बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अफगानिस्तानको अशान्तिमा अर्जुनदृष्टि

अफगानिस्तानको अशान्तिमा अर्जुनदृष्टि


  • Dhorpatan News
  • भाद्र ७ २०७८, सोमबार

अफगानिस्तान तालिबानको कब्जामा गएसँगै विश्व तंंरगित बनेको छ । एसियाली राष्ट्र अफगानिस्तानको पछिल्लो घटनाक्रमको बाछिटाले नेपाललाई पनि छोएकै छ । वैध र अवैध दुबै बाटोबाट रोजगारीका लागि त्यहाँ पुगेका नेपालीमध्ये केही स्वदेश फर्केका छन् भने अझै त्यहाँ कति नेपाली छन् भन्नेबारे एकीन तथ्याङ्क छैन । त्यहाँ नेपाली राजदूतावास छैन ।अफगानिस्तानको राजधानी काबुलमा सन् २०१६ मा भएको आत्मघाती हमलामा १३ जना नेपालीले ज्यान गुमाएका थिए । त्यसपछि केही समय रोजगारीको लागि अफगानिस्तान बन्द गरिए पनि पछि खुल्ला गरिएको थियो । अमेरिकी गठबन्धनमा आवद्ध राष्ट्रहरुसँग काम गरेकाहरुलाई त्यही देशले नेपाल फर्काउन सघाएको छ । नेपाल स्वयंले भने सक्दो छिटो आफ्ना नागरिकहरुको उद्धार गर्ने र त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्यहाँका सबै शक्तिहरुलाई संयम हुन आग्रह गरिएको छ । यो सामान्य शिष्टाचारको भाषा हो । अन्तर्राष्ट्रिय शक्तिहरुले कुन रणनीति अख्तियार गर्छन्, नेपाल त्यही अनुरुप अगाडि बढ्ने नेपालको चाहना विज्ञप्तिमा स्पष्ट देखिएको छ ।

आफ्ना नागरिकको सुरक्षा महत्वपूर्ण विषय हो । नेपालको सन्दर्भमा अफगानिस्तानको अर्को महत्व पनि रहेको छ । यो दक्षिण एसियाली सहयोग संगठन ( सार्क) को सदस्य राष्ट्र हो । कान्छो सदस्य राष्ट्रमा देखिएको अस्थिरताले अध्यक्ष राष्ट्र नेपाललाई असर नपार्ने प्रश्न नै आउँदैन । दुई छिमेकी भारत र चीनले चासोपूर्वक फरक दृष्टिकोणसहित हेर्ने हुनाले पनि अफगानिस्तानप्रतिको नेपाली धारणा स्पष्ट हुनु जरुरी छ । थोरै तलमािथ पर्नासाथ त्यहाँको भू–रणनीतिक महत्व र छिमेकीको स्वार्थको बाछिटाको मार नेपालले खेप्नुपर्ने अवस्थाको नजरअन्दाज गरिनु हुँदैन । सार्कका गतिविधिहरु चुस्त दुरुस्त छैनन् । यो संगठनको आवश्यकतामाथि बेलाबेला सदस्य राष्ट्रहरुले नै प्रश्न उठाउँदै आएका छन् ।

यस्तो अवस्थामा अध्यक्ष भएको नाताले सबै सदस्य राष्ट्रहरुको चासो र खासगरी अफगानिस्तानको अबको अवस्थाबारे नेपालले विशेष ध्यान दिनुपर्छ । अफगानिस्तानमा अशान्ति हुँदा सार्कले अगाडि सारेको व्यापार साझेदारी, कनेक्टीभिटी तथा क्षेत्रीय विकासमै असर पु¥याउँछ । द्वन्द्वबाट अफगानी जनताले पाउने दुःख एकातिर छ, त्यहाँबाट विस्थापित हुनेहरुको व्यवस्थापनदेखि मानवअधिकारसम्मका विषयहरुलाई अहिलेदेखि नै गम्भीरतापूर्वक लिनु जरुरी छ । सके छिमेकीको घरमा लागेको आगो निभाउने प्रयत्न गर्ने, नभए त्यसबाट निस्कने झिल्काहरुबाट हुने क्षतिबाट बँच्नेतर्फ नेपालले ध्यान दिनैपर्छ । क्षेत्रीय स्थायित्व कायम गर्न सक्दो योगदान गर्नुपर्छ । यसको लागि संयमता र कुटनीतिक चातुर्यता आवश्यक हुन्छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा विशेष योगदान गर्दै आइरहेको नेपालले राष्ट्रसंघ र छिमेकी मुलुकको धारणालाई नजिकबाट बुझ्ने प्रयत्न गर्नुपर्छ । अर्जुनदृष्टि लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->