बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शैक्षिक पात्रोलाई लयमा ल्याऊ

शैक्षिक पात्रोलाई लयमा ल्याऊ

स्थगनलाई अनन्तकालसम्म लम्ब्याइयो भने त्यसले युवा मनोविज्ञानमा ठूलो असर त पार्छ नै, दक्ष जनशक्ति उत्पादनको लक्ष्य पनि बिग्रन्छ । अतः खल्बलिएको शैक्षिक पात्रोलाई सही बाटोमा हिँडाउन आजैबाट पहल थाल्नुपर्छ ।


  • Dhorpatan News
  • साउन २४ २०७८, आइतबार

अन्यहीन लकडाउन र निषेधाज्ञाको प्रभाव हरेक वर्ग, समुदाय र क्षेत्रले व्यहोरेको छ । क्षति व्यहोर्नेमध्ये शिक्षा क्षेत्र महत्वपूर्ण रहेकोमा पनि कुनै द्धिविधा छैन । कोभिड संक्रमणसँगै सिर्जित लकडाउन र निषेधाज्ञाले शैक्षिक संस्थाहरु बन्द भएका छन् । विद्यालय बन्द हुँदा शैक्षिक क्यालेण्डर प्रभावित भएको छ । वैकल्पिक शिक्षा प्रणाली शुल्क असुल्न बढी र ज्ञान आर्जनमा कम प्रभावकारी देखिएको छ । कलिला नानीबाबुहरु विद्यालय जान नपाउँदाको मनोवैज्ञानिक असर, ज्ञान आर्जन गर्ने दिव्य २ वर्षको क्षति अनि वैकल्पिक शिक्षाको नाममा थपिएको आर्थिक भारको लेखाजोखा गरिएकै छैन । यही परिदृष्यमा त्रास र अनिश्चयकाबीच घोषित कक्षा १२ को परीक्षा स्थगित भएको छ ।गतवर्ष ४० पूर्णाङ्कको परीक्षा लिएको परीक्षा बोर्डले यसपाली १०० पूर्णाङ्कै परीक्षा लिने तयारी गरेको थियो । स्वास्थ्य मापदण्ड कायम गर्दै परीक्ष लिइने र विद्यार्थीले घर नजिकैबाट परीक्षा दिने व्यवस्था पनि मिलाइएको थियो । तर, संक्रमण बढेसँगै परीक्षा नै स्थगित भयो । घोषणाले कक्षा कोठामा गएर प्रत्यक्ष पढ्न नपाएका वा स्वअध्ययन गरेका विद्यार्थीहरुले परीक्षामा कस्तो प्रदर्शन गर्थे भन्ने फरक कुरा हो । तर, भविष्यको सपना देख्ने उमेरका विद्यार्थीहरुको सपनामा पुन ः‘ब्रेक’ लागेको छ । आफूभन्दा साना भाइबहिनीहरुको एसईईको नतिजा सार्वजनिक हुनु र कक्षा १२ को परीक्षा रोकिनु संयोग नै भएपनि भविष्यको सपना देख्ने उमेरका विद्यार्थीहरु अब के होला भन्ने अनुत्तरित प्रश्नमै रुमल्लिनु परेको छ ।
जीवन रक्षा पहिलो प्राथमिकता हो र हुनुपर्छ । बाँचे पुनः परीक्षा दिन पाइन्छ । यसमा द्धिविधा नै छैन । संक्रमण बढेको बेला भीडभाड हुने परीक्षा रोकिनुलाई अन्यथा मान्नु हुँदैन । हाल संचालनमा रहेका परीक्षाको उपक्रममा देखिएको बेथिति हेर्दा परीक्षा बोर्डको निर्णय सही नै हो । विद्यार्थीलाई वैकल्पिक माध्यमबाट कक्षा चढाउन सकिन्छ । उनीहरुको सपना भाँच्चिन नदिन अर्को विकल्पबारे सोच्न सकिन्छ । तर,यसो भनिरहँदा कोभिडबाट सिर्जित विषमतामा शैक्षिक प्रणाली कसरी अगाडि बढाउने भन्नेबारे व्यापक तयारी थाल्नुपर्ने देखिएको छ ।
खोपको सुनिश्चितताले कोभिडबाट हुने सम्भावित मृत्यु टर्ने प्रमाणित भइसकेकाले सबै नागरिकलाई खोपको प्रत्याभूति गरिनुपर्छ । १८ वर्षभन्दा कम उमेर समूहको खोपबारे अहिल्यै तयारी थाल्नुपर्छ । लकडाउन र निषेधाज्ञालाई कोभिड नियन्त्रणको अचुक हतियार बनाउँदै शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई अनिर्णयको बन्दी बनाउने काम तत्काल रोकिनुपर्छ । स्थगनलाई अनन्तकालसम्म लम्ब्याइयो भने त्यसले युवा मनोविज्ञानमा ठूलो असर त पार्छ नै, दक्ष जनशक्ति उत्पादनको लक्ष्य पनि बिग्रन्छ । अतः खल्बलिएको शैक्षिक पात्रोलाई सही बाटोमा हिँडाउन आजैबाट पहल थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->