बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महाधिवेसनको संघारमा कांग्रेस

महाधिवेसनको संघारमा कांग्रेस


  • Dhorpatan News
  • भाद्र १६ २०७८, बुधबार

कांग्रेसमा महाधिवेसनको लहर सुरु भएको छ । संविधानले दिएको सबै अबसर गुम्ने अबस्थामा आएर बल्ल कांग्रेसले महाधिवेसनको तालिका सार्वजनिक गरेको छ । भदौको १८ गतेबाट वडा तहबाट सुरु हुने महाधिवेसनमा कांग्रेस कार्यकर्ताको उत्साह देखिएको छ । वडा देखि केन्द्रीय सभापति सम्मका पदमा निर्वाचन गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेसी कार्यकर्ताहरु कम्मर कसेर लागेका छन् ।

महाधिवेसन भनेको पार्टीलाइ चलायमान बनाउने राष्ट्रिय चाड र महोत्सव समेत हो । कोरोना महामारी र धेरै स्थानमा अझै निशेधाज्ञाहरु बाँकी रहेकोले महोत्सवको स्वरुप होला नहोला, तर कांग्रेसपार्टीको जीवनलाई चुस्त बनाउने अभियानमा भने कार्यकर्ताको चासो र चिन्तन बढीनै छ । यो महाधिवेसन कांग्रेसमा परंपराबादी ढर्रा र पुराना नेतालाई स्थापित गर्ने की युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भन्ने चुनौतीको चाङका बीचमा हुन लागेको छ ।

कांग्रेसको ७० बर्षे इतिहासमा राजनीतिक त्याग तपस्याको नाउँमा बुढा, पुरानालाई नेतृत्व दिने चलन छ । तर यो पटक युवाहरुमा त्यो चाहना बिल्कुल छैन । आम कांग्रेसी कार्यकर्तामा पनि त्यस्तो भावना पाइदैन । केवल जिल्ला तहमा नेतृत्व गर्ने र केन्द्रमा आर्शिवाद लिने बानी परेका छोटे नेताहरु भने फेरी पनि बुढाहरुकै नेतृत्व चाहेका छन् । तल्लो पुस्तामा झर्दा गर्नुपर्ने प्रतिष्पर्धा देखि डराएकाहरु एकातर्फ छन् भने केहीमा युवा पुस्ता आयो भने मध्यम पुस्ताको अन्त्य हुन्छ भन्ने मनोविज्ञानले काम गरेको छ । त्यसैले अझैपनि शेरबहादुर देउवा, रामचन्द्र पौडेलकै लाइन बनाएर बस्नेहरु धेरै छन् ।

दोश्रो पुस्ताले उमेदवारी घोषणा गरेको अबसरमा रौनक हुनुपर्नेमा सामान्य उत्साह मात्रै छ । बरु बुढाहरु पटक पटक दोहोरिने चाहनाले कार्यकर्तामा नैराश्यता पनि छाएको छ । पुराना नेताहरु अगाडि आउँदा नीतिमा पटक्कै ध्यान दिएका छैनन् । १४ बर्ष जेल बसेकोले रामचन्द्र पौडेल ठिक, ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छ भनेको आश्वासनमा देउवा पटक पटक नेतृत्वमा जान खोज्ने आसा जस्ता तर्क विहिन छोटे नेताको कसरतले कांग्रेस पछि परेको छ । सरकारको नेतृत्व गर्दा पनि जनतालाई चुस्त प्रशासन दिन नसकेको आरोपका बीच हुन लागेको महाधिवेसनलाई रौनक दिनकालागि कांग्रेसमा अझै एजेण्डा सार्वजनिक भएको छैन । बरु को नेता आउँदा जिल्ला र वडामा कसको दवदवा हुन्छ भन्ने आंकलन गरेर बस्ने काम मात्रै भएको छ । यस्तो प्रवृत्ति विरुद्ध युवा पुस्ता अर्थात तेस्रो पुस्तामा नेतृत्व जानु आवस्यक छ ।

त्यसो भन्दैमा युवाहरु सबै सक्षम छन् भन्ने पनि होइन, तर युवाहरुले जनप्रतिनिधिको रुपमा आएर जे जस्तो काम गरेर देखाएका छन्, त्यो अहिले पनि बुझ्न सकिने अबस्थाको छ । पुराना नेतालाई सम्मान गर्दै नयाँले नेतृत्व लिएर जनताको सेवामा लाग्ने अबसर अब कांग्रेसी कार्यकर्ताले दिनुपर्ने छ । अझैपनि कतिपय जिल्लामा क्रियाशिल सदस्यताको निहुँमा नामाबली सार्वजनिक नभएकोले महाधिवेसनको रौनक आउन नसकेको देखिन्छ । तर यो अन्तिम अबसर भएकोले कांग्रेस महाधिवेसनमा नगइ सुखै छैन । त्यसोत अन्य ठूला दलहरुको पनि अबस्था उस्तै छ । महाधिवेसन गर्नुपर्ने म्याद गुजारेका सबै दल छन् । उनीहरुले पनि अबका दिनमा युवा पुस्तालाई नेतृत्व दिने गरी अगाडि बढ्नुपर्ने बेला आएको छ । २०४६ को परिवर्तनमा भूमिका खेलेका नेताहरु अब अभिभावक बनेर २०६२÷०६३ को आन्दोलनका युवालाई नेतृत्व सुम्पेर गणतन्त्रको कार्यान्वयन गर्ने बाटो खुला गर्नुपर्छ । कांग्रेसलाईपनि त्यो सदबुद्धि खुलोस् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->