बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीजको शुभकामना

तीजको शुभकामना


  • Dhorpatan News
  • भाद्र २४ २०७८, बिहिबार

आज हरितालिका अर्थात् तीज । हिन्दु महिलाहरुले पतिको दीर्घायूको कामनासहित मनाउने तीजको रौनकले महिलाहरुलाई छोपेको छ । धार्मिक मान्यता जे भएपनि तीज महिलाको स्वतन्त्रतासँग जोडिएको छ । महिलाहरुले दिल खोलेर आफ्ना खुसी,असन्तुष्टिहरु व्यक्त गर्ने, पीर र वेदना सुनाउने अनि माइतीसँग भेटघाट गर्ने अवसर तीजले जुटाउँदै आएको छ । महिलाहरु अहिले पनि स्वतन्त्र छैनन् । हिजोको अवस्था त झन फरक थियो । अर्काको घरलाई आफ्नो बनाउँदा भोग्नुपर्ने पीडा,हिंसा र शारीरिक श्रमको भारले उनीहरु थिचिन्थे । मनका कुरा व्यक्त गर्ने अवसर जुर्दैनथ्यो । माइत जानै पनि समस्या । त्यस्तोमा तीज स्वतन्त्रता बोकेर आउँथ्यो ।महिलाहरु माइत जान पाउँथे ।

माइतीमा आमाको काखमा बसेर दुःख–सुखका कुरा सुनाउँथे । साथी–संगी भेला भएर खुसी र वेदना गीतमार्फत् व्यक्त गर्थे । आज कानूनी रुपमा महिलाहरुले केही बढी अधिकार पाएका छन् तर आर्थिक स्वतन्त्रताको अनुभव कमैले मात्रै गरेका छन् । पैसाको लागि पुरुषकै भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । हिंसाको स्वरुप परिवर्तन भएको छ । खुसी र वेदना सुनाउने,अधिकारको लडाइँ लड्नेहरुको लागि तीजको महत्व घटेको छैन । स्वतन्त्रताको महशुस गराउने चाड बनेको छ । अभिव्यक्ति स्वतन्त्रता बोकेर आएको छ । यही कारणले तीजको महत्व घटेको छैन बरु बढेको छ ।

समय क्रममा तीज बदलिएको छ । हरेक सांस्कृतिक चाडबाड समयक्रममा बदलिन्छन् । तीज बदलिनु अन्यथा हैन । तीजमा हिजोका जस्तो गीत सुन्न पाइँदैन । तीज भड्किलो पनि भएको छ । गहना र कपडा प्रदर्शन गर्ने,आडम्बर देखाउने पर्वको रुपमा तीज बदिलनु राम्रो हैन । आर्थिक रुपले विपन्नहरुका लागि तीज दशा बनेर आउनु हुँदैन । स्वतन्त्रताको नाममा स्वच्छन्दता ग्राह्य पनि हुँदैन । हरेक पर्वका आफ्नैखाले मौलिकता र मान्यता हुन्छन् ।

ती मान्यतालाई भुलेर स्वच्छन्दतामा रमाइयो भने कालान्तरमा त्यसले कसैको पनि भलो गर्दैन् । तीजले दिएको स्वतन्त्रताको उपयोग गर्दा महिलाहरुले आफूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि सोच्दा राम्रो हुन्छ । अधिकारको लडाइँको पर्वको रुपमा यसलाई उपयोग गर्दा पनि हुन्छ । अरु चाडबाड पुरुष र महिला दुबैको लागि हुन्छ तर तीज महिलाहरुको लागि मात्रै आउँछ । तीजको सुन्दर पक्ष नै यही हो । धार्मिक रुपले हेर्दा तीजले सहअस्तित्वको लागि सहकार्य र सम्मान जरुरी छ भन्ने सिकाउँछ भने समाजशास्त्रीय रुपले हेर्दा यो चाडले महिला अधिकारको वकालत गर्छ । तीज मनाइरहँदा महिलाहरुले यो पर्वका दुबै पक्षमाथि ध्यान दिँदा राम्रो हुन्छ । महिलाहरुलाई तीजको शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->