राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । १५ वर्षको उमेरमा यु १५ टोली सदस्यको रुपमा राष्ट्रिय जर्सी लगाएका पारसले १८ वर्षे खेल जीवनमा देशलाई सक्दो योगदान दिए । राष्ट्रिय टोलीको खेलाडी र कप्तानको रुपमा उनले देशलाई दिएको योगदान अविश्वरणीय छ ।
पारस नेपाली क्रिकेटको स्वर्णीम कालखण्डका नायक हुन् भन्नेमा कुनै द्धिविधा छैन । सन् २००७ मा यु १९ टोलीको कप्तानी सम्हाल्दै गर्दा एसीसी इमर्जिङ प्येयर अवार्डको उपाधि हात पारेका पारसले सन् २००९ देखि २०१९ सम्म राष्ट्रिय टोलीको नेतृत्व गरे ।
त्यही कालखण्डमा नेपालले क्रिकेटमा एकपछि अर्को छलाङ मार्दै गयो । उनको कप्तानीमा नेपालले पाएको उपलब्धीको श्रृंखला लामो छ । तीमध्ये सबैभन्दा महत्वपूर्णचाहिँ नेपाललाई नेपाललाई टि २० तथा एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता नै थियो ।
टि २० को यात्रा होस् वा विश्वकप छनौट खेल पारसले आफूलाई सधैं अब्बल सावित गरिरहे । कप्तानको रुपमा मैदान उत्रँदा उनले टिम सम्हाल्नेदेखि जोखाउनेसम्मको काम गरे । कप्तानको रुपमा क्रिकेट विकासलाई नै मूल मन्त्र बनाउने क्रममा उनले आफ्नो भूमिकालाई न्याय गरे, राजनीतिले क्रिकेट बिगार्दा क्रिकेटकै पक्षमा आफूलाई उभ्याए ।
नेपाल क्रिकेट संघ निलम्बनमा परेको बेला मेण्टरको भूमिकामामा रहेका उनले निलम्बन फुकुवा भएसँगै कप्तानी छाडेका थिए । कप्तानी छाडेपनि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट यति छिटो सन्यास लिन्छन् भन्ने सोचिएको थिएन । तर, पारसले निर्णय गरे । यो निर्णय गर्दासम्म नेपाली क्रिकेटको एउटा युग पारसबिना अधुरो हुने अवस्था सिर्जना भइसकेको थियो ।
पारसको सबैभन्दा ठूलो सफलता पनि सायद यही थियो ।
सन्याससँगै उनको खेल जीवन र भविष्यबारे विभिन्न टिप्पणी भएका छन् । पारस स्वयंले आफू क्रिकेटबाट टाढा जान नसक्ने बताएको सन्दर्भमा टिप्पणीहरु नाजायज हैनन् । खेलाडीको रुपमा राष्ट्रलाई विशिष्ट योगदान दिएका तथा क्रिकेटलाई नै जीवन ठानेका उनी क्रिकेटबाट अलग हुनु हुँदैन ।
नेपाली युवाहरुमाझ पारस अहिले पनि क्रिकेटका ‘आइकन’ हुन् । उनको सफलताले लोभिएर धेरै युवाहरुले क्रिकेटमा सपना देखेका छन् । ती युवाहरुको सपना पूरा गराउन पनि पारस फरक भूमिकामै सही, क्रिकेटमा रही रहनुपर्छ । खेलाडीको रुपमा एउटा व्यक्ति अनन्तकालसम्म सोही पदमा रहन सक्दैन÷हुँदैन । पारसले त्यो बुझे ।
एउटा सफल क्याप्टेन मैदान बाहिर हुँदा पनि भूमिकाविहीन हुँदैन । सबैभन्दा सफल खेलाडीको रुपमा नेपाली क्रिक्रेटमा उनको आवश्यकता रहेकै छ । अब पारसले त्यो भूमिकामा आफूलाई प्रमाणितख गर्नुपर्छ । नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने प्रमाणित गर्ने र युवाहरुलाई प्रोत्साहन गर्ने भूमिमामा आफूलाई स्थापित गर्नुपर्छ ।
क्रिकेट संघले राजनीतिबाट माथि उठेर पारसजस्ता व्यक्तिहरुलाई साधुवाद तथा अवसर कञ्जुस्याइँ गर्नुहुँदैन ।
