बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बुझेर मात्रै सेयरमा लगानी गरौं

बुझेर मात्रै सेयरमा लगानी गरौं


  • Dhorpatan News
  • भाद्र २२ २०७८, मंगलबार

आइतबार सेयर बजारमा भुइँचालो गयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातारको गतिमा ओरालो लाग्यो । जलविद्युतलगायतका १७ वटा कम्पनीको सेयर नकारात्मक मूल्यमा कारोबार भयो । सेयर बजार १०८ अंकले घटेर २८१८ विन्दुमा बन्द भयो । सेयर बजारमा भुइँचालो जाँदा लगानीकर्ताले अरबौं गुमाए । देशको वित्तीय अवस्थामा हलचल आयो । लगानीकर्ताहरु आत्तिए । लगातार उच्च विन्दुमा पुगे ‘रेकर्ड ब्रेक’ गरिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएसँगै अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकमा गभर्नरलाई बजार सन्तुलित बनाउन निर्देशन दिए । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा नै माग गरे । सोमबार नेप्सेमा केही सुधार भएको छ । तर,स्थिति अझै अन्यौलपूर्ण नै छ ।

लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार डाँवाडोल भएको आरोप लगाइरहेका छन् । नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र कर्जा लिन सक्ने प्रावधान राखेको थियो । सोही नीतिका कारण लगानीकर्ताहरुमा निराशा आएको लगानीकर्ताको आरोप छ । यद्यपि, जानकारहरुका अनुसार बैंकबाट यति ठूलो रकम लिएर लगानी गर्नेहरुको संख्या कमै छ । सेयर बजारमा देखिएका ४० लाखभन्दा बढी लगानीकर्ताहरुमध्ये अधिकांश हल्लाकै भरमा लगानी गर्नेहरु छन् । उनीहरुलाई सेयर बजारको वास्तविक अवस्था र त्यहाँका खेलाडीहरुबारे कुनै जानकारी नै छैन । पछिल्लो समय सर्वसाधारणको सेयरप्रतिको आकर्षण यति बढ्यो कि गाउँगाउँसम्म ऋण काढेर सेयरमा लगानी गर्नेहरु निस्किए । प्राथमिक सेयर किनेर बजारमा प्रवेश गरेकाहरुले केही नाफा कमाए र रौसिएर दोस्रो बजारमा पनि हात हाले । उनीहरुले कुुनै कम्पनीको प्राथमिक सेयर निस्काशन हुनासाथ मागभन्दा हजारौं गुणा बढी आवेदन पर्न थाल्यो । कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, बजार हिस्सासँगै बजारमा उक्त कम्पनीको साख, विगतको र सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांस क्षमता र लाभांश नीतिजस्ता कुराहरुमा ध्यान दिन सकेनन् । अस्वभाविक ढंगले उकालो लागेको नेप्से कुनै दिन घट्छ भन्ने आंकलन हुन सकेन । जसले गर्दा सेयर बजारमा यस्तो अवस्था आयो ।

सेयर बजारलाई देशको समग्र आर्थिक अवस्थाको एक सूचक मानिन्छ । लगानीको वातावरण जति राम्रो हुन्छ, सेयर बजारले त्यति नै गति लिन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । अहिले सेयर बजार ओरालो लाग्नुलाई देशको आर्थिक अवस्था बिग्रेको रुपमा अथ्र्याउनुको कारण यही हो । लगानीकर्ताहरु सशंकित बन्नु राम्रो संकेत हैन । बजारमा केही सुधार भएको छ तर अवस्था संङ्लिएको छैन । बजार बिग्रनुमा केही ठूला लगानीकर्ताको स्वार्थले काम गरेको आंकलन पनि भइरहेको छ । अत; सरकारले सेयर बजारमा आएको भुइँचालो व्यवस्थापन गर्नुपर्छ । अर्कोतर्फ,सेयरमा लगानी गर्नु भनेको नाफा कमाउनु मात्रै हैन, त्यो कम्पनीको दायित्वबहन पनि हो । कम्पनी घाटामा गए त्यसको दायित्व लगानीकर्ताको काँधमा आउँछ भन्ने बुझ्नुपर्छ । हचुवाको भरमा लगानी गर्दा त्यसले परिणाम राम्रो दिँदैन भन्ने मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->