बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाटो छिटो खुलाउ

बाटो छिटो खुलाउ


  • Dhorpatan News
  • भाद्र १६ २०७८, बुधबार

असार १ देखि गएको बाढी पहिरोले देशका अधिकांश ग्रामिण सडक ध्वस्त बनेका छन् । जसका कारण जनजीवन पनि अस्तव्यस्त बनेका छन् । बाढीले बाटो बगाएकै कारण बागलुङको शेराबजारमा भरियाको भरमा कालीगण्डकीको झोलुङ्गे पुलबाट नुनतेल वारपार गर्नुपरेको छ । यस्तै अवस्था, मनाङ, लमजुङ लगायत बाढीग्रस्त गाउँहरुका छन् ।
मोटरबाटोलाई विकासको मेरुदण्ड मानिन्छ । वातावरणीय अध्यन नै नगरी जथाभावी चलाइएका डोजरले मेरुदण्ड भाचिएको छ । मोटरबाटो बन्नुअघि गाउँ गाउँका मानिस गोरेटो र घोडेटो बाटोको प्रयोग गर्दथे । डोजरले बनाएको बाटोका कारण यस्ता गोरेटो र घोडेटो पनि अस्तित्वमा छैनन् । मोटरबाटो पनि नभएको अवस्थामा गाउँलेले झनै सास्ती भोग्नुपरेको छ ।

बर्षेनी बाढी र पहिरो आउँछ, मोटरबाटो बगाउँछ । जब हिउँद लाग्छ, तब मोटरबाटोको स्थायित्वमा ध्यान पुग्दैन । बाढीले बगाएको बाटो पुननिर्माण गर्न पनि सरकारी निकायले समयमै चासो दिएका छैनन् । समयमै बाटो नबन्दा केही घण्टामा यात्रा पुरा हुने दुरी दिनभर पैदलयात्रा गर्नुपरेको छ । अहिलेको युगमा पनि मानिसले पिठ्युँमा भारी बोकेर दैनिक आवश्यकता पुरा गर्नुपरेको छ ।

मोटरबाटो बन्द हुँदा बजारबाट गाउँ ल्याउनुपर्ने नुनतेल ओसार्न मात्र समस्या छैन, गाउँका उत्पादन बजार पु¥याउन झनै सास्ती छ । कालीगण्डकी करिडोरका सडक सुचारु हुन नसक्दा गाउँमा उत्पादित दुध बजार लैजान समस्या परेको किसानले बताएका छन् । बागलुङको कुश्मीशेराका किसानले उत्पादन गर्ने दैनिक २ हजार लिटर दुध अहिले महँगो भाडा तिरेर यान्त्रिक पुल तारेर बजार लैजानुपरेको छ । जसले दुधको मुल्य बढाउँछ ।
दुध ढुवानीको मुल्य बढ्दा यसको मार सिधै उपभोक्तालाई पर्छ । महँगोमा दुध किन्नुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो गरिसकेका छन् । बाटो नभएकै कारण मुल्य बढेको दुध विक्री भएन भने किसानको उत्पादन खेर जान्छ । किसानलाई कृषिबाट पलायन हुन नदिनका लागि पनि बाढी र पहिरोले भत्काएको सडक छिटो मर्मत गर्नुपर्छ ।

असार १ देखि शुरु भएको मनसुन अझै जारी छ । बर्षा रोकिएको छैन । भदौरे झरीले पनि फेरी बाटो भत्काउन सक्ने संभावना जीवितै छ । पहाडी क्षेत्रमा बाटो बनाउँदा ध्यान दिनुपर्ने वातावरणीय पक्षलाई अब नकार्न हुँदैन । ग्रामिण सडक १२ महिना नै सुचारु हुने गरी बनाइनुपर्छ । सडक मर्मत गर्दा पनि आगामी बर्षामा फेरी भत्कन नदिने गरी बनाउनुपर्छ ।
ग्रामिण सडकले गाउँमा सम्भावनाका ढोका खोलेका हुन्छन् । शहरबाट गाउँ लैजाने मात्र होइन, गाउँबाट कृषि उपज शहरतर्फ पठाउन यस्ता ग्रामिण सडकको महत्वपूर्ण भूमिका रहन्छ । ग्रामिण अर्थतन्त्रलाई टेको दिने ग्रामिण सडक छिटो बनाउन सके यसको फाइदा अन्ततः राज्यलाई नै पुग्छ ।

त्यसकारण, बर्षामा बाढी बगाएको सडक पुननिर्माण गर्न तदारुकता देखाउनुपर्छ । सडक विग्रिएको साढे २ महिना वित्दासमेत मर्मत सम्भारमा ध्यान नपुग्नु राज्यको गैरजिम्मेवारीपन हुन आउँछ । शहरबाट गाउँ जाने खाद्यान्न लगायत सामाग्री र गाउँबाट शहर जाने कृषि उपजको ढुवानी सहज पार्न र गाउँले जनजीवन सामान्य अवस्थामा फर्काउन पनि ग्रामिण सडक सुचारु हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->