बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संक्रमण बढ्यो, सुरक्षित बनौँ

संक्रमण बढ्यो, सुरक्षित बनौँ


  • Dhorpatan News
  • साउन २७ २०७८, बुधबार

संक्रमण र मृत्यु बढ्न थालेसँगै बागलुङ प्रशासनले पुनः निषेधाज्ञाको सहारा लिएको छ । बागलुङले साउन २८ गतेदेखि भदौ ५ गतेसम्मको लागि जारी गरिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् । विभिन्न जिल्लाका स्थानीय तहहरुले पनि संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेका छन् । पोखरालगायत अत्यधिक भीडभाड हुने सहर रहेका जिल्लाहरुले निषेधाधा घोषणा त गरेका छैनन् तर परिस्थिति त्यता पुग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
पछिल्लो समय संक्रमण निस्तेज भएर निषेधाज्ञा खुकुलो बनाइएको थिएन ।अन्त्यहीन निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको र संक्रमणको पारो तल झरेकाले केही खुल्ला गरिएको थियो । स्वास्थ्यकर्मीहरुले कोभिडको तेस्रो लहरको जोखिम औंल्याउँदै गर्दा भएको यो निर्णयलाई स्थिति सहज भएको रुपमा बुझियो । स्वास्थ्य मापदण्डहरु पालना गरिएन । यसले गर्दा संक्रणम एकाएक ह्वात्तै बढ्यो । संक्रमण बढाउन नागरिकहरुको लापरवाही नै कारक बन्यो । कतिसम्म भने खोप केन्द्रहरु नै कोभिड सार्ने थलो बनिदिए । खोप केन्द्रमा थामिनसक्नुको भीड व्यवस्थापन हुन सकेन । एकातिर खोपको चाहना,अर्कोतिर पर्याप्त खोप उपलब्ध नभएको अवस्था, नागरिकमा आक्रोश बढ्ने डरले प्रशासनले बल प्रयोग गरेन । त्यसको परिणाम संक्रमण बढ्न पुग्यो । यसै सन्दर्भमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोखराका खोपकेन्द्रको निरीक्षण गर्दै नागरिकहरुलाई सुरक्षा मापदण्ड कायम गर्न आग्रह गरेका छन् । खोपकेन्द्रहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । एउटै खोपकेन्द्रबाट धेरैले सेवा लिनुपर्ने समस्यालाई उनले अनुगमनको बेला पक्कै महशुस गरे होलान् । परिणाममा कहिले सुव्यवस्था कायम हुन्छ ? जनताले त्यो कुरा खोजेका छन् । संक्रमण बढेसँगै अस्पतालमा बिरामीहरु थपिएका छन् । पुनः संक्रमितले उपचार नपाउने अवस्था सिर्जना हुन पुगेको छ । स्थिति नियन्त्रण बाहिर जाने सम्भावना बढेर गएको छ ।
सबैलाई थाहा छ, खोपले मृत्युदर घटाउँछ तर खोप लगाएकाहरु पनि संक्रमित हुने सम्भावना उत्तिकै हुन्छ । यसर्थ, खोप लगाएँ भनेर सुरक्षा मापदण्ड पालना नगर्ने प्रवृत्ति गलत हो । खोप लगाएकाहरुले पनि परेज राख्नैपर्छ भने खोप नलगाएकाहरुले त झन सावधानी अपनाउनु पर्छ । सकेसम्म घर बाहिर ननिस्कने र निस्कनै परे सुरक्षा मापदण्ड कायम गराउनैपर्छ । हामी सबैलाई थाहा छ, देशमा खोप उत्पादन हुँदैन । ंविदेशबाट पर्याप्त खोप आएको छैन । खोप नआउँदाको पीडा एकातिर छ तर राज्यलाई दोष दिएर मात्रै संक्रमणबाट मुक्ति सम्भव छैन । संक्रमणबाट जोगिन नागरिकले आफ्नो दायित्व निभाउनैपर्छ । त्यो भनेको सावधानी नै हो । अतः परिस्थितिको गाम्भीर्यता बुझौं, सुरक्षा मापदण्ड पालना गरौँ र संक्रमणबाट जोगिऊँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->