पोखरा गण्डकीको सदरमुकाम मात्रै हैन, प्रस्तावित अन्तर्राष्ट्रिय सहर पनि हो ।गाडीभन्दा पहिले जहाज आएको पोखरालाई मोक्षको खोजीमा निस्केका हिप्पीहरुले हिजो नै अन्तर्राष्टिय सहरको मान्यता दिइसकेका थिए । तर,६० को दशकमा सुरु भएको त्यो अभियानलाई पोखरा स्वयंले भने निरन्तरता दिन सकेन । अन्तर्राष्ट्रिय मान्छे आउने सहरले न आफ्नो मौलिकता जोगाउन सक्यो न अन्तर्राष्ट्रिय सहर बन्ने बाटो समायो । औलो उन्मूलनसँगै पोखराको समथर भागमा बस्ती विकास हुन थाल्यो । वरपरका गाउँ र जिल्लाबाट अवसरको खोजीमा यो सहरमा मान्छेहरु ओइरिए । सहर घना हुँदै गयो । पूर्वाधारको विकास पनि भयो तर ती पूर्वाधारहरु आधुनिक सहर सुहाउँदा बनेनन् । भएका प्राकृतिक सम्पदाहरुको दोहन बढ्यो । सार्वजनिक जग्गा,चौर सबै हडप्न थालियो । हचुवाको भरमा पूर्वाधारहरु निर्माण गरिए । दीर्घकालीन सोच राखिएन । सहरी विकासको लागि २०३१ सालतिर तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइमा बनेको गुरुयोजना च्यातचुत पारियो भने त्यसपछि बनेका योजनाहरु पनि दराजमै थन्क्याइयो । समग्रमा पोखरालाई अन्तर्राष्ट्रिय,समन्नुत र पहिचानसहितको सहर बनाउने काममा कसैको ध्यान गएन । जसले गर्दा पोखराले आफ्नो मौलिकता गुमायो, स्थानीयहरुको आवश्यकता संवोधन हुन सकेन ।
अहिले पोखरा अस्तव्यस्त बनेको छ । बर्खाको बाढी सडकमा बगेको मात्रै हैन, सडक भासिने अवस्था आएको छ । अस्ति भर्खर पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो । सडक भासिँदा घरहरु खतरामा परे । यसमा पोखराको भू–बनौटको मात्रै दोष थिएन, ढल निकास नहुँदाको समस्या पनि मिसिएको थियो । अर्कोतर्फ, सडक मर्मतमा ध्यान नपुग्दाको परिणति पनि त्यो घटनाको कारक थियो । हो, पोखराका सहरहरु साँघुरा मात्रै भएका छैनन्, असुरक्षित पनि छन् । वर्षेनी यति किलोमिटर बाटो बन्यो भन्दै प्रगति विवरण सुनाउने महानगरले भएका बाटाहरुको व्यवस्थापन गर्न सकेको छैन । स्वामित्व र दायित्व फरक भएको भन्दै पन्छिने र गर्न सकिएन भन्ने स्वीकारोक्ति नै महानगरको जवाफ हुने गरेको छ । बाटाहरु नै ज्यानमारा भएकोप्रति महानगरले ध्यान दिनुपर्छ । मर्मत गरिएका केही सडक देखाएर अरु सडकको दुर्दशाप्रति आँखा चिम्लन बन्द गर्नुपर्छ । पोखरालाई सुन्दर बनाउन २१०० सालसम्मको योजना बनेका छन् तर ती योजना कार्यान्वयनमा कहिले आउने अनि त्यसमा स्थानीयको सहभागिता कसरी गराउने भन्नेतर्फ महानगरले सोचेको छैन । ढिला भइसकेको छ । पोखरालाई अन्तर्राष्ट्रिय र समुन्नत सहरकै रुपमा प्रतिस्थापन गर्न बनेका योजना कार्यान्वयन एवं भूगोल सुहाउँदो विकासमा ध्यान दिनुपर्ने भएको छ । र, यो कामको थालनी भएका सडकहरुको मर्मत अनि सुधारबाटै सुरु गर्दै सम्भावित क्षतिप्रति गम्भीर हुनुपर्ने भएको छ ।
