बसेर समाधान गरिनुपर्छ ।आफ्नै देशबाट आउजाउ गर्ने सुविधा भएको भए जयसिंहले भारतीय भूमि प्रयोग गनुपर्ने थिएन । यो विषय आफैमा गम्भीर हो ।
आफ्नै देशमा आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता एउटा कुरा हो तर ज्यादती हुनु अर्को विषय हो भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । सीमा क्षेत्रमा देखिएको यो समस्यालाई सक्दो छिटो समाधान गर्नेतर्फ राज्यले कुटनीतिक पहल थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->