एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवदेनसँगै एमाले टुक्रिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै माधव नेपालले नयाँ दल अस्तित्वमा ल्याएका छन् भने दलकै हैसियत गुमाएको जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुरले पनि दलको नेताको हैसियत बनाएका छन् । २०५४ सालमा विभाजनको पीडा भोगेको र सम्हालिँदै एक भएको एमाले ‘विभाजन’ इतिहासको सम्झनालायक घटना हुने निश्चित छ । दोष कसको हो ?कालान्तरमा समीक्षा होला ! तर, सत्य यही हो कि, देशकै ठूलो नेपाल कम्युनिष्ट पार्टी (एमाले) अन्ततः दुई टुक्रा भएको छ । विभाजनपछि साविक एमालेले कति क्षति व्यहोर्छ ? केपी ओलीले पार्टीलाई कसरी चलाउँछन् ? माधव नेपालले नयाँ पार्टीलाई कुन आकार अनि गन्तव्यमा पु¥याउँछन् ?यी सबै प्रश्नहरुको उत्तर समयसँगै आउने नै छ तर दल विभाजनले राजनीतिक अस्थिरता लम्बिने निश्चित छ ।
बलियो एमालेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपामा विलय गराएपछि नेकपा झनै शक्तिशाली बन्यो । तर, दुर्भाग्य ! सशस्त्र विद्रोहको राप र ताप बाँकी रहेको माओवादी केन्द्र र एमालेबीच तालमेल मिलेन । अदालतको आदेशसँगै दुबै पार्टीले आ–आफ्नो बाटो समाए । यता, एमालेभित्र विचारको नभएर गुटको स्वार्थ हावी भयो । नवौं महाधिवेशनमा बनेको गुट विसर्जन हुनै सकेन । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालप्रति बढी नै असहिष्णुता देखाए । लामो एमालेलाई शक्तिशाली बनाउन लामो समय नेतृत्वमा रहेका माधव नेपालको पनि योगदान रहेको अध्यक्ष ओलीले बिर्से । माधवले पनि आफू महाधिवेशनबाट पराजीत भएको सम्झिएनन् । तिक्तता बढ्दै गयो । तिक्तताले फुट निम्त्यायो । फुटले दुबै पक्षलाई क्षति पुगेको छ । सँगै बस्न नसक्ने भएपछि आ–आफ्नो बाटो लाग्नु श्रेय हो तर फुटले दुबै पक्षलाई क्षति पुगेको छ । कम्युनिष्ट पार्टीहरु जुँगाको लडाइँकै कारण विभाजित हुने इतिहास दोहोरिएको छ । एमालेलाई माया गर्ने लाखौं कार्यकर्ता र शुभेच्छुकमा निराशा छाएको छ ।
एमाले देशको प्रमुख राजनीतिक शक्ति भएकोमा कुनै द्धिविधा छैन । एमालेलाई प्रमुख दल बनाउन नेताहरुले ठूलो योगदान गरेका छन् । अबको केही समय दुबै नेताले कम्युनिष्टप्रति झुकाव राख्ने समूह वा व्यक्तिलाई आफूतिर तान्ने अभियान चलाउने निश्चित छ । नयाँ दल नै बनेपछि प्रतिष्पर्धा स्वभाविक हो तर त्यो प्रतिष्पर्धा स्वच्छ र मर्यादित हुनु जरुरी छ । हिजो माले र एमाले विभाजन हुँदाजस्तो भौतिक आक्रमणमै उत्रने, एकले अर्काको हुर्मत नै लिने गल्ती अब नदोहोरियोस् । आफूलाई वैचारिक रुपले पुष्टि गर्नेतर्फ दुबै समूह लागून । लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सहकार्य वा मित्रवत् प्रतिष्पर्धाको बाटो समाउन्,वैनमश्यताको बाटो नसमाउन् । भोलि एकता हुने सम्भावनालाई स्वीकार्दै फुटकै कारण संघीयता नचाहने शक्ति हावी हुने अवस्था सिर्जना गर्नेतर्फ उद्यत नहून !
