पोखराको मणिपाल शिक्षण अस्पतालको स्वामित्व हस्तान्तरण भएको छ । सरकारी निकायबाट पुष्टि नभएपनि बतास अर्गनाइजेसन र अटोवेज प्रालिले मणिपालको स्वामित्व आफूहरुसँग आइसकेको जिकिर गरेका छन् । उनीहरुले मणिपाल शिक्षण अस्पताल सवा ३ अर्ब रुपैयाँमा किनेको र सो कलेजले तिर्नुपर्ने सबै दायित्व सकारेको पनि जानकारी दिएका छन् ।
करिब ३० वर्षअघि पोखराको फूलबारीमा स्थापित मणिपाल नेपालकै पहिलो निजी शिक्षण अस्पताल हो । भारतको चर्चित मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपले यसको स्थापना गरेको हो । तत्कालीन सरकारले ठूलो विदेशी लगानीको स्वास्थ्य संस्थाको लागि जग्गा उपलब्ध गराएको थियो । ४० रोपनी आफ्नै स्वामित्व र बाँकी सरकारी गरी १० हेक्टर क्षेत्रफलमा मणिपाल फैलिएको छ । एमबीबीएसदेखि एमडीसम्मको पढाइ हुने यो अस्पतालले सर्वसाधरण नागरिकलाई सुलभ दरमा उपचार सेवा दिँदै आएको छ । ५० रुपैयाँमा नै बहिरंग सेवा पाइने अस्पताल अन्य निजीको तुलनामा सस्तो र गुणस्तरीय छ ।
कर्मचारीहरुको आन्दोलन र असहयोगलगायतका विविध कारण देखाउँदै मणिपालले नेपालबाट फर्किने निर्णय गरेको जानकारी सार्वजनिक भएको छ । सन् २००९ सालतिर नै फर्कने चेतावनी दिएको मणिपालमा बेलाबेला कर्मचारीहरुले हड्ताल गर्दै आएका थिए ।तर,मणिपाल यति छिट्टै र सजिलै फर्किएला भन्ने अनुमान चाहिँ गरिएको थिएन । नेपाल सरकारसँग गरिएको सम्झौता अनुसार निर्माण, संचालन र हस्तान्तरण अर्थात् बुट अवधारणामा अस्पताल संचालनमा आएको हो ।४९ वर्षपछि भौतिकसहित अस्पताल र कलेजको संरचना नेपाललाई नै छाड्ने गरी सम्झौता भएको भनिएकोमा किन मणिपालले अर्को समूहलाई बीचमा घुसायो ? सम्झौता अवधि नसकिँदै अस्पतालको स्वामित्व अर्को समूहलाई दिन मिल्छ कि मिल्दैन ? सम्झौतामा के प्रावधान छ र अहिले नयाँ समूहले कसरी स्वामित्व हात पारेको हो ?
यी र यावत् प्रश्नहरुको प्रष्ट उत्तर आएको छैन ।तर,मणिपालको बहिर्गमनको वैधता,अस्पताल र कलेजको सुसंचालन,कर्मचारीको भविष्यबारे प्रष्ट नगरी मणिपाल बाहिरिन मिल्दैन ।संविधानले नै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक हक मानको अवस्थामा यो कुनै निजी पसल वा सम्पत्ति बेचेकोजस्तो होइन । सरकार, मणिपाल तथा स्वामित्व लिएको नयाँ समूहले यो विषयलाई प्रष्ट पार्नुपर्छ । मणिपालबाट सस्तो दरमा गुणस्तरीय सेवा पाउने ग्यारेण्टी हुनुपर्छ ।तोकिएको मितिमा अस्पताल सरकारलाई नै हस्तान्तरण गरिनुपर्छ । अर्कोतर्फ,मणिपालको बहिर्गमन उसको लागि सामान्य होला । बाह्य लगानी खोजिरहेको नेपालको गम्भीर विषय हो । किन नेपालमा आएको ठूलो विदेशी लगानी समयावधिसम्म टिक्न सकेन ? यो प्रश्न अन्य लगानीकर्ताले पक्कै उठाउँछन् । नेपालमा लगानी सुरक्षित छैन वा काम गर्ने वातावरण छैन भन्ने सन्देश मणिपालको बहिर्गमनले दिँदैछ । सरकारले यो पाटोलाई पनि गम्भीर रुपमा लिनुपर्छ । मणिपालबाट राज्य ठगिनु हुँदैन ।
