बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेलचेक्र्याइँ नगरौँ

हेलचेक्र्याइँ नगरौँ


  • Dhorpatan News
  • भाद्र १७ २०७८, बिहिबार

काठमाडौंमा बिहीबारबाट सिनेमा हलहरु संचालनमा आउने भएका छन् । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमा हल खोल्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै कोमामा पुगेको सिनेउद्योगले केही त्राणको महशुस गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र( डिसीसीएमसी)सँगको समन्वयमा विद्यालयसमेत खुलाउने निर्णयमा प्रशासन पुगेको छ । जिमखानादेखि विद्यालयसम्म सबै खुल्ला गर्ने निर्णय गरेसँगै लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकामा उत्साह थपिएको छ । काठमाडौंको हकमा लागू गरिएको निर्णय अब देशका अन्य भागमा पनि बिस्तारै कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । तर, स्वास्थ्य क्षेत्रका विज्ञहरुले यो निर्णयसँगै संक्रमण पुनः बढ्न सक्नेतर्फ सचेत हुन सुझाएका छन् ।

निषेधाज्ञा कोभिड रोकथामको लागि सहायक हो तर अनन्तकालसम्म निषेधाज्ञाकै सहारा लिनु हुँदैन भन्नेमा कुनै द्धिविधा छैन । पछिल्लो समय जोखिमपूर्ण काममा खटिनेहरुमध्ये धेरैले कोभिडविरुद्धको खोप लगाएका छन् । सरकारले सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । खोप नै कोभिडविरुद्धको अचुक हतियार हो । सबैलाई खोपको प्रबन्ध गर्दै स्वास्थ्य मापदण्डको पालना गराउन सके संक्रमणको जोखिम कम हुन्छ । निषेधाज्ञाले अर्थतन्त्रमा ठूलो क्षति पु¥याएको छ । निषेधाज्ञा हटाउनै पर्छ तर निषेधाज्ञा हटाउँदाको सम्भावित जोखिमलाई नजरअन्दाज गरिनु हुँदैन ।स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप ५ जनाको कोभिडकै कारण ज्यान गएको छ । यो तथ्याङ्कले पनि कोभिडको जोखिम कम नभएको पुष्टि गर्छ ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको सर्वेक्षणका अनुसार नेपालका ६८.६ प्रतिशत नागरिकमा कोभिडको एण्टीबडी देखिएको छ । अर्थात् आधाभन्दा बढी जनसंख्यालाई कुनै न कुनै रुपको कोभिड संक्रमण भइसकेको छ । आधाभन्दा बढी जनसंख्यामा एन्टीबडी देखिएसँगै संक्रमण दर घट्ने तर जोखिम कायमै रहने स्वास्थ्य मन्त्रालयको भनाई छ । पछिल्ला केही दिनयता संक्रमणको दर स्थिर रहेको छ । संक्रमण र मृत्युदर घट्नु खुसीको कुरा हो तर कोरोनाको डेल्टा भेरियन्ट देशका सबैजसो भागमा पुगेको निष्कर्ष पनि स्वास्थ्य मन्त्रालयको रहेको छ । स्वास्थ्य मापदण्डको पालना नगर्ने हो भने जुनसुकै बेला पनि संक्रमण बढ्न सक्छ । संक्रमणको दर स्थिर हुनु भनेको जोखिम घट्नु हैन । कोभिडले आफ्नो स्वरुप बदल्दै गएको अवस्थामा नयाँ भेरियन्ट नआउला भन्न सकिँदैन । नयाँ भेरियन्ट देखियो भने स्थिति पुनः भयावह बन्नसक्छ । अतः स्वास्थ्य मापदण्डहरु पालनामा हेलचेक्र्याइँ गरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->